स्थानीय सरकार भन्छ : सेना खटाएर आवागमन रोकौं

|

विराटनगर : भारतमा दिनहुँ कोरोना सङ्क्रमितको सख्या बढिरहेको छ। भारतमा कोरोना संकट चुलिरहेका बेला नेपालमा भारतीय नागरिकको अनाधिकृत प्रवेशले चुनौती बढाएको छ। 

सीमा नाकाबाट पूर्वी नेपाल प्रवेश गर्ने क्रम नरोकिँदा प्रदेश एकमा कोरोना संक्रमणको जोखिम बढेको हो।

सरकारले सीमा क्षेत्रमा सशस्त्र र नेपाली प्रहरी परिचालन गरी आवत जावतमा कडाइ गरे पनि रातको समयमा चोरबाटो प्रयोग गरी भारतीयहरु नेपाल आउने क्रम रोकिन सकेको छैन।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सीमा नाकाबाट आवतजावतमा रोक लगाइएको बेला बुधबार लुकिछिपी पूर्वी नेपाल प्रवेश गरेका १५ भारतीयलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल बिओपी रानीले विराटनगर–१७ इश्लामपुरस्थित सीमा नाकाबाट लुकीछिपी नेपाल छिरेका भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो।

अहिले नेपालबाट भारत र भारतबाट नेपाल आवतजावतको लागि सरकारले प्रदेश १ को मोरङको जोगवनी, सुनसरीको भान्टावरी, झापाको काँकडभिट्टा र इलामको पशुपतिनगरको नाका तोकिएको छ। त्यो नाकाबाहेक अन्यत्रबाट प्रवेश गर्नेलाई सुरक्षामा खटिएको प्रहरीले नियन्त्रणमा लिने गरेको छ।

चोर बाटो हुँदै नेपाल प्रवेश गरेको १५ जना भारतीय नागरिकलाई सशस्त्र प्रहरी बल बिओपी रानी विराटनगरले नियन्त्रणमा लिएर भारतीय प्रहरीलाई बुझाएको छ।
यसअघि पनि सशस्त्र प्रहरी अनधिकृत रुपमा नेपाल प्रवेश गर्ने १ सय ७१ जना भारतीयलाई नियन्त्रणका लिएको थियो।

प्रदेश एकमा सुनसरी, मोरङ, झापा र इलाम क्षेत्रमा पर्ने दशगजा क्षेत्रबाट जबरजस्ती नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई नियन्त्रणमा लिएर भारतीय प्रशासनको जिम्मा लगाइएका थियो।

गएको वैशाखयता सबै भन्दा बढी मोरङका विभिन्न नाकाबाट ६० जना, झापाका विभिन्न नाकाबाट ५४ जना, सुनसरीका विभिन्न नाका प्रयोग गरी नेपाल प्रवेश गर्ने ५३ जना र इलामका विभिन्न नाका प्रयोग गरी नेपाल प्रवेश गर्ने ४ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालयले जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालय प्रहरी नायव महानिरीक्षक वंशीराज दाहालले लकडाउनमा सीमा क्षेत्र सिल भएपछि दशगजा क्षेत्रबाट जबरजस्ती नेपाल प्रवेश गर्ने भारतीयलाई नियन्त्रणमा लिएर सम्बन्धित भारतीय पक्षलाई बुझाउँदै आएको बताए।

‘सीमा क्षेत्रमा रातको समयमापनि भारतीय नागरिक नेपाल प्रवेशको प्रयास गर्ने क्रम रोकिन सकेको छैन,’ प्रहरी नायव महानिरीक्षक दाहालले भने, ‘भारतीय नागरिकको प्रवेशलाई रोक्न हर सम्भव प्रयास भइरहेको छ।’ 

कतिपय स्थानमा उनीहरुको प्रवेशमा अवरोध गर्दा सशस्त्र प्रहरीमाथि नै आक्रमण प्रयास समेत भएको उनले बताए।

भारतीय नागरिकले चुनौती : स्थानीय सरकार

प्रदेश १ मा मुख्यतः भारतीय सीमा जोडिएका जिल्लाहरु सुनसरी,मोरङ र झापामा कोरोनाको संक्रमणको दर उच्च छ। त्यसमा पनि प्रदेशको राजधानी रहेको विराटनगर महानगरपालिका कोरोना संक्रमणको ‘हटस्पट’बनेको छ। 
मेयर भीम पराजुलीले समुदायस्तरमा संक्रमण फैलिएको विराटनगर भारतीय सीमासँग जोडिएको क्षेत्र भएकाले संक्रमण नियन्त्रण र रोकथाममा चुनौती थपिएको बताए।
उनले नाका अहिले नाका बन्द छ, तर पूरै अबस्थामा नरहेकाले उताबाट मान्छे सहजै छिर्ने गरेको उनको गुनासो  छ।

‘भारतमा संक्रमण ब्यापक छ। सीमाक्षेत्रमा दुवै देशका नागरिकलाई आवागमन गर्न निषेध गरिएको छ’, ’, मेयर पराजुलीले भने, ‘तर रात साँझ गरेर अनाधिकृत रुपमा भारतीय नागरिक नेपाल प्रवेश गर्ने क्रम अहिले पनि रोकिएको छैन।’

यस्तो अवस्थामा विराटनगरमा अहिले नै कोरोना संक्रमण नियन्त्रणमा आउन सक्ने अवस्था नरहेको उनले बताए।

उनले नाका नियन्त्रणका लागि आवश्यक परे सेना परिचालन गर्न सुझाव संघीय सरकारलाई दिएपनि नसुनेको गुनासो पोखे। केन्द्रले बेवास्ता गर्दा विराटनगरमा भयावह अवस्था आएको उनी बताउँछन्। अब निषेधाज्ञा हटेकाले फेरि संक्रमण बढ्ने हो कि भन्ने चिन्ता मेयर पराजुलीको छ।

‘पछिल्लो समय बजार पनि खुलेको छ। यसले जोखिम बढाएको छ’, मेयर पराजुलीले भने, ‘संघीय सरकारले सीमामा अझ कडाइ गरिदियोस्। नत्र, भारतसँग जोडिएका नेपाली सहर–बजारमा भयावह अवस्था आउनसक्छ।’

सीमा क्षेत्रमा ५ हजार प्रहरी

नेपालसँग सीमा जोडिएका भारतीय राज्यमा कोरोना भाइरसको संक्रमण बढेपछि सीमा क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पाँच हजार बढी प्रहरी परिचालन गरिएको छ।

प्रदेश १ मा नेपाल प्रहरी र सशस्त्र प्रहरीले आफ्नो जनशक्तिलाई सीमा क्षेत्रमा नै केन्द्रित गदै आएको छ। सशस्त्र प्रहरीले यसअघि दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा रहेको सशस्त्रको सुरक्षा पोस्ट दशगजा क्षेत्रमा खडा गरिएको छ।

खुला सिमानाका कारण भारतबाट मानिसहरु लुकिछिपी नेपाल प्रवेश गर्ने सम्भावना देखिएकाले जनशक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको सशस्त्र प्रहरी बलको प्रदेश १ वाहिनीले जनाएको छ।

सशस्त्र प्रहरीको जवानको आधारभूत तालिममा रहेका प्रशिक्षार्थी, प्रधान कार्यालय र प्रदेश ३ बाट समेत जनशक्ति थप गरेर सीमा क्षेत्रमा परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल प्रदेश १ बाहिनी मुख्यालयका डीआईजी नगेन्द्र दाहालले बताए।

भारतको बिहार र पश्चिम बंगाल राज्यसँग जोडिएको प्रदेश १ का इलाम, झापा मोरङ र सुनसरीको सीमावर्ती क्षेत्रमा जनशक्ति केन्द्रित गरिएको छ। सीमा क्षेत्रमा नयाँ पोस्ट थपेर सात जनाको दरले ड्युटीको व्यवस्था मिलाइएको छ।

भारतसँग झापा, मोरङ र सुनसरीको २ सय ७० किलोमिटर र इलामको ५२ किलोमिटर सीमा क्षेत्र रहेको छ। यहाँ एक सय ५१ वटा पोष्ट तयार गरी ३ हजार २ सय सशस्त्र प्रहरी परिचालन गरिएको छ।

झापाको सीमा क्षेत्रमा ५८, सुनसरीमा ५१ मोरङमा ३५ र इलाममा एउटा नयाँ पोस्ट थपिएको छ। यसअघि इलाममा एक र अन्य तीन जिल्लामा गरी जम्मा २४ वटा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोस्ट रहेको थियो।

लकडाउनअघि प्रदेश १ को सीमावर्ती क्षेत्रमा दशगजा क्षेत्रदेखि १ किलोमिटर टाढा सशस्त्रको चेकपोस्ट राखिएको थियो। लकडाउनपछि सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा नै नयाँ चेकपोस्ट तयार गरी सीमा क्षेत्रमा मानिस आवत आवजमा पूर्ण रुपमा कडाइ गरेको जनाएको छ।

सशस्त्र प्रहरीले दशगजा क्षेत्रमा अहिले चौबीसै घण्टा गाडी, मोटरसाइकल, साइकल र पैदल गस्ती गरिरहेको जनाएको छ। त्यस्तै आकस्मिक चेकजाँच र इन्टेलिजेन्स प्रयोग गरेर बोर्डरलाई सिल गरी मानिसहरुको आवत–जावतलाई पूर्णरुपमा रोकिएको डीआईजी दाहालले जानकारी दिए। नेपाल प्रहरीले पनि साढे २ हजार बढी जनशक्तिलाई सिमा क्षेत्रमा केन्द्रित गरी आवत जावतमा कडाई गदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.