|

दार्चुला : नेपालले दार्चुलास्थित नेपाल-भारत सीमा र भारत अतिक्रमित कालापानी क्षेत्रमा सुरक्षा उपस्थित बढाएसँगै भारतीय पक्षले पिछा गर्न थालेको छ।

पछिल्लो समय नेपालले सीमा क्षेत्रमा आफ्नो सुरक्षा उपस्थिति बढाएको छ। जिल्ला सदरमुकाममा सशस्त्र प्रहरीको गण राखेर लाली, जौलजिबी र दुम्लिङमा बिओपी स्थापना गरेको छ भने र छाङरुमा गुल्म स्थापना गरेर सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएको छ।

नेपालतिर अर्धसैनिक बल (सशस्त्र प्रहरी)को उपस्थिति हुन थालेपछि भारतले आफ्नो सुरक्षा फौज (खासगरी एसएसबी) लाई नियमित रूप नेपाली सुरक्षाकर्मीको निगरानी (रेकी) गर्न पठाउने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

दक्षिणतिरका बिओपीभन्दा पनि व्यास गाउँपालिका-१ छाङरुमा रहेको गुल्मबाट नियमित गस्तीमा जाने सुरक्षाकर्मीहरूलाई भारतीय सुरक्षाकर्मीले निगरानी गर्ने गरेका छन्‌। छाङरुमा रहेका सुरक्षाकर्मीको अवस्था र गतिविधिबारे एसएसबीले विशेष चासो राख्ने गरेको सुरक्षा स्रोतले जानकारी दिएको छ।

‘दुई देशको मित्रताजस्तै सुरक्षा निकायबीच समन्वय गर्नुपर्छ भन्दै भारतीय सुरक्षाकर्मीले सम्पर्क गर्दै आएका छन्,’ छाङरुमा कार्यरत एक सुरक्षाकर्मीले भने, ‘तर  सीमाक्षेत्रमा हाम्रो गस्ती हुँदा एसएसबीको टोलीले रेकी गर्दै आएको छ, यस्तो खालको गतिविधिलाई समन्वय भन्न मिल्दैन।’

अतिक्रमित भूमि गर्ब्याङमा एसएसबीको सुरक्षा पोष्ट छ भने नेपाल–भारत जोड्ने सीतापुल नाकामा २४ सै घण्टा सुरक्षा निगरानी हुँदै आएको छ। सीतापुलबाट एक किलोमिटर दूरीमा रहेको गागा भन्ने ठाउँमा सशस्त्र प्रहरीको उपस्थिति छ।

छाङरुकोे गागाबाट ६ किलोमिटर दूरीमा रहेको तल्लो कौवा क्षेत्र र ९ किलोमिटर दूरीमा रहेको माथिल्लो कौवा क्षेत्रसम्म नियमित गस्ती हुँदै आएको सशस्त्र प्रहरीका एक अधिकारीले जानकारी दिए। गत जेठ महिनामा बीओपी कमाण्डर रहेका सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको नेतृत्वमा पहिलो पटक कौवा क्षेत्रमा नेपालले गस्ती गरेको थियो।

पहिलो पटक गस्ती गरेदेखि नै भारतीय एसएसबीले आफूहरूको रेकी गर्ने गरेको ती सुरक्षाकर्मीले जानकारी दिए। भारतको गर्ब्याङमा रहेको एसएसबीको टोलीले महाकाली पारिबाट समानान्तर रूपमा सशस्त्र प्रहरीको गस्ती टोलीलाई पिछा गर्ने गरेको छ।

गर्ब्याङबाट ९ किलोमिटर दूरीमा रहेको गुञ्जीमा एसएसबीको अर्को पोष्ट छ। गुञ्जीमा डिएसपीस्तरका कमाण्डरले एसएसबीको नेतृत्व गर्दछन्। सशस्त्र प्रहरीको टोलीले गस्ती गरिरहँदा एसएसबीको टोलीले प्रत्यक्ष र सुक्ष्म रूपमा रेकी गर्ने गरेको नेपाली सुरक्षाकर्मीको भनाई छ।

पहिलोपटक सीमाक्षेत्रमा गस्ती गर्दा एसएसबीको टोलीले माथिल्लो कौवा क्षेत्रमा सशस्त्र प्रहरीलाई रोकेको थियो। कालापानीस्थित नक्कली महाकालीको मुहान र मन्दिरमा पुग्नुभन्दा २ किलोमिटर तल आएर एसएसबीले शसस्त्र प्रहरीको टोलीलाई अवरोध गरेको थियो। ‘यो क्षेत्रबाट माथि भारतीय भूमि भएको र तपाईंहरू यतैबाट फर्किनुस् भनेर एसएसबीले हामीलाई रोकेको थियो’ एकजना सुरक्षाकर्मीले भने।

छाङरुको गागाबाट गस्ती शुरू गर्दा महाकाली पारी गर्ब्याङ गाउँमा रहेको एसएसबी टोलीले आफूहरूमाथि रेकी गरेको, तर माथिल्लो कौवाक्षेत्रमा गुञ्जी र कालापानी क्षेत्रको एसएसबी टोलीले आफूलाई छेकेको उनले बताए। ‘हामीहरू हिँड्दा एसएसबी टोली पनि हतियारसहित महाकालीपारी समानान्तर हिँडिरहन्छ, हामी रोकियौँ भने उनीहरू पनि रोकिन्छन्,’ ती सुरक्षाकर्मीले भने।

माथिल्लो कौवाको अन्तिमतिर सानो उकालो पर्छ। उक्त क्षेत्रमा भारतीय सुरक्षाकर्मीले ढुंगा थुपारेर पर्खालजस्तो बनाएका छन्। ‘ढुंगाको चिनाइ गरेर पर्खाल बनाइएको छैन, तर सयौं मिटर लामो क्षेत्रमा ढुंगा थुपारेर पर्खाल जस्तो बनाइएको छ,’ माथिल्लो कौवाक्षेत्रमा पुगेका अर्का सुरक्षाकर्मीले भने।

पहिलोपटक जेठ १८ गते सशस्त्र प्रहरीको टोली कालापानी पुग्ने उद्देश्यसहित गस्तीमा निस्केको थियो। सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्द नेतृत्वको गस्ती टोलीलाई एसएसबी टोलीले माथिल्लो कौवाको अन्तिम छेउबाट फर्काएको थियो। ‘शुरूमा ४ जना एसएसबी मात्रै भेटिए, केहीबेर कुराकानी भइरहँदा वारिपारि लडाइँको पोजिसनमा ३५/४० जना हतियारसहित क्रलिङमा देखिए,’ गस्तीमा संलग्न ती सशस्त्र प्रहरीको भनाई छ। अहिलेसम्म माथिल्लो कौवाक्षेत्रसम्म तीन पटक र तल्लोकौवासम्म दुईपटक सशस्त्र प्रहरीले गस्ती गरेको स्रोतले बतायो।

कालापानी पुग्न अवरोध गर्ने र गस्ती टोलीलाई रेकी गर्ने काम एसएसबीबाट भइरहे पनि सशस्त्र प्रहरीसँग एसएसबीले नियमित सम्पर्क भने गरिरहन्छ। ‘दुई देशका जनता र सरकारबीच मित्रता भएजस्तै सुरक्षा निकायको तहमा पनि आपसी समन्वय र सहयोग गर्नेबारे एसएसबीका अधिकारीहरूले सकारात्मक कुराकानी गरिरहन्छन्,’ व्यासको बीओपीमा कार्यरत एक सुरक्षाकर्मीले भने।

डेढ महिनाअघि एउटा भारतीय सेनाको हेलिकोप्टरले नेपालको छाङरु, गागा, नाम्पा हिमालको क्षेत्र र तिंकर गाउँसम्मको आकाशमा फन्को लगाएको थियो। यसबारे सशस्त्र प्रहरीले माथिल्लो निकायमा जानकारी गराएको सुरक्षा स्रोतले बतायो। यसबारे एसएसबीका सुरक्षाकर्मीसँग जिज्ञासा राख्दा ‘नयाँ पाइलट भएकोले गल्तीले नेपाली भूभागको आकाशमा हेलिकोप्टर उडाएको’ एसएसबीले जवाफ दिएको थियो।

नेपाली सुरक्षाकर्मीलाई आवश्यक पर्ने खाद्यान्न र अन्य सामग्री उपलब्ध गराउन आफूहरू तयार रहेको र यसबारे जानकारी दिन पनि एसएसबीका सुरक्षाकर्मीले भन्ने गरेका छन्। भारतको गर्ब्याङमा तरकारी कम उत्पादन हुने भएकाले छाङरू र गागाबाट एसएसबीलाई तरकारी उपलब्ध गराउने गरिएको छ। ‘सितापुल नाका नखोलेरै सामान आदानप्रदान हुने गरेको छ,’ एक सुरक्षाकर्मीको भनाई छ।

व्यासको सीमाक्षेत्रमा दुबै देशका सुरक्षाकर्मी नेपालको स्काई मोबाइलमार्फत एकआपसमा सम्पर्क गर्दछन्। भारततर्फ मोबाइल सेवा नहुँदा भारतीय सुरक्षाकर्मीले नेपालको स्काई मोबाइल प्रयोग गर्दछन्। समय–समयमा नेपाली सुरक्षाकर्मीको टोलीले सीतापुलमा पुगेर भारतीय एसएसबीसँग छलफल गर्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.