|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको दुर्गम क्षेत्र गुम्सामा निर्माण गरिएको सात कन्या माध्यमिक विद्यालयको भवन समुदायलाई हस्तान्तरण गरिएको छ।

२०७२ सालको बैशाख १२ गतेको भूकम्पले विद्यालय ध्वस्त भएपछि पुनर्निर्माण प्राधिकरण सहित विभिन्न संघ संस्थाको आर्थिक सहयोगमा १३ कोठा सहितको  २ वटा विद्यालय भवन बनाइएको हो। विद्यालयका दुई वटै भवन विशेष कार्यक्रम गरी समुदायलाई हस्तान्तरण गरिएको छ।

भूकम्पबाट अति प्रभावित जिल्ला सिन्धुपाल्चोकको गुम्सा सबै भन्दा बढी मानवनिय क्षति पुगेको स्थान पनि हो।  भूकम्प पछि दुई बर्ष लगाएर बनाइएको सो विद्यालय भवन विशेष कार्यक्रमकाबीच स्वास्थ्य मन्त्री गगन थापाले विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरे।

मन्त्री थापाले भूकम्प पछिको पुनर्निर्माणमा केही ढिलाई भएपनि भूकम्प प्रभावितलाई राहत उपलब्ध गराउने विषयमा सरकारबाट त्रुटी नहुने प्रतिवद्धता जनाए। उनले विद्यालय भवन, स्वास्थ्य चौकी पुनर्निर्माणमा धिमा भएको गतिलाई विस्तारै बढाउदै लैजाने प्रतिवद्धता पनि जनाए।

भूकम्प पुनर्निर्माण प्राधिकरण, हेल्प नेपाल, व्यक्तिगत रुपमा विदेशी दाता तथा स्थानीयको श्रमदान समेत गरी झण्डै ९० लाख रुपैयाँ लागतमा विद्यालय भवन निर्माण गरिएको हो। हेल्प नेपालका संस्थापक जिग्मी लामाले जिल्लाका विभिन्न ९ वटा विद्यालय पुनर्निर्माणमा आर्थिक सहयोग गरिरहेको जानकारी गराउदै शिक्षाका लगानी बढाउदै लैजाने बताए। भूकम्पमा परी सात कन्या माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ज्यान गुमाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.