|

बैतडी : जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पिसिआर प्रयोगशालामा गरिएको स्वाबको नमुना परीक्षण रिपोर्ट आउन सुरु भएको छ। असोज १ गतेबाट सञ्चालनमा आएको उक्त प्रयोगशालाको परीक्षण रिपोर्ट आइतबारदेखि आउन सुरु भएको हो।  

३ दिनसम्म प्रमाणीकरणको काम गरी रिपोर्ट सार्वजनिक गर्ने कार्य सुरु गरिएको जिल्ला अस्पताल बैतडीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर डम्बरजंग सिंहले जानकारी दिए।

'जिल्लामा नयाँ प्रयोगशाला सञ्चालनमा रहेकोले मेसिन प्रमाणीकरणको काम भइरहेकोले ३ दिनपछि रिपोर्ट सार्वजनिक गरिएको हो, अबदेखि परीक्षण गरिएका नमुनाको रिपोर्ट हरेक दिन सार्वजनिक हुन्छ’, सिंहले बताए। 

यसअघि यहाँको प्रयोगशालाको रिपोर्ट आइसकेका स्वाब बाहिरका प्रयोगशाला र बाहिरका प्रयोगशालाको यहाँ परीक्षण गरेर प्रमाणीकरण गरिएको जिल्ला अस्पतालले जनाएको छ।

प्रदेश सरकारको ४० लाख रुपैयाँको सहयोगमा बैतडीमा प्रयोगशाला स्थापना भएको हो। गत चैत १५ गते प्रदेश सरकारले जिल्लामा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको थियो। निर्णय गरेको झण्डै ६ महिनापछि प्रयोगशाला सञ्चालनमा आएको हो। प्रयोगशाला सञ्चालनपछि कोरोना परीक्षणका लागि स्वाब बाहिर पठाउनुपर्ने बाध्यताको अन्त्य भएको छ।  

आइतबार सार्वजनिक रिपोर्ट अनुसार १ जनामा कोरोना संक्रमण देखिएको छ। ६६ जनाको परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएको हो। आइतबार संक्रमण पुष्टि हुने बैतडीको दशरथचन्द नगरपालिका ४ का ४३ वर्षीय पुरुष रहेका स्वास्थ्य कार्यालयले जनाएको छ। पुष्टि हुने ती पुरुष भारतबाट फर्किएर क्वारेन्टाइनमा बसिरहेका बैतडीका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिए। 

थप १ जनाका कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या ३८८ पुगेको छ। जसमध्ये सक्रिय संक्रमित १३ जना मात्रै  रहेका जनाइएको छ। जिल्लामा  सबैभन्दा बढी पञ्चेश्वर गाउँपालिकाका ६० जनामा संक्रमण पुष्टि भएको छ।

यस्तै दशरथचन्द नगरपालिकाका ५३, सिगास गाउँपालिकाका ५१, शिवनाथ गाउँपालिकाका ५०, पाटन नगरपालिकाका ४६ ,दोगडाकेदार गाउँपालिकाका ४५ जनामा संक्रमण पुष्टि भईसकेको छ। यस्तै मेलौली नगरपालिकाका ३४, सुर्नया गाउँपालिकाका २९, पुर्चौंडी नगरपालिकाका १० र डिलाशैनी गाउँपालिकाका १० जनामा संक्रमण पुष्टि भएको छ। 

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.