सल्यान : सल्यानमा स्वास्थ्यकर्मीसहित थप चार जना कोरोनालाई कोरोना संक्रमण भएको छ।
कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा एकजना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
जिल्लाको शारदा नगरपालिकाका ४९ जनाको स्वाब परीक्षण गरिएको थियो। यही परीक्षणका क्रममा थप मानिस संक्रमित रहेको थाहा लागेको हो।
शारदा नगरपालिका-७ कजेरी स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको नगरपालिकाका कोभिड फोकल पर्सन रविन विष्टले जानकारी दिए। यस्तै शारदा नगरपालिका-२ खलंगा, डाँडागाउँका दुई जना पुरुष र एक जना महिलामा संक्रमण पुष्टि भएको छ।
संक्रमित भएकाहरू ४९ र ३० वर्षीय पुरुष रहेका छन भने एक जना ४७ वर्षीया महिला हुन्। होमक्वारेन्टाइनमा बसेका उनीहरुको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ। संक्रमित सबैलाई लुहापिङ आइसोलेसनमा राख्ने तयारी भैरहेको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए।
यससँगै सल्यानमा कोरोना संक्रमितको संख्या तीन सय ५२ पुगेको छ। संक्रमितको सम्पर्कमा आएकाहरुलाई होम क्वारेन्टाइनमा राखिएको र अबको पाँच दिन स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने शारदा नगरपालिकाले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।