|

काठमाडौं : सरकारले कालोबजारी गर्ने व्यापारीहरूबाट जफत गरेको प्याज बिहीबारदेखि विक्री गर्ने भएको छ।

सरकारले कालोबजारी गरेको आरोपसहित उपत्यकाको विभिन्‍न स्थानका व्यापारीहरूबाट जफत गरेको करिब १२ हजार केजी प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत बिहीबारदेखि विक्री गर्ने भएको हो। 

मंगलबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा वाणिज्य तथा आपूर्ति व्यवस्था विभाग, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधि र व्यवसायीसहित बसेको बैठकले बुधबारबाट बिक्री गर्ने निर्णय गरेको हो। 

तर तयारी नपुगेको भन्दै कम्पनीले बिहीबारदेखि मात्रै विक्री गर्न लागिएको बताएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका योजना विभागका विभागीय प्रमुख शर्मिला सुवेदीले मंगलबार मात्रै निर्णय भएकाले उक्त प्याजलाई गोदामसम्म ल्याउन र बिक्रीको प्रबन्ध मिलाउन तयारी नपुगेको कारण बिहीबारबाट विक्री वितरणको काम सुरु हुने बताइन्। 
उक्त प्याज ढुवानी लागत र प्याकेजिङ्गसहित प्रतिकेजी ६० ?पैयाँको दरले उपभोक्तालाई बिक्री गर्न लागिएको समेत बताइन्।   

गत सातादेखि भारतले प्याज निर्यातमा रोक लगाएपछि व्यवसायीले कृत्रिम अभाव गराएर कालोबजारी गरेका थिए। बजारमा प्याजको भाउ अत्याधिक बढेपछि सरकारले काठमाडौं उपत्यकाका विभिन्‍न ठाउँमा अनुगमन गरेको थियो। 

त्यस क्रममा कालोबजारी गरेको भन्दै कालीमाटी र बल्खुमा रहेका दुईवटा पसल शिल गरिएको थियो। त्यही पसलको प्याज खाद्य व्यवस्था तथा व्यापार कम्पनीको थापाथली गोदामबाट विक्री गर्न लागिएको हो। प्याजमा कालोबजारी गर्ने व्यवसायीलाई वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले कारबाही गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.