बुटवल : लगातार पानी परेपछि जमिन कमजोर हुँदा सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पा सडकखण्डमा पहिरो खसेको छ। सडकमा पहिरो खसेपछि सवारी आवतजावत रोकिएको छ।
प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेका अनुसार पाल्पाको तानसेन नगरपालिका–८ डुम्रेमा पहिरो खसेको हो।
राजमार्गको अन्य ठाउँमा पनि साना-साना पहिरो खसेको छ। जसकारण बिहानैदेखि राजमार्गमा सवारीसाधन अलपत्र परेका छन्।
पानी लगातार परिरहेको र पहिरो खसिरहेकाले सडक आवागमन खुलाउन केही समय लाग्ने बताइएको छ। बर्खाका बेला यो सडकखण्ड पटक-पटक अवरुद्ध हुँदा यात्रुले सास्ती भोगिरहनु परेको छ।
अविरल पानी परेकै कारण गुल्मीकोे रुद्रवेणी–वामीटक्सार सडकखण्ड पनि अवरुद्ध भएको छ। सत्यवती गाउँपालिका–४ मा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो। अहिले पहिरो पन्छाउने काम भैरहेको छ। सडकखण्ड अवरुद्ध भएपछि तीन दर्जन भन्दा धेरै गाडी अलपत्र परेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।