|

सर्लाही : सर्लाहीमा तरकारीको मूल्य ह्वात्तै बढेपछि उपभोक्ता मारमा परेका छन्। दुई सातासम्म झरी पर्दा उत्पादन घटेपछि केही दिनदेखि बजारमा आउने सबैखाले तरकारीको मूल्य दोब्बरले बढेको छ।

जिल्लाका सबै हाटबजारमा यतिखेर खुद्रा मूल्यमा खुर्सानी प्रतिकिलो २००, फूलकाउली प्रतिकिलो १७०, बोडी प्रतिकिलो १२०, करेला प्रतिकिलो १००, भिन्डी प्रतिकिलो १३०, भान्टा प्रतिकिलो ८० रुपैयाँमा, बन्दा १०० रुपैयाँमा गोलभेँडा १२० रुपैयाँमा, काँक्रो १०० रुपैयाँमा, परबर १००, आलु ६५, प्याज १२० र रायोको साग एक मुठाको २५ रुपैयाँमा बिक्री भइरहेको छ।

अन्य हरियो तरकारी सरदर ८० रुपैयाँमा बिक्री भइरहेको हरिवनका तरकारी व्यापारी पछिया मण्डलले बताए। झरीका कारण तरकारीको उत्पादनमा कमी हुने भएकोले बजारमा स्थानीय तरकारी पर्याप्त नआउँदा मूल्य बढ्दै गएको व्यापारी मण्डलको भनाई छ। पानी परिरहेपछि दैनिकजसो तरकारी बेच्न ल्याउने किसानले समेत तरकारी नै बेच्न छैनन्। 

तरकारी किनबेच हुने जिल्लाको लालबन्दीसहित नवलपुर, हरिवन, नयाँरोड, कर्मैया, सोल्टी,  हरिपुर, बरहथवा, बयलवास, गोडैता मलङ्गवालगायत सबैजसो ग्रामीण बजारमा तरकारीको मूल्य बढेको उपभोक्ताले बताएका छन्।

स्थानीय स्तरमै पर्याप्त तरकारी नआउँदा सर्लाहीबाट देशका विभिन्न स्थानमा निर्यात हुने तरकारीको परिमाणमा कमि आएको लालबन्दी कृषि उपज बजार सञ्चालक समितिले जनाएको छ।

अन्य समयभन्दा चाडपर्वमा तरकारीको खपत बढी हुने भएकोले दशैँमा तरकारीको मूल्यमा अझ बृद्धि हुने सम्भावना रहेकाले उपभोक्ता मारमा पर्नसक्ने व्यापारीहरू बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.