आफ्नै नामबाट अर्थाेडक्स चिया बिक्रीको बाटो खुल्यो

|

विराटनगर : नेपालको चिया उत्पादनको इतिहासमा पहिलो पटक ट्रेडमार्क रजिस्टर भएसँगै नेपाली अर्थाेडक्स चिया अब आफ्नै लोगोसहित विश्व बजारमा बिक्रीको बाटो खुलेको छ।

नेपालमा चिया उत्पादन सुुरु भएको १५७ वर्षपछि १२ वटा चिया कम्पनीले ट्रेडमार्कको प्रमाणपत्र पाएका छन्।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डका क्षेत्रीय प्रमुख इन्द्रप्रसाद अधिकारीका अनुसार ४२ वटा कम्पनीले दर्ताका लगि निवेदन दिएकोमा पहिलो चरणमा १२ कम्पनीले ट्रेडमार्कको प्रमाणपत्र पाएका हुन्। 

कृषिमन्त्री घनश्याम भुषालले ती कम्पनीलाई इलामको फिक्कलमा मंगलबार प्रमाणपत्र वितरण गरेका छन्। यसअघि उद्योगहरूले आ आफ्नै नाममा चिया निर्यात गर्दै आएका थिए।

बोर्डका क्षेत्रीय प्रमुख अधिकारीले‘नेपाल टी क्वालिटी फ्रर्म द हिमालयाज’लेखिएको  लोगो नेपाली चियाको ट्रेडमार्क हुने र विश्व बजारमा निर्यात हुने अर्थाेडक्स चिया अब नेपाली नामबाट नै निर्यात हुनेछ। सरकारले हालै कार्यविधि बनेपछि ट्रेडमार्क कार्यान्वयनको चरणमा पुगेको हो।

अग्र्यानिक र गुणस्तरियमा तोकिएको मापदण्ड पूरा गरेपछि मात्र आवेदनका आधारमा उद्योगले ट्रेडमार्क प्रयोग गर्न पाउँछन्। अहिले प्रदान गर्न लागिएको ट्रेडमार्क अर्थोडक्स चियाका लागि मात्र हो। लोगो कार्यान्वयनमा आएपछि विश्व बजारमा नेपाली चियाको विश्वसनीयता बढ्ने विश्वास लिइएको छ।

१५७ वर्षअघि राणाहरूका ज्वाइँ गजराज सिंह थापाले चीनबाट ल्याएको चिया रोपेर नेपालमा चियाको उत्पादन सुरु गरेको इतिहास छ। यसअघि नेपाली उत्पादनको चिया विश्व बजारमा धारापानी चियाको नामले चिनिँदै आएको थियो। नेपालमा साना र मझौला गरी एक सय चिया उद्योग छन्।

नेपाली अर्थाेडक्स चियालाई युुरोपिन युनियन, जर्मन टि एसोसिएसनलगायतमा नेपालको ट्रेडमार्क सहितको चियालाई स्वीकृतिका लागि आवेदन दिनुपर्ने र उताबाट स्वीकृति भएपछि मात्रै आफ्नै लोगो सहितको चिया युरोपको बजारमा निर्यात हुनेछ। त्यसका लागि अझै केही समय लाग्ने छ।

चिया खेती सुरुवात भएको इलाममा उत्पादन हुने १० प्रतिशत चिया युरोपका बजार र ९० प्रतिशत भारतको कलकत्तामा पु¥याएर बिक्री गरिँदै आएको छ। नेपालमा चिया खेती र उत्पादन भए पनि यसअघि लोगो नहुँदा अन्तर्राष्ट्रिय बजारमा नेपालमा चिया उत्पादन हुने बारे तेस्रो मुलुकका व्यपारीहरूलाई थाहा नै नभएकाले सूर्योदय टी एसोसिएसनका अध्यक्ष पुनम राईले बताए। 

उनले ट्रेडमार्कको प्रमाणपत्र पाएका कम्पनीले अब नेपाली चिया भारतीय बजारमा लगेर बिक्रि गर्नपर्ने बाध्यता हटेको बताए। राईका अनुसार नेपालको सिटिसि चियाको आन्तरिक खपत ८० प्रतिशत भए पनि अर्थोडक्स चियाको खपत ११ प्रतिशत मात्रै रहेको छ। नेपाली चियाको देशभित्र खपत कम हुँदा ९० प्रतिशत भारतको कलकत्ताको बजारमा भर पर्नुपर्ने बाध्यता रहदै आएको थियो।

भारतीय चियाले दार्जिलिङ टी का नाममा विश्व बजारमा नाम कमाएउदै आएको थियो। अब नेपाली टीले दार्जिलिङ टीसंग प्रतिश्पर्धा गर्ने अवस्था आएको छ।

चिया उत्पादनको ९९ प्रतिशत हिस्सा प्रदेश १ मा

चिया उत्पादनको मूल क्षेत्र प्रदेश १ लाई ‘चिया जोन’ घोषणा गर्न व्यवसायीले माग गदै आएका थिए। अहिले नेपालको कुल चिया उत्पादनमा प्रदेश १ को हिस्सा ९९ प्रतिशत छ।

केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले चिया नेपालको प्रमुख नगदे वालीमध्ये एक भएकाले चियाले ट्रेडमार्क पाएपछि नेपाली चियालाई विश्व बजारमा राम्ररी ब्रान्डिङ गर्न सकिने बताए।

व्यावसायिक चिया खेती सर्वेक्षण– २०७५ को प्रतिवेदन अनुसार अहिले देशभरका ९ हजार २३६ कृषक तथा व्यवसायीहरूले १२ हजार ६६ दशमलव ५ हेक्टर क्षेत्रफलमा चिया खेती गरिरहेका छन्।

११ हजार ४१ वटा चिया बगानमा १० करोड ८० हजार केजी हरियो पत्ती उत्पादन हुने गरेको छ। झापामा १ हजार ६३१, इलाममा ६ हजार ९९५ र सिन्धुपाल्चोकमा ८ वटा चिया बगान सञ्चालनमा छन्।

नेपाली चिया विश्वको १८ मुलुकमा निर्यात हुँदै आएको छ। जर्मनी, अमेरिका, क्यानडा, जापान, चीनलगायत मुलुकमा नेपाली प्रांगारिक चिया लोकप्रिय बनिरहेको छ।

मेची भन्सारको तथ्याङ्कमा पूर्वी नाकाबाट निकासी हुने अर्थाेडक्स चिया र सिटिसी चिया निकासी हुने पहिलो सूचीमा पर्ने गरेको छ। मेची भन्सारबाट बार्षिक २० लाख किलो सिटिसी र १० लाख किलो अर्थाेडक्स चियाको निकासी हुँदै आएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.