|

भक्तपुर ः: भक्तपुरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ।  मृत्यु हुनेहरुमा अधिकांश ६० वर्ष भन्दा माथिका जेष्ठ नागरिकहरु छन्। 
स्वास्थ्य कार्यालय भक्तपुरका अनुसार कोरोनाका कारण मृत्यु हुनेहरु १९ जना मध्ये ६० वर्ष माथिका १५ जना छन्। 

गत बैशाख ३० गते पहिलो पटक कोरोना संक्रमण देखिएको भक्तपुरमा गत भाद्र ३ गते पहिलो मृत्यु भएको थियो। भक्तपुरमा भाद्र ३ गते सूर्यविनायक नगरपालिका (सूनपा)–१, सिरुटारकी ७० वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भएको थियो। उनी क्यान्सरका बिरामी थिइन्। 

सूनपा–८ का ७३ वर्षीय पुरुषको भाद्र ६ गते मेडिकेयर अस्पतालमा मृत्यु भएको थियो। उनी मुटुको बिरामी थिए। गत भाद्र १० गते धुलिखेल अस्पतालमा सूनपा–८ कै ५३ वर्षीया महिलाको मृत्यु भयो। उनी थाइराइडबाट पीडित थिइन्।

मध्यपुर थिमि नगरपालिका (मथिनपा)–३ गट्ठाघरकी ६२ वर्षीया महिलालाई भदौ १२ गते नजिकको नागरिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भयो। अचानक बेहोस भएका उनमा शंका लागि मृत्युपछि परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। उनी दमका बिरामी थिइन्।

भक्तपुर अस्पतालमा भदौ १२ गते भक्तपुर नगरपालिका (भनपा)–३ का ८२ वर्षीय पुरुषको मृत्यु भयो। उनलाई निमोनिया भएको थियो । भदौ १३ गते मथिनपा–७ नगदेशका ६२ वर्षीया महिलाको पाटन अस्पतालमा मृत्यु भयो। स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्णबहादुर मिजारले ती महिलामा अन्य कुनै रोग नभएको जानकारी दिए।

भाद्र १४ गते भक्तपुरमा पहिलो पटक होम आइसोलेसनमा कोरोना संक्रमितको मृत्यु भयो। भक्तपुर दुधपाटीका ६५ वर्षीय पुरुषको होम आइसोलेसनमा नै मृत्यु भएको हो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए। भाद्र १४ गते नै मथिनपा–१ स्थित समिट अस्पतालमा सोही स्थानमा बस्ने ७५ वर्षीय बृद्धको मृत्यु भयो। उनी दमको बिरामी थिए। मथिनपा–७ नगदेशका ४० वर्षीय पुरुषको पाटन अस्पतालमा भदौ १७ गते मृत्यु भयो। उनी उच्च रक्तचापबाट पिडित थिए। उनको आमाको पनि कोरोनाकै कारण भदौ १३ गते मृत्यु भएको थियो। भक्तपुरमा एकै परिवारका दुई जनाको कोरोनाको कारण मृत्यु भएको यो पहिलो घटना हो।

त्यसैगरी मथिनपा–६ की ४० वर्षीया महिलाको पनि भदौ १८ गते पाटन अस्पतालमा मृत्यु भयो। उनी मिर्गौला रोगले पिडित थिइन। दुवै मिर्गौलाले काम नगरेपछि उनी नियमित डायलासिस गर्दै आइरहेकी थिइन्।

मथिनपा–३ कौशलटारका ८६ वर्षीय पुरुषको ह्याम्स अस्पतालमा भदौ १५ गते मृत्यु भयो। उनी दम र निमोनियाबाट पिडित थिए। भदौ १६ गते सूमेरु अस्पतालमा सूनपा–४ का ६४ वर्षीय पुरुषको मृत्यु भयो। उनी लामो समयदेखि त्यही अस्पतालमा उपचाररत थिए। उनी मधुमेह र मिर्गौला रोगले पिडित थिए।
मथिनपा–५ दिगुटोलका ६८ वर्षीय पुरुषको पाटन अस्पतालमा भाद्र २६ गते मृत्यु भयो। उनमा निमोनिया देखिएको थियो । मथिनपा ८ बोडेका ३८ वर्षीय पुरुषको भाद्र २७ गते मेघा अस्पतालमा मृत्यु भयो। उनी भक्तपुरमा कोरोनाबाट मृत्यु हुनेहरु मध्ये सबैभन्दा कम उमेरका हुन। उनमा अन्य कुनै पनि प्रकारको रोग नभएको स्वास्थ्य कार्यालयका प्रमुख मिजारले बताए।

भाद्र २९ गते मथिनपा–५ का ७२ वर्षीय पुरुषको गंगालाल अस्पतालमा मृत्यु भयो। उनी मुटुका बिरामी थिए। असोज १ गते भक्तपुरमा कोरोना कारण मथिनपाका दुई जनाले ज्यान गुमाए। दमका बिरामी नगदेशका ७४ वर्षीय पुरुषको मेघा अस्पतालमा र वडा नं. ५ का ८२ वर्षीय पुरुषको वीर अस्पतालमा मृत्यु भएको हो। उनी उच्च रक्तचाप र मधुमेहका बिरामी थिए।

भक्तपुर गःहिटीका ९० वर्षीया महिलाको मेघा अस्पतालमा असोज ३ गते मृत्यु भयो। निमोनियाबाट पीडित उनी भक्तपुरमा कोरोनाबाट हालसम्म मृत्यु हुनेहरु मध्ये सबैभन्दा बढी उमेरका हुन। भनपा–५ का ८४ वर्षीय पुरुषको असोज १ गते होम आइसोलेसनमा मृत्यु भयो। उनी मिर्गौला रोगले पिडित थिए।

भक्तपुरमा कोरोनाले मृत्यु हुनेहरु मध्ये ६ जना महिला छन भने बाँकी १३ जना पुरुष छन ।    कोरोना संक्रमणका कारण भक्तपुरमा ६० वर्ष भन्दा कम उमेरका दुई महिला र दुई पुरुष गरी चार जनाको मृत्यु भएको छ । मृतकहरु मध्ये सूनपा ८ का ५३ वर्षीया र मथिनपाका ४० वर्षीया महिला छन भने मथिनपा–७ नगदेशका ४० वर्षीय र मथिनपाकै बोडेका ३८ वर्षीय पुरुष छन्।

भक्तपुरमा कोरोना संक्रमणका कारण मथिनपामा सबैभन्दा धेरै मृत्यु भएको छ। मथिनपामा हालसम्म तीन महिलासहित ११ जनाको मृत्यु भइसकेको छ। त्यसपछि भनपामा एक महिलासहित चार जना र सूनपामा दुई महिलासहित चार जनाले ज्यान गुमाएका छन। जिल्लाको चार स्थानीय तह मध्ये चाँगुनारायण नगरपालिकामा भने कोरोना संक्रमणका कारण कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.