|

म्याग्दी : पर्याप्त वर्षा र समयमा नै रोपाइँ गरेका कारण म्याग्दीका फाँटहरुमा यतिबेला विगतका वर्षभन्दा धानबाली फस्टाएको छ। फाँटहरुमा धानका बोटले गाँज फिजाएर हरियाली फैलाएसँगै किसानहरुको अनुहारमा पनि खुसीको चमक देखिएको छ।

धान उत्पादनका लागि अब्बल मानिएको बेनी नगरपालिका–२ बगरफाँटको तल्लो र उपल्लो दुवै फाँटमा गुडुरा र गौरिया धानको हरियालीले वातावरणलाई नै रोमाञ्चक बनाइदिएको छ। रोग तथा किराले नछोएको र सिँचाइको अभाव नभएकाले यस वर्ष म्याग्दीमा धान उत्पादनमा विगतका वर्षभन्दा २० प्रतिशतसम्म बढ्ने किसानको अनुमान छ।

गौरिया र गुडुरा धानका बोटबाट आएको सुगन्ध र फाँटैभरि फैलिएको हरियालीले यहाँका किसानहरु मात्रै होइन बाटो हिँड्ने बटुवाहरु पनि मुग्ध भएका स्थानीय किसान प्रेमबहादुर कार्कीले बताउँछन्।

पर्याप्त पानी

म्याग्दीको कुल खेतीयोग्य जमिनको ५३ प्रतिशतमा मात्रै सिँचाइको व्यवस्था छ। अन्य जमिनमा आकाशे पानी र बर्खे भेलबाट रोपाइँ गर्नुपर्ने बाध्यता रहेको छ।

तर, यस वर्ष भने सिंचाइ नहुने खेतमा पनि राम्रोसँग धानबाली फस्टाएको छ। विगतका वर्षहरुमा साउनको अन्त्यसम्म सकिने रोपाइँ यस वर्ष असारको तेस्रो सातामा नै सकिएको थियो। त्यसयता लगातार रुपमा वर्षा भएकाले सिँचाइको कुनै अभाव नभएको किसानहरुले बताएका छन्।

म्याग्दीको तीन हजार ८९२ हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ। यहाँ गौरिया, जर्नेली, गुडुरा, जेठोबुढो, मार्सी, ताकमारे, भट्टे पहेंलेलगायतका रैथाने र छमरुङ, माछापुच्छ्रे, अन्नपूर्ण ३, खुमल १०, लुम्ले २ लगायतका उन्नत जातका धान खेती हुने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.