|

काठमाडौं :  वरिष्ठ राजनीतिज्ञ, लेखक तथा तत्कालीन राजपरिषद् स्थायी समिति सदस्य यज्ञप्रसाद आचार्यको निधन भएको छ। मुटु र मृगौलासम्बन्धी समस्याका कारण ८७ वर्षीय आचार्यको मंगलबार साँझ निधन भएको हो। आचार्यको आजै दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।

राजा वीरेन्द्रको शासनकालमा गाउँफर्क राष्ट्रिय अभियान, नेपाल युवक संगठनका केन्द्रीय सभापति र राजसभा स्थायी समितिका सदस्य रहदा दलविहीनता र राजाको सक्रिय नेतृत्वको भाष्यकारका रुपमा आचार्य चर्चित थिए। 

राजनीतिका अतिरिक्त २०११ सालको नेपाली भाषा आन्दोलन, पत्रकारिता, अध्यापन, सामाजिक सेवा र साहित्यिक गतिविधिमा पनि आचार्यको लामो संलग्नता रहेको छ।

आचार्यको सम्पादकत्वमा बनारसबाट छात्रवाणी पत्रिकाका साथै नवजागरण साप्ताहिक र द हिमालयन करेन्ट प्रकाशित भएका  थिए। आचार्यका कथासंग्रहहरु फ्युजनको जगमा शिलान्यास (२०७०), मुक्तात्मा दोश्रो (२०६९), मुक्तात्मा पहिलो (२०२०) का साथै प्रजातन्त्रोत्तर नेपालको परराष्ट्रनीति (२०१६) पुस्तकार रुपमा प्रकाशित भएका छन्। स्मरणीय छ, आचार्यले आफ्नो पछिल्लो प्रकाशित पुस्तक ‘जे देखें‘ जे भोगें‘’ नामक आत्मवृतान्त भदौ १३ गते अस्पतालको शैयाबाटै सार्वजनिक गरेका थिए।

आचार्यले २०४६ सालमा बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि हाल रहेका दलहरुले देशमा राष्ट्रवादी आन्दोलनको महत्वपूर्ण कार्यभार पूरा गर्न नसक्ने दाबी गर्दै पञ्चहरूको पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न हुन अस्वीकार गरेका थिए। त्यसपछि ३० वर्षदेखि आचार्य राष्ट्रवादी अभियन्ताहरुलाई सघाउँदै आएका थिए। 

उनको २०१२/०१३ सालमा नेपाल कम्युनिष्ट पार्टी पक्षधर अखिल भारत नेपाली विद्यार्थी फेडेरेसन र युवा संघको निर्माणमा महत्वपूर्ण योगदान रहेको थियो। आचार्य अखिल भारत नेपाली विद्यार्थी संगठनका संस्थापक, भारतको काशी हिन्दू विश्वविद्यालयको नेपाली छात्र संघका अध्यक्ष र सन् १९५४ मा बनारसमा भारतीय कम्युनिष्ट पार्टीअन्तर्गत गठित नेपाल कम्युनिष्ट पार्टी (भारत) को संस्थापक अध्यक्ष रहेका थिए। 

यसैगरी तत्कालीन नेकपाका महासचिव पुष्पलाल श्रेष्ठको अगुवाइमा काठमाडौंमा भएको कम्युनिष्ट युवाहरुको भेलाले ०१३ सालमा आचार्यलाई नेकपाको पहिलो भ्रातृ संगठन युवा संघको संस्थापक अध्यक्षमा चयन गरेको थियो। 

धनकुटाको छथरस्थित तेलिया पिपलेमा १९९० सालमा जन्मेका आचार्य एसएलसी र स्‍नातकोत्तर उत्तीर्ण गर्ने धरानकै पहिलो व्यक्ति हुन्। आचार्यका तीन छोरा एक छोरी र श्रीमती छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.