७५ प्रतिशत संक्रमित कन्ट्याक्ट ट्रेसिङ गर्दा भेटिए, प्रदेशभर ६४,८९५ पीसीआर जाँच

|

पर्वत : गण्डकी प्रदेशका ११ जिल्लामध्ये कास्कीमा संक्रमित र ज्यान गुमाउनेको संख्या धेरै रहेको छ। प्रदेश राजधानीसमेत रहेको कास्कीमा अन्यत्रभन्दा कोरोना सङ्क्रमित र मृत्यु भएकाहरूको सङ्ख्या बढी रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ।

निर्देशनालयका वरिष्ठ स्वास्थ्य प्रशिक्षक नवराज शर्माका अनुसार कास्कीमा बुधवार साँझसम्म संक्रमितहरूको कूल सङ्ख्या ८५५ पुगेको छ। संक्रमित भएकामध्ये ४७७ जना अहिले आइसोलेसनमा उपचाररत छन्‌ भने ३६७ जना संक्रमणमुक्त भएका छन्‌। ​११ जना संक्रमितको मृत्यु भएको छ।

प्रदेशमा रहेको हिमालपारीको जिल्ला मुस्ताङ भने यतिखेर कोरोनामुक्त अवस्थामा छ। मुस्ताङका एक वृद्धमा कोरोना पोजेटिभ देखिएपनि उनी निको भएर घर फर्किसकेका छन्।

हालसम्म सङ्क्रमितको सङ्ख्या ७ रहेको मनाङमा ४ जनाले कोरोनालाई जितेका छन् भने ३ जनाको आइसोलेसनमा राखेर उपचार भैरहेको छ।

कोरोना पोजेटिभ एक बालकको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको म्याग्दी जिल्लामा पनि यतिखेर संक्रमितको संख्या एकमात्र रहेको छ। कुल ५१ जनामा सङ्क्रमणको पुष्टि भएकोमा ४९ जनालाई निको भइसकेको छ।

पर्वतमा हालसम्म १२१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोना अस्पतालको आइसोलेसनमा १५ जनाको उपचार चलिरहेको छ भने १०६ जना निको भएर घर पुगेका छन्।

गोरखामा अहिलेसम्म संक्रमितहरूको संख्या २३९ पुगेको छ भने ६ जना संक्रमितको ज्यान गएको छ। संक्रमितमध्ये १९४ जनाले कोरोनालाई जितेका छन् भने ३९ जना आइसोलेसनमा उपचाररत छन्।

लमजुङमा सक्रिय केसको सङ्ख्या १२८ रहेको छ। ३४७ जनामा सङ्क्रमणको पुष्टि भएकोमा २३२ जनाले कोरोनालाई पराजित गरेका छन्‌। 

चार जनाको मृत्यु भएको तनहुँ जिल्लामा संक्रमितहरूको सङ्ख्या ४१० पुगेको छ। तीमध्येका २७८ जनालाई निको भएको छ भने १२८ जनालाई आइसोलेसनमा राखेर उपचार चलिरहेको छ।

एक जनाको मृत्यु भएको बागलुङमा आइसोलेसनमा बसिरहेकाहरूको सङ्ख्या ५७ रहेको छ। बागलुङका  ३५८ जनामा सङ्क्रमण पुष्टि भएकोमा ३०० जना डिस्चार्ज भइसकेका छन्।

३८७ जनामा सङ्क्रमणको पुष्टि भएको स्याङ्जामा तीन जनाको मृत्यु भएको छ भने ४८ जना आइसोलेसनमा छन्। जहाँ अहिलेसम्म सङ्क्रमित हुनेहरूको सङ्ख्या ३८७ पुगेको छ।

कास्कीपछि नवलपरासी (बर्दघाट सुस्ता पूर्व) प्रदेशमा दोस्रो प्रभावित जिल्ला बनेको छ। त्यहाँ हालसम्म ८०३ जनामा सङ्क्रमणको पुष्टि भएको छ। तीमध्ये ६ जनाको मृत्यु भएको छ भने ४८ जनाको आइसोलेसनमा राखेर उपचार चलिरहेको छ। नवलपरासीका ४६२ जनाले कोरोनालाई जितेका छन्।

स्वास्थ्य प्रशिक्षक शर्माका अनुसार पछिल्लो २४ घण्टामा गरिएका स्वाब परीक्षणको तथ्याङ्क हेर्दा सङ्क्रमण पुष्टि भएकामध्ये ७५ प्रतिशत कन्ट्याक्ट ट्रेसिङको क्रममा फेला परेकाहरू हुन भने २५ प्रतिशत भारतबाट आएका व्यक्ति हुन्‌।

​पछिल्लो २४ घण्टामा म्याग्दीका ३०, पर्वतका २, लमजुङका २८, तनहुँका १०१, कास्कीका २७७, बागलुङका ९४, स्याङ्जाका १२२ र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) का १०२ जनाको स्वाब नमूना परीक्षण गरिएको छ। जसमध्ये नवलपरासीका १, स्याङ्जाका ६, बागलुङका १०, कास्कीका १४, तनहुँका १५, लमजुङका ५, पर्वतका ४ र म्याग्दीका १ जनामा सङ्क्रमण पुष्टि भएको छ।

गण्डकी प्रदेशमा बुधवार साँझसम्म कुल ६४ हजार ८९५ जनाको पीसीआर परीक्षण गरिएको छ। तीमध्ये ६१ हजार ३१६ जनाको रिपोर्ट नेगेटिभ र तीन हजार ५७९ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यस्तै, निको भएकाहरूको सङ्ख्या दुई हजार ३२९ रहेको छ भने सक्रिय केसको सङ्ख्या एक हजार २१८ रहेको छ। प्रदेशमा कोरोना पोजेटिभ रहेको अवस्थामा प्रदेश बाहिर समेत गरी ३२ जनाले ज्यान गुमाएका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.