स्थलगत अध्ययनपछि कूटनीतिक पहल गर्न सुझाव

|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाल–चीन सिमामा पर्ने हुम्लाको नाम्खा गाउँपालिका क्षेत्रमा चीनले नेपालको भूभागमा भवन निर्माण गरेको बारेमा सरकारले हतारमा बोलेको टिप्पणी गरेको छ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज एक विज्ञप्ती जारी गर्दै ‘सीमा मिचिएको छैन’ भनेर परराष्ट्र मन्त्रालयले हिजो सार्वजनिक गरेको धारणाप्रति कांग्रेसको ध्यानाकर्षण भएको जनाएका छन्।

‘सीमा मिचिएको हो या होइन भन्‍ने विषयमा स्थलगत अध्ययनको विवरण आउनु पूर्व नै सरकारले धारणा सार्वजनिक गर्नु युक्तिसंगत होइन’, विज्ञप्तिमा भनिएको छ।

अध्ययन टोलीले ११ नम्बर पिल्लर हिजो मात्रै भेटेको र चीनले निर्माण गरेका भवन १२ नम्बर पिल्लरबाट बाहिर या भित्र भनेर अध्ययन टोलीको स्थलगत अध्ययन निष्कर्षपछि मात्र थाहा हुने स्थितिलाई सरकारले हेक्का नराखेको कांग्रेसले बताएको छ।

कांग्रेसले आज साँझसम्म स्थलगत अध्ययन टोली सीमाबाट हुम्लाको सदरमुकाम फर्किएपछि सीमा मिचिएको ठहर भए चीन सरकारसमक्ष कडा विरोध जनाउँदै संवादको कूटनीतिक प्रक्रियामार्फत समाधानमा पुग्न सरकारलाई सचेतसमेत गराएको छ।

नेपाली भूभाग मिचिएको भन्ने समाचार सार्वजनिक भएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरी र नेपाली सेना समेतको टोली स्थलगत अध्ययनमा रहेको बताइएको छ।

सीमा सम्बन्धी गम्भीर प्रश्नमा स्थानीय प्रशासन, राजनीतिक दल र सञ्चार माध्यम समेतको ठोस अध्ययन र अवधारणाको जगमा धारणा सार्वजनिक गर्नु जिम्मेवार र परिपक्व हुने काँग्रेसको बुझाई छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.