हराएकामध्ये ७८ प्रतिशत बालिका
हराएकामध्ये ७८ प्रतिशत बालिका
काठमाडौं : कोरोना भाइरस फैलिएपछि नेपालमा चैत ११ गतेदेखि लगाइएको लकडाउन साउन ६ गते मध्यरातमा सकिएको थियो। यो तीन महिना २५ दिनको अवधिमा सबै मानिसहरू कोभिड-१९ बाट सुरक्षित रहन घरमै थुनिएका थिए। तर, यो समयमा पनि बालबालिका हराउने क्रम जारी रह्यो।
कोरोना महाव्याधिमा पनि बालबालिका हराउने क्रम नघटेको हो। यस अवधिमा देशभरबाट कति बालबालिका हराए र किन हराउँछन्? सबै मानिसहरू सुरक्षित रहन घरमा बसिरहँदा ती बालबालिका कसरी हराए? यसबारे थाहाखबरले केही तथ्यांक संकलन गरेर बुझ्ने प्रयास गरेको छ।
६ महिनामा ७ सय ५२ बालबालिका हराएका छन्। ५८८ बालिकासहित १ सय १६ बालक हराएका हुन्। हराएकामध्ये २६७ बालक र २१० बालिका परिवार तथा आफन्तलाई जिम्मा लगाएको राष्ट्रिय बालअधिकार परिषद्ले जनाएको छ।
चैतदेखि साउनको लकडाउन अवधिमा ४६७ बालिका र १३१ बालक सहित कुल ५९८ जना हराएका थिए। साउन ७ गते खुलेपछि सो महिनामा झन् धेरै बालबालिका हराए। साउनमा मात्रै १८२ बालबालिका हराएकामा ७४ जनामात्र फेला परेका थिए। भदौमा १५४ सहित बालक र १२१ बालिका हराएका छन्।
सरकारको विभिन्न निकायले हराएका बालबालिका खोजीकार्य जारी राखेको छ। अहिले पनि ४०० भन्दा धेरै बालबालिका फेला परेका छैनन्।
४८५ जना बालबालिका राज्य र परिवार विहीन भएका छन्। ३७८ बालिका र १ सय ७ बालकको खोजीकार्य भइरहेको छ। बेवारिस अवस्थामा फेलामा परेका २८ अभिभावकलाई १५ र बालगृहमा १३ जना बालबालिकालाई बुझाइएको छ।
४७ जिल्लामा रहेका बालगृहमा १५ हजार ४५ बालबालिका छन्। सबैभन्दा बढी बालगृह उपत्यकाको तीन जिल्लामा रहेका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्का प्रवक्ता राम बहादुर चन्दले जानकारी दिए। उनले भने, 'कुल संख्याको ५० प्रतिशत बालबालिका भक्तपुर, ललितपुर र काठमाडौं जिल्लाका बालगृहमा छन्।'
उनका अनुसार गत वर्ष २०७६/ ७७ आर्थिक वर्षमा मात्र दुई हजार ७२९ जना बालबालिका हराएका थिए। तीमध्ये ८३१ बालक र एक हजार ८ सय ९८ बालिका थिए। ६९० बालक र बालिका एक हजार ५२९ जना फेला परेका थिए। हराएकामध्ये दुई हजार २१९ र १५५ बेवारिस बालबालिकालाई बालगृहमा पठाइएको थियो।
संकटको समयमा गैरकानुनी काम गरेर बस्ने मानिसहरू सल्बलाउन नपाइरहेको, तर स्थिति सामान्य भएपछि मानव बेचबिखन गिरोह सक्रिय भएको कारणले बालबालिका बेपत्ता हुने गरेको बालबालिकाको क्षेत्रमा काम गर्ने संस्था सिविनका अध्यक्ष माधव प्रधान बताउँछन्। लकडाउन सामान्य हुँदै गएको समयमा बालबालिकालाई घरमा बसिरहँदा अत्यास लागेर बाहिर निस्कने क्रम बढेकाले हराउने क्रम पनि बढिरहेको हुन सक्ने उनको अनुमान छ।
'सडकलाई मानवरहित बनाउने सरकारको अभियान छ, मानिस किन हराउँछन्?' प्रतिप्रश्न गर्दै उनी भन्छन्, 'सडकमा किन आउँछन्, त्यस विषयमा सरकारले ध्यान दिनुपर्छ। मानिसलाई सडकमा आउन नदिने वातावरण बनाउनुपर्छ। कस्ता परिवारको मानिसहरू हराउँछन्, त्यसको अनुसन्धान हुनुपर्छ।' त्यस्ता परिवारलाई सरकारले केही राहत व्यवस्था वा सामाजिक मनोपरामर्श दिनुपर्ने उनले धारणा राखे।
महामारी फैलिएका बेला लामो समयसम्म बालबालिकाहरू घरमा बस्दा पारिवारिक वातावरणमा समायोजन हुन नसकेर उनीहरू स्वतन्त्रता खोजीका लागि हराएको हुनसक्ने मनोविश्लेषक बासु आचार्य बताउँछन्।
बालबालिकाले सधैँ स्वतन्त्रता खोज्ने भएकोले केही अवसर नपाउँदा पनि समस्या हुने गरेको उनले बताए। 'बालबालिकामा खान मन लागेको कुरा खान नपाउने, स्वेच्छाले हिँडडुल गर्न नपाउँदा मानसिक तनाव बढी हुने गर्छ,' आचार्यले भने, 'पारिवारीक वातावरणका कारण मनोवैज्ञानिक असर परेको हुन सक्छ। काम गर्न जान्छन् र फर्केर आउँदैनन्। मानव बेचबिखनमा पर्नसक्ने सम्भावना बढी छ।'
तपाईंको ईमेल गोप्य राखिनेछ ।