|

पर्वत : इन्टरनेट अभावका कारण अनलाइन कक्षा सञ्‍चालन गर्न नसकेपछि पर्वतका शिक्षकहरू विद्यार्थीलाई पढाउन टोल-टोलमा पुग्न थालेका छन्‌। 

शैक्षिक क्षति हुन नदिन सरकारले वैकल्पिक सिकाई सहजीकरण निर्देशिका जारी गरेर विद्यार्थीलाई सिकाई क्रियाकलापमा संलग्न गराउने भनेको छ। निर्देशिकामा इन्टरनेटको माध्यमबाट सञ्चालन गरिने कक्षासहित टोलमा पुगेर सिकाई मा सहजीकरण गर्न निर्देशन दिइएको छ।

तर, पर्वतका कमै मात्र विद्यार्थी ‘भर्चुअल’ कक्षामा जोडिन सकेका छन्‌। धेरै विद्यार्थी सिकाई क्रियाकलापमा जोडिन नसक्दा जिल्लाका विभिन्न विद्यालयले टोल-टोलमा पुगी विद्यार्थी जम्मा पारेर पाठ्यक्रम अनुसारकै क्रियाकलापहरू जारी राखेको बताएका छन्।

सदरमुकाम कुश्मा नगरपालिका भित्रैका विद्यालयमा नेट अभावका कारण पठनपाठनमा समस्या भइरहेको छ। ग्रामीण क्षेत्रमा मोबाइलबाट लिइने डेटा बाहेक विकल्प नरहेको र त्यो पनि राम्रोसँग नचल्ने विद्यार्थीहरुको गुनासो आएको महाशीला गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उचै बताउँछन्।

‘हाम्रोमा नेट उपलब्ध छैन। पहिलेदेखि नै शिक्षकको घर जुन ठाउँमा छ, सोही ठाउँका विद्यार्थी पढाउने र शिक्षक नरहेका टोलमा नजिक पर्ने शिक्षकलाई खटाएर पठनपठानमा सघाउने काम गरिरहेका छौँ,’ उनले भने, ‘हाम्रो स्थानीय तहमा भारतबाट आएका केहीलाई सङ्क्रमणको पुष्टि भएको थियो। उहाँहरू सदरमुकामको आइसोलेसनमा बसेर उतैबाट निको भएर आउनुभएको छ।’

जिल्लामा कोरोना सङ्क्रमणको अवस्था सामान्य रहेको, सामुदायिक स्तरमा सङ्क्रमण नपुगेको, बाहिरबाट आएकाहरूलाई सदरमुकामको पुलिङ क्वारेन्टाइनमा राख्ने गरिएकाले कोरोनाबाट सुरक्षित रहने नाममा ६ महिनादेखि बन्द अवस्थामा रहेका विद्यालयलाई अझै पनि बन्दै गराएर राख्न नहुने शिक्षकहरू बताउँछन्।

विद्यालय खोलेर पहिलेको जस्तो नियमित कक्षा सञ्चालन गर्न नसके पनि सुरक्षा सतर्कता अपनाएर पालो गरेर पढाउन सकिने उनीहरूको सुझाव छ। ‘हामीले अहिले आफ्नो क्षेत्रमा रहेका टोलका विद्यार्थीलाई त्यहीँ पुगेर पढाउने, गृहकार्य दिने काम गरेका छौँ,’ फलेवास नगरपालिका ३ शंकर पोखरीको जनसहयोगी माविका शिक्षक बाबुराम पौडेलले भने, ‘थोरै विद्यार्थी रहेका प्राविले त विद्यालय नै खालेर पढाउन थालेका छन् रे भन्ने पनि सुनेको छु। सङ्क्रमण नरहेको ठाउँमा अब पालो गरेर भएपनि विद्यालय त चलाउनुपर्छ।’

जिल्लामा सङ्क्रमितहरू थपिएको अवस्थामा टोल शिक्षाका लागि जाँदा विद्यार्थी र अभिभावक नै शिक्षकबाटै सङ्क्रमण आउने हो कि भन्ने चिन्तामा रहेपनि अहिले त्यो त्रास नरहेका कारण टोल शिक्षाका माध्यमबाट गरिएका सिकाई प्रभावकारी बनेको कुश्मा नगरपालिकामा रहेको जनता सुदर्शन माविका शिक्षक आनन्द रिमालले बताए।

 ‘गाउँमा नेटको सुविधा छैन। बजारबाट वायरलेस जोड्दा कम्तीमा नि १२/१३ हजार रुपैयाँ लागिहाल्छ। अभिभावकले काम गुमाएका छन्। यो बेलामा कसरी उनीहरू महँगो नेट राख्न सक्छन्‌ र!’ उनले भने, ‘शुरूमा जिल्लाका एक जनालाई सङ्क्रमण पुष्टि हुँदा पनि सबैमा त्रास हुन्थ्यो। अहिले सङ्क्रमित थपिएका छैनन्। भय पनि कम भएको छ।’

कुश्मा नगरपालिकाअन्तर्गत नगर शिक्षा शाखाका प्रमुख विष्णु तिवारीले गाउँमा सङ्क्रमितहरू नरहेका कारण यो अवस्थामा टोल शिक्षा प्रभावकारी रहेको र कतिपय विद्यालयका शिक्षकहरुले पालो गरेर विद्यार्थीलाई विद्यालयमा बोलाउनुपर्ने भनी आफूलाई फोन गरेको भए पनि त्यसो गर्दा सरकारको आदेश उल्लघंन हुने बताए।

कुश्मा नगरपालिकाकै कतिपय ठाउँ र जिल्लाका अन्य ठाउँमा थोरै सङ्ख्यामा विद्यार्थी रहेका विद्यालयहरूले सामाजिक दूरी कायम गरेर पालो अनुसार पठनपाठन गराउन सक्ने अवस्था रहेको उनको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.