|
फाइल फोटो

काठमाडौं : नेपालमा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बुटवलमा २, डडेल्धुरा, सप्तरी र चितवनमा एक÷एक जनाको मृत्यु भएको हो। 

रुपन्देहीको बुटवल कोरोना विशेष अस्पतालमा उपचाररत नवलपरासी रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको आज विहान ४ बजे मृत्यु भएको हो । भदौ २७ गते अस्पताल भर्ना भएका उनमा कलेजोको समस्या रहेको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर राजेन्द्र खनालले जानकारी दिए।

खनालका अनुसार कपिलवस्तु बुद्धभूमि नगरपालिका ६ का ५० वर्षीय पुरुषको आज विहान ७ बजे मृत्यु भएको हो। असोज १ गते अस्पताल भर्ना भएका उनमा मधुमेहको समस्या रहेको अस्पतालले जनाएको छ। दुवै संक्रमितको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको डाक्टर खनालले बताए। 

यसैबीच, डडेल्धुरामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। जिल्लाको नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो। केही दिनअघि भारतबाट आएका उनमा श्वासप्रश्वासको समस्या भएपछि हिजो दिउँसो अस्पताल लगिएको थियो। उनमा भारतमै कोरोना पुष्टि भएको र डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड–१९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए। डडेल्धुरामा कोरोनाबाट यो पहिलो मृत्यु हो। 

यस्तै, चितवन मेडिकल कलेज भरतपुरमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । तनहुँको आँबुखैरहनी नगरपालिका वडा नम्बर ३ का ३९ वर्षीय युवाको मृत्यु गएराति १२ बजेर ५५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना संक्रमण देखिएको थियो।

त्यस्तै जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कोरोना संक्रमित एक कर्मचारीको मृत्यु भएको छ। प्रमुख जिल्ला अधिकारीका भान्से राजबिराज नगरपालिका ८ का ६६ वर्षीय पुरुषको आज विहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए। 

भदौ २८ गते कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा बस्दै आएका थिए। विहान हिँड्डुल गरेर घर पुगेका उनको तत्कालै मृत्यु भएको हो। उनमा संक्रमण देखिएपनि मृत्युको प्रकृति हेर्दा हृदयघातका कारण मृत्यु भएको हुनसक्ने यादवले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.