कन्टयाक ट्रेसिङ पहिलो प्राथमिकतामा

|

काठमाडौं : उपत्यकामा निषेधाज्ञा खोलेपछि जनजीवन सामान्य बन्दै जाँदा संक्रमणको दर भने बढ्दै गएको छ। बजार,सडकमा यातायातको चाप र सार्वजनिक स्थलमा मानिसको भीड बढन थालेको छ। काठमाडौं जिल्लामा मात्रै दैनिक ५ सय भन्दा बढी संक्रमित थपिने क्रम जारी छ।

उपत्यकामा भदौ ४ गतेदेखि लगाइएको पछिल्लो चरणको निषेधाज्ञा खुकुलो गरेसँगै संक्रमणको दर ह्वात्तै बढेको हो। यो समाचार तयार पार्दासम्म दुई सातामा ९ हजार १ सय ३४ कोरोना संक्रमित थपिएका छन।

काठमाडौंमा ७ हजार ५ सय ४०, भक्तपुरमा ४० र ललितपुरमा ७ सय २२ संक्रमित थपिएका हुन्।

संक्रमित कहाँ छन्?

निषेधाज्ञायता काठमाडौंका सबै कोभिड अस्पताल भरिएका छन्। सरकारी तथा निजी सबै कोभिड अस्पतालका बेड कोभिडका लक्षणसहितका संक्रमितले भरिएका हुन्।

संक्रमण दर बढेसँगै काठमाडौंका संक्रमितमध्ये संस्थागत आइसोलेसनमा १ हजार जना छन। अस्पतालको आइसोलेसनमा ६ सय ७३ र होम आइसोलेसनमा ३ हजार ४ सय ९७ काठमाडौंमा छन।

भक्तपुरमा सक्रिय संक्रमित ९ सय ७७, अस्पताल आइसोलेसनमा ३ सय ६० र होम आइसोलेसनमा ६ सय १७ संक्रमित रहेका छन। ललितपुरमा  सक्रिय संक्रमित ५ सय १७, अस्पताल आइसोलेसनमा ६२ र होम आइसोलेसनमा ४ सय ५५ रहेका छन।

स्वास्थ्य मन्त्रालयको प्रवक्ताले प्रेस ब्रिफिङमा दैनिकजसो स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन को लागि आग्रह गरिरहेका हुन्छन्। तर, राजधानीमा संक्रमणको संख्या भने कम हुने देखिँदैन।

असोज १ गतेदेखि लामो तथा मध्यम दूरीको सार्वजनिक यातायातका साधन सञ्चालनमा आएसँगै उपत्यका भित्रिनेको संख्या बढ्दै गएको छ। काठमाडौं र अन्य २ जिल्लामा रोजगारका लागि मानिस आउने र लामो समयदेखि बन्द रहेका पसल तथा व्यवसाय सञ्चालन गर्न मानिसहरु भित्रिन थालेका छन्।

उपत्यकाका बढी संक्रमित भएका क्षेत्रमा कन्टयाक ट्रेसिङको काम भइरहेको काठमाडौं स्वास्थ्य कार्यालयका सूचना अधिकारी पार्वती विष्टले बताइन्।

सबैभन्दा बढी काठमाडौं महानगरपालिकामा संक्रमित रहेकोले त्यस क्षेत्रमा कन्टयाक ट्रेसिङ बढाइएको उनले बताइन्। उनले भनिन,' जिल्लामा ६ सय ९७ संक्रमित सम्पर्क बाहिर छन्। पोजेटिभ देखिएको संक्रमितको मोबाइल अफ छ, कसैको ठेगाना सम्पर्क फरक रहेको छ।'

स्थानीय निकायसँग सहकार्य गरी कन्टयाक ट्रेसिङ गरिरहेको भक्तपुर जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्ण बहादुर मिजारले बताए। कन्टयाक ट्रेसिङलाई पहिलो प्राथमिकतामा राखिएको उनको भनाइ छ।

'भक्तपुर जिल्लामा २२ जना कोरोना संक्रमित सम्पर्क बाहिर छन,' उनले भने,' मोबाइल अफ गरेर बसेकाहरुको यसरी खुले आम बाहिर हिड्दा बढी त्रास हुने भएकोले नाम सार्वजनिक गर्ने तयारी गरिरहेका छौ।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.