|

काठमाडौं : स्वास्थ्य तथा जनसख्या मन्त्रालयले रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका ६३ वर्षीय बन्दी रामलखन जैसवालको मृत्युबारे थप स्पष्ट पारेको छ।

मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्‍वर गौतमले केन्द्रीय कारागारबाट यही असोज ३ गते राती १०.५५ बजे वीर अस्पतालको इमर्जेन्सी विभागमा लगिएका कैदीको पहिले नै मृत्यु भइसकेको विवरण प्रस्तुत गरे।

मृतकबारे विभिन्‍न सञ्चारमाध्यममा सत्यतथ्य नबुझी समाचार सम्प्रेषण भएको सम्बन्धमा मन्त्रालयको गम्भिर ध्यानाकर्षण भएको जनाउँदै उनले चिकित्सा विज्ञानमा हुनसक्ने कुरा नबुझी, अतिरञ्जित गरी कल्पनासमेत गर्न नसकिने आरोप लगाएर समाचार प्रेषित नगरिदिन र अस्पताल तथा स्वास्थ्यकर्मीको मनोबल नगराइदिन अनुरोधसमेत गरेका छन्।

बुधबार मन्त्रालयमा आयोजित नियमित कोभिड-१९ प्रेस ब्रिफिङको अन्त्यमा प्रवक्ता गौतमले अस्पताल लिनेबित्तिकै उनी कुनै पनि हिसाबले जीवित नरहेको पाइएकोले ड्युटीमा खटिएका चिकित्सकले मृत घोषणा गरेको उल्लेख गरेका छन्।

हिजो अस्पताल प्रशासनले जारी गरेको विज्ञप्तिकै भाषामा उनले ४ दिनदेखि मृतकको शव अस्पतालकै शवगृहमा राखिएकाले सड्ने गल्ने प्रकृयाका कारण नाक मुखबाट रगत मिश्रित तरल पदार्थ निस्किएको बताए। तर आँखा झिकिएको र शरीरभरी घाउ रहेको आफन्तको आरोप सत्य नरहेको भन्दै उहाँले त्यस्तो घटना हुनै नसक्ने जिकिर गरेका छन्।

‘४ दिनदेखि मृतकको शव अस्पतालकै शवगृहमा राखिएकाले शव सड्ने गल्ने प्रकृयाका कारण शरिरमा बिभिन्न प्रकारका फोकाहरू निस्किएको, छालाको रङ निलो कालोमा परिणत भएको, जिउ सुनिएको, नाक र मुखबाट रगत मिश्रित तरल पदार्थ निस्किएको अवस्था हो, उनले भने ‘सड्न गल्न सुरु भएको शवमा यस्ता परिवर्तन हुन्छन् यो सामान्य प्रकृया हो, साथै सञ्चारमाध्यममा आएजस्तो कुनै अंगहरु निकालिएको छैन र निकाल्ने कुरा पनि आउँदैन।’

कारागारकै सुरक्षाकर्मीको अनुरोधमा शवको कोरोना परीक्षणका लागि मृतकको स्वाब लिइ परीक्षणमा रहेकाले मृतकको शव अस्पतालकै शवगृहमा राखिएको र त्यसको दुई दिनपछि ५ गते रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।  

यसअघि मृतकका आफन्तले समयमै मृत्यु भएको जानकारी नदिइएको, शव नदिएको, शव हेर्दा आँखा झिकिएको तथा शरिरमा चोट देखिएको बताएका थिए। त्यसक्रममा प्रहरी प्रशासन लगाएर कोरोना परीक्षण भन्दै आफन्तलाई शव हेर्नसमेत दिइएको थिएन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.