|

बाँके : सरकारले दिने मानपदवी, अलंकार, पदकको प्रायः आलोचना हुने गर्दछ। भर्खरै सरकारले घोषणा गरेको विभिन्न मान पदवीको पनि आलोचना भइरकेको छ। सरकारले आफन्त, आफ्ना वरिपरिका व्यक्तिलाई मान पदवी दियो भनेर।

तर, यस वर्षको समाज सेवा रत्म पदक पाउने फिजिसियन डा. कासिम साह जो सरकारको त के शहरभन्दा पनि टाढा रहने व्यक्ति हुन्। उनी विकट क्षेत्रका बिरामीको उपचारमा खट्दा खुसी भेट्टाउँछन्। विकट क्षेत्रमा बसेर गरिब, दुःखी बिरामीको सेवा गर्न पाउँदा आनन्द अनुभूती हुुुने उनी बताउँछन्। 

‘गाउँ–गाउँ पुगेर बिरामी जाँच्ने र उपचार गर्दा जति आनन्द आउँछ त्यति आनन्द शहरमा बसेर शिरामीको उपचार गर्दा आउँदैन,’ उनले भने, ‘विकटलाई निकट बनाउँदै बिरामीको उपचारमा खटिने मेरो अन्तिम लक्ष्य छ।’ 

उनी इस्लाम समुदायबाट समाज सेवा रत्न पाउने पहिलो चिकित्सक हुन्। नम्र व्यवहार, सरल स्वभाव, मिलनसार र सहयोगी भएकै कारण उनी जहाँ–जहाँ जान्छन् त्यहाँ प्रिय हुन्छन्। शहर र सुगममा बसेर त जसले पनि सेवा दिन सक्छ। उनी भन्छन्, ‘ग्रामिण तथा विकट ठाउँका विरामीलाई सेवा दिनु पो बास्तविक सेवा हो भन्ने मलाई लाग्छ।’

विकटमा रमाउँछन् डा.कासिम 

प्युठानको विकट क्षेत्रमा जन्मिएका उनलाई शरहको कोलाहलभन्दा गाउँको शान्त र स्वच्छ बातावरण मन पर्छ। २०४७ सालमा सरस्वती मावि बांगेसाल, प्युठानबाट एसएलसी उत्तीर्ण गरे।  गाउँको सरकारी विद्यालयबाट एसएलसी गरेका उनले छात्रर्वत्तिमा पढ्ने अवसर पाउँदै आएका छन्। 

एसएलसी उत्तीर्णपछि उनले चिकित्सा शास्त्र अध्ययन संस्थान, महाराजगञ्जमा हेल्थ असिस्टेन्ट (एचए) पढे। त्यहाँ प्रथम श्रेणीमा एचए उत्तीर्ण गरे। त्यसपछि उनी दुर्गम जिल्लाको विकट क्षेत्रमा रहेका स्वास्थ्य चौकीमा गएर विरामीको उपचारमा खटिए। अछाम, कालिकोट, रोल्पा, प्युठान, जाजरकोट, जुम्ला, हुम्ला, मुगु लगायत जिल्लाका विकट गाउँमा बसेर बिरामीलाई सेवा दिएको उनी बताउँछन्।

‘सुगम क्षेत्रका अस्पतालमा बसेर बिरामीको उपचार गर्नुभन्दा विकट जिल्लाका दुर्गम क्षेत्रका बिरामीको उपचार गर्दा बेग्लै आनन्द आउँछ,’ उनले भने, ‘विकट ठाउँमा गएर सेवा दिँदा हामी नेपालीको तस्वीर स्पष्ट देखिन्छ।’

छात्रवृत्तिमै एमडीसम्मको पढाइ

चिकित्सा क्षेत्रमा एचएबाट यात्रा शुरु गरेको उनले त्यहाँबाट अघि बढ्दै गए। यस क्षेत्रमा अझ धेरै ज्ञान लिएर विकट क्षेत्रका बिरामीको उपचारमा सहयोग गर्ने उद्देश्यले उनी एमबिबिएसका लागि सरकारी छात्रवृत्तिमा प्रतिस्पर्धा गरे। उनले सन् २००४ मा छात्रवृत्तिमा पढेर एमबिबिएस शिक्षा पूरा गरे। सरकारी छात्रवृत्ति मै एमडी पनि अध्ययन गरे। उनले भने, ‘एसएलसीपछि म सरकारी छात्रवृत्तिमा मात्र पढेको छु,’

एमडीको अध्ययन पूरा गरेपछि उनी जिल्ला अस्पताल गुल्मी पुगे। उनले त्यहाँ झण्डै तीन वर्ष सेवा दिए। विकट ठाउँका सर्वसाधारणले भोगेका स्वास्थ्य समस्यालाई प्रत्यक्ष देखेका डा. शाहको मनले मानेन्। उनले फेरि विकट ठाउँका बिरामीको उपचारमा सहयोग गर्ने योजना बनाए। र, निक्स साइमन नामक संस्था स्थापना गरे।

उनको संस्थाले ग्रामीण भेगका स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य केन्द्र र अस्पताललाई इमरजेन्सी अपरेसनका लागि आवश्यक पर्ने उपकरण र दक्ष जनशक्ति दिँदै आएको छ।

डा. कासिमले भने,  ‘उपकरण र दक्ष जनशक्ति अभावले इमरजेन्सी अपरेसन गर्नुपर्ने बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले अस्पताल, स्वास्थ्य चौकी र प्राथमिक स्वास्थ्य केन्द्रलाई आवश्यक उपकरण र जनशक्ति प्रदान गर्छौैँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.