भन्छन्- जाँगर भए स्वदेशमै मनग्य आम्दानी हुन्छ

|

बर्दिया : जाँगर भए गाउँठाउँमै पनि गरिखाने उपाय धेरै छन्। यस्तै उदाहारण देखाएका छन् बर्दियाका केही किसानले। ठाकुरबाबा नगरपालिका–४ लसिउरा फाँटाका तीनजना किसानले तरकारी खेतीबाटै मनग्य आम्दानी गरिरहेका छन्। 

थारु समुदाय विकास मञ्च भुरिगाउँले कोसेली परियोजना अन्तर्गत लसिउरा फाँटा गाउँमा गठन गरेको लसिउरा कृषक समूहका विपन्न समुदायका सदस्यहरुले तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन्। समूहमा २५ जना सदस्य छन्। जसमध्ये समूहका सचिव जानकी थारुसहितका तीनजनाले मात्रै सामूहिक रुपमा सुरु गरेको व्यावसायिक तरकारी खेती गर्दै आएका छन्।

उनीहरुले सुरु गरेको बेमौसमी तरकारीबाट पहिलो लटमै २४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको जानकीले बताइन्। “पहिले परम्परागत रुपमा तरकारी गरिन्थ्यो, दुई÷चार सय पनि अर्कासँग सापटी माग्नु पर्थ्यो,’ उनले भनिन्, ‘अहिले त व्यावसायिक रुपमा खेती गर्न थालेपछि हातभरि पैसा हुन्छ खुसी लाग्छ।’ तरकारी बेचेर हरेक साता नौ दश हजार रुपैयाँ बाँढिरहने उनले बताइन्। लकडाउनका बेला पनि तरकारी बेचेरै एकजनालाई मासिक आठ हजार रुपैयाँसम्म आम्दानी भएको जानकीको भनाइ छ।

उनीहरुले २०७६ साउनदेखि व्यावासयिक रुपमा तरकारी खेती सुरु गरेका हुन्। तरकारी खेतीबाट भएको आम्दानीले घर खर्च चलाउन र समूहमा मासिक बचत गर्न समेत सहज भएको उनीहरु बताउँछन्। समूहमा आवद्ध भएर तालिम पाएपछि तालिमको सदुपयोग गर्दै व्यावसायिक तरकारी खेती सुरु गरेको जानकी बताउँछिन्। अहिले जानकी, सीता थारु र बुद्धिराम थारु मिलेर ११ कट्ठा ५ धुर जग्गामा २१ हजार ५०० रुपैयाँ लागतमा तरकारी खेती सुरु गरेका थिए। अहिले दुई लाख २६ हजार रुपैयाँ लगानी भएको छ। जसमा ठाकुरबाबा नगरपालिकाले दुई लाख चार हजार ५०० रुपैयाँ अनुदान पाएको जानकीले बताइन्। 

उनीहरुको फार्ममा काँक्रा, लौका, घिरौँला, भिण्डी, बोडी लगायतका तरकारी फलेका छन्। यस्तै, काउली, बन्दा, गोलभेंडा, खुर्सानी लगायतका तरकारी लगाउने तयारीका लागि बेर्ना पनि तयार गरिहेका छन्। च्याउ खेती पनि गर्ने सोँच बनाएको जानकीले बताइन्। 

बेरोजगारीका कारण भन्दै सयौँ युवाहरु रोजगारीको खोजीमा छिमेकी देश भारतलगायत खाडी मुलुक पलायन भइरहेको अवस्थामा मेहेनत गरे जहाँ पनि आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण जानकीको समूहले दिएको छ। आफ्नै पहलमा तरकारी खेतीबाट आत्मनिर्भर बन्दै गएको उनीहरुको सामूहिक अनुभवबाट प्रष्ट हुन्छ, मेहनत गर्ने हो भने आफ्नै गाउँठाउँमै बसेर पनि मनग्गे आम्दानी गर्न सकिन्छ।

यस्तै, ठाकुरबाबा–२ प्रेरहनीका बन्द्रु थारुले पनि अहिले तरकारी खेतीबाटै जीविकोपार्जन गरिरहेका छन्। आफ्नो काम र कमाइबाट सन्तुष्ट रहेको उनको भनाइ छ। उनी युवालाई गाउँमै केही गर्न सुझाव दिन्छन्। स्थानीय सरकारले अनुदानका कार्यक्रममा सहभागी गराउँदा वास्तविक किसान भने अनुदान पाउनबाट बन्चित भएको उनको गुनासो छ।

उनले तरकारी खेतीबाट भएको आम्दानीले घर खर्च चलाउँदै आएका छन्। उनल एकजना छोरालाई स्नातकोत्तर पढाइरहेका छन्। झण्डै करिब २५ वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका उनमा जाँगर भए पनि बीउ, मल र सिँचाइ सुविधा नपाउँदा मन खिन्न हुने बताउँछन्। 

ठाकुरबाबाकै रामबहादुर थारु, जितेन्द्र थारुलगायतले पनि तरकारी खेतीबाटै मनग्य आम्दानी गरिरहेका छन्। निर्वाहमुखी परम्परागत खेतीभन्दा व्यावसायिक खेती गर्नुपर्ने उनीको सुझाव छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.