|

विराटनगर : सुनसरी रामधुनी नगरपालिका–५ झुम्काकी १७ वर्षीया एक किशोरी बेचिनबाट जोगिएकी छन्। 

विराटनगरमा पूजामा लैजाने भनी विराटनगर ल्याइएकी ती किशोरीलाई प्रहरीले उद्धार गरेपछि उनी बेचिनबाट जोगिएकी हु्न्। उनलाई बेचबिखनका लागि भारत पुर्‍याउने क्रममा संलग्न तीन जनालाई मोरङ प्रहरीले पक्राउ समेत गरेको छ।

सोमबार राति करिब ७ बजे किशोरीलाई विराटनगर महानगरपालिका–१७ इस्लामपुरबाट प्रहरीले उद्धार गरिएको हो। विराटनगरको बाटो हुँदै ती किशोरीलाई भारतको फारबिसगञ्जसम्म पुर्‍याइएको थियो। तर योजनाका बारेमा किशोरीले थाहा पाएपछि भागेर उनी पुनःनेपालतर्फ आएकी थिइन्।

मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले घटनाको प्रकृति हेर्दा उनलाई बेचबिखनका लागि लगिएको देखिएको बताए। किशोरीलाई झुक्याएर भारत लानुको रहस्य र घटनाको प्रकृति र ‘कनेक्सन’ हेर्दा किशोरीलाई बलि दिन भारत लैजान खोजिएको प्रारम्भिक अनुशन्धानवाट देखिन आएको एसपी खड्काले जानकारी दिए।

किशोरीलाई भारत लैजाने मोरङको लेटाङ नगरपालिका–३ घर भई सुनसरी रामधुनी नगरपालिका–५ झुम्कामा तरकारी पसल सञ्चालन गर्दै आएकी २२ वर्षीय मनिका ढकाल, सप्तरी विष्णुपुर गाउँपालिका–५ घर भएका २८ वर्षीय सुमितकुमार मण्डल र सप्तरीकै तिलाठीकैलारी गाउँपालिका १ घर भइ विराटनगर बस्दै आएका २० वर्षीय प्रदीपकुमार मण्डललाई पक्राउ गरेको हो।

भारत पुर्‍याएबापत १२ लाखमा बिक्रीको डिल

मनिकाले विराटनगरमा हुने पूजामा सहभागी हुँदा कुमारी केटीलाई पाँच हजार दिने र आफूले एउटा मोबाइल किनिदिने भन्दै आचार्य थरकी किशोरीलाई आइतबार बिहान घरबाट ल्याएकी थिइन्।

विराटनगर बसपार्क आएका सुमित, प्रदीप र मनिकाले उनलाई भारततर्फ लिएर गए। आइसिपी नाकाबाट जान नपाएपछि उनीहरूले चोरबाटो हुँदै उनलाई भारततर्फ लगेका थिए। मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काका अनुसार घटनाका मुख्य योजनाकार सुमित हुन्।

प्रदीप उनका सहयोगी रहेको खुलेको छ। सुमितले मनिकालाई प्रयोग गर्दै प्रदीपको पनि सहयोग लिएर किशोरीलाई भारत पुर्‍याउन खोजेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी खड्काले बताए।

‘किशोरीको उद्धार गर्दै उनलाई भारत लैजानेलाई पक्राउ गरिएको छ’, उनले भने, ‘घटना गम्भीर देखिएका कारण विभिन्न कोणबाट अनुसन्धान थालिएको छ।’

फेसबुकमार्फत पैसाको डिल

१७ वर्षीया किशोरीको घर नजिकै मनिका बस्दै आएकी थिइन्। किशोरीको घरमा उनको आउजाउ राम्रो थियो। प्रहरीका अनुसार मनिकाको फेसबुकमार्फत सुमितसँग चिनजान भएको थियो। मनिकालाई सुमितले विवाह नभएकी युवती ल्याइदिए ४–५ लाख रुपैयाँ दिने आश्वासन दिएका थिए।

किशोरी पाँच फुट २ इन्च हुनुपर्ने, विवाह नभएको र महिनावारी नभएको हुनुपर्ने सर्त थियो। पूर्वतयारीअनुसार मनिकाले घरमै किशोरीको उचाई नाप्दा पाँच फुट २ इन्च थियो। सुमितका नातामा भिनाजु पर्नेले पूजाका लागि युवती मगाएका थिए।

सोमबार भारत लैजाने योजनाअनुसार मनिकाले किशोरीकी आमासँग पूजामा सहभागी हुने र आफ्नो पैसा उठाउन साथी लैजाने भनिन्। सुरुमा असहमति जनाएकी आमाले पूजामा सहभागी हुँदा कन्यापूजा गरेर पाँच हजार दिने र २ घण्टामा आउने बताएपछि विराटगरसम्म जान अनुमति दिइन्।

छिट्टै फर्कने सर्तमा गएका उनीहरू फर्किएनन्। घरबाट किशोरीकी आमाले फोन गर्दा दुवै जनाको मोबाइल अफ थियो। ‘कन्याकुमारी केटीलाई पूजामा राखेर टीका लगाइदिँदै पाँच हजार रुपैयाँ दक्षिणा पनि दिन्छन् भनेर आमालाई विश्वस्त पारेको पाइयो,’ अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने, ‘त्यहाँमाथि मेरो पनि पैसा आउने भएकाले एउटा मोबाइलसमेत किनिदिन्छु भन्दै मनिकाले थप प्रलोभन देखाएको खुलेको छ।’
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.