|

कञ्चनपुर : भारतीय ग्राहकले भरिभराउ हुने भीमदत्त नगरपालिका–९ स्थित ब्रह्मदेव बजार सुनसान भएको छ। कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यजनगर गर्दै सीमा क्षेत्रको आवतजावतमा रोक लगाइएपछि भारतीय ग्राहकको भरमा चलेको ब्रह्मदेव बजार सुनसान भएको हो।

विवादास्पद टनपुर बाँधसँगै जोडिएको बजार पाँच महिनादेखि सुनसान बनेपछि व्यापारीहरु व्यवसाय छाड्ने अवस्थमा पुगेका छन्। केही व्यापारीहरु व्यवसाय छाडेर अन्य क्षेत्रमा गएका छन्। एकजना व्यापारीले दैनिक ३० हजारदेखि एक लाख भारतीय रुपैयाँसम्मको सामान बिक्री गर्दै आएकोमा हाल सीमा नाका बन्द भएपछि व्यापार व्यवसाय ठप्प रहेको छ।

भारतीय रुपैयाँमा कारोवार हुने बजारमा भारतीय ग्राहको रोजाइमा चिनियाँ कम्पनीका टर्च, वाम, भल्वेट कपडा, जिनका तयारी पोशाक, खेलौना, इलेक्ट्रोनिक सामान पर्ने गरेका थिए। सीमा क्षेत्रको आवतजावत बन्द गरिएपछि बिहान पसल खोल्ने र बन्द गर्ने कामबाहेक व्यापार व्यवसाय नभएको स्थानीय व्यापारी मदनराज पनेरुले बताए।

‘पाँच महिनादेखि बजारमा ग्राहक देखेका छैनौं,’ उनले भने, ‘पसलभित्र लाखौंको सामान छ। ग्राहक नहुदा मर्कामा परेका छौं।’

कमाई नहुँदा सामान ल्याउँदै आएका साहुको रकम बुझाउने अवस्था नरहेको उनले बताए। स्थानीय व्यवसायीहरुका अनुसार साहुलाई सामान फिर्ता पठाउन लैजाँदा भारतबाट तस्करी गरी सामान ल्याएको निहुँमा प्रहरीले समान समातेर लैजान्छन्। प्रहरीसँगको झन्झट व्यहोर्न कोही पनि व्यापारी तयार नहँुदा समान पसलभित्र राख्न बाध्य छन्।

सामान बिक्री नहुँदा र बाह्य क्षेत्रमा पठाउन नसक्दा सामान पसलमै थन्क्याउनु पर्ने बाध्यता व्यवासायीहरुको रहेको छ। लकडाउनअघि ब्रह्मदेव बजारमा रहेका झण्डै २५० वटा पसलमा दैनिक एक करोड रुपैयाँभन्दा बढीको कारोवार हुदै आएको थियो। फागुनदेखि जेठसम्म लाग्ने तीन महिने मेला भर्न आउने भारतीय ग्राहकको बढ्दो चापका कारण व्यापार व्यवसाय समेत अधिक हुने गरेको छ। मेला अबधिमा दैनिक रु तीन करोड बढीको कारोवार हुने गरेको व्यवसायीहरुको भनाई रहेको छ । यसका अतिरिक्त नवरात्रि, शिवरात्रिका अवसरमा समेत बजारमा निकै चहलपहल हुने गरेको छ।

‘यस बर्ष कोरोना भाइरसको महामारीका कारण मेला लाग्ने छाँटकाँट नै छैन,’ व्यापारी लक्ष्मीदत्त पनेरुले भने, ‘परिवारको खर्च चलाउन समेत कर्जा लिनु पर्ने अबस्था आएको छ।’

यस बजारका अधिकांश व्यापारी सामान पसलमै थन्क्याएर घरतर्फ हिँडेका छन्। धेरै जनाले अन्य क्षेत्रमा गएर बैकल्पिक व्यवसाय समेत अपनाउन थालेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.