|

नेपालमा माओवादी विद्रोहले के दियो या के-के नोक्सान गर्‍यो? त्यो आज पनि बहसमै छ। तर विद्रोह र क्रान्ति नभई परिवर्तन सम्भव छैन भन्ने सत्य हो। अहिले हामीले भोगेका परिवर्तनका लागि सयौं नरनारी, युवा र विद्यार्थीले अनेक कष्ट सहेर स्वेच्छाले केही न केही योगदान दिएका छन्। 

परिवर्तनको सपना बोकेका तेह्रथुमका नेत्र गुरागाइँ मारिएको थाहा भएपनि कतिले बिर्सिसके। थाहै नभएका अनगिन्ती मानिस परिवर्तनका नाममा वेपत्ता भए र कतिले बलिदान गरे। त्यस्ता धेरै घटनामध्ये माओवादी विद्रोह सबैभन्दा ठूलो हो। 

परिवर्तन गर्ने इच्छाले हामी केही युवाले पनि एकपटक विद्रोहको प्रयास गरेका थियौं। त्यसबेला चीनमा सांस्कृतिक क्रान्ति चलिरहेको थियो। विश्वभरि नै चीनका नेता माओत्से तुङको चर्चा थियो। वामपन्थी विचारधाराबाट प्रभावित युवाहरू त जुनसुकै देशका हुन्, 'चीनका अध्यक्ष-हाम्रा अध्यक्ष!' भन्ने नारा लगाउँथे, त्यही मान्थे पनि। जे थियो-दिलदेखि नै थियो।

घाँटीसम्म टाँक भएको फुस्रो र हरियो कोट लगाएका माओले हात हल्लाएको फोटोका पोष्टर छपाएर चीन स्वयंले पनि बाँडेर प्रचार गर्थ्यो। साना रातो गाता भएका माओत्से तुङका उक्तिका (कोटेसन) रेडबुक बाँडिन्थे। बाम विद्यार्थी र बुद्धिजीवीबीच त्यस्ता बुकलेट बोकेर हिँड्ने र हल्लाउने फेसन नै थियो। 

त्योबेला माओका लकेट पनि वितरण गरिन्थ्यो, जसलाई लुकिछिपी भएपनि भिर्नु फेसन थियो। राजा महेन्द्रले पनि त्यसको देखासिकी लकेट बनाएर बाँडेका थिए। सांस्कृतिक क्रान्तिमा माओत्से तुङ‌को आह्वान थियो-'युवा क्रान्तिकारीहरू गाउँमा जाऊ, गाउँलेहरूमा क्रान्तिको सन्देश सुनाउ।' 

त्यसबेला नेपालका युवाहरू पनि चीनको प्रचार अभियानबाट प्रभावित थिए। काठमाडौंलाई सांस्कृतिक क्रान्तिको हावाले झन्क्याइरहेको थियो। यहाँका शासकलाई शायद यो मन पर्थ्यो/पर्दैनथ्यो भन्न सकिन्न। तर शहरमा त केही छुट नै दिएका थिए। शायद भारत र कांग्रेसलाई देखाएर मनमनै भएपनि आड मान्न नेपालको दरबार चीनका यी गतिविधिप्रति आपत्ति जनाउँदैनथ्यो। 

राजधानीमा बसेर पढिरहेका हामी विद्यार्थीको सानो समूहलाई पनि यी घटनाले उद्वेलित तुल्याइरहेको थियो। राजधानीमा यस्तो राजनीतिक जागरण र चहलपहल आइरहे पनि यातायात र संचारको सुविधा नभएका गाउँतिर बस्नेलाई यी कुरा केही थाहा थिएन। पश्चिमा प्रजातन्त्रका पक्षधर र नेपाली कांग्रेस लगायतका शक्ति चाहिं चीनको यो बढ्दो प्रभावबाट निकै चिढिएका मात्र होइन, आत्तिएका थिए र विरोध गर्दथे। 

बाहिरी राजनीतिक वातावरणमा यस्तो भान पर्दथ्यो कि राजदरबार नै यस्तो गतिविधिमा संलग्न छ। नभन्दै, राजदरबारका केही सचिव र कम्युनिष्ट पार्टी भर्खरै छोडेर पञ्चायतको राजनीतिक जागिरमा लागेका केही पूर्व कम्युनिस्टहरू सहानुभूति लिन र वाम युवाहरूलाई आकर्षित गर्न यस्तो प्रयास गर्थे। 

यही वातावरणको फलस्वरुप दरबारमा कम्युनिष्टहरूप्रति सहानुभूति राख्ने जमात बलियो र ठूलो छ, तिनलाई उपयोग गर्नुपर्छ भन्ने विचार केन्द्रीयस्तरका केही कम्युनिष्ट नेतामा पनि थियो। यस्तै विचारको प्रभावले निर्मल लामाले स्नातक प्रतिनिधिका रूपमा राष्ट्रिय पञ्चायत सदस्यमा चुनाव लडेका थिए। 

ऋषिराज लुम्साली लगायत हामी केही वामपन्थी सोच राख्ने युवाहरू त्यसबेला रानीपोखरी संस्कृत छात्रावासमा बसेर राजकीय संस्कृत महाविद्यालय-(हालको वाल्मीकि क्याम्पस) मा पढ्थ्यौं। विद्यालय भवन पुतली सडकको बजार लाइनमै थियो। छात्रावासमा वर्षौंदेखि भात खाएर विभिन्न विषय फेर्दै पढेर कांग्रेसको राजनीति गर्ने त्यहाँको परम्परा रहेछ। हामी कांग्रेसमा नलागेकाहरू उनीहरूका लागि कबाफमा हड्डी बन्न थालेका थियौं। 

हामीलाई पनि छात्रावासमा बसेर सरकारी भात खाँदै राजनीति गर्दा उकुसमुकुस हुने गर्दथ्यो। त्यसमाथि चीनको सांस्कृतिक क्रान्तिको लहरले गर्दा त झन् कहिले गाउँमा गएर क्रान्तिको सन्देश फिजाउने भन्ने रोमाञ्चकारी कल्पनाले हामीलाई आतुर बनाइसकेको थियो। 

मैले जानेकाहरूमा छात्रावासमा त्यसबेला वामपन्थी युवाहरूमा वाचस्पति देवकोटा (नेता तथा पूर्वमन्त्री), शेषमणि आचार्य (दुलेगौडाका शिक्षक), बद्री खनाल (नेपाल रेडक्रसका पूर्व प्रशासक) पीताम्बर अधिकारी, भवानी पाण्डे (प्राध्यापकहरू) थिए। छात्रावास बाहिर गणेश पण्डित, (पूर्व सांसद-नुवाकोट), त्रिचन्द्रका छात्र हेमराज कँडेल (शिक्षक चितवन) आदि थिए। शान्तदास मानन्धर, निरञ्जन गोविन्द वैद्य आदिसँग पनि कुराकानी हुन्थ्यो।  

म २०२३ साल असारमा मात्र काठमाडौं आएको भएपनि पीताम्बर अधिकारी लगायतका अग्रजको भनसुन र प्रयासले छात्रावासको सुविधा लिएर शास्त्री प्रथम वर्ष त्यहाँबाट पास गरेको थिएँ। दोस्रो वर्ष जाँच दिएकै थिइनँ। हामीलाई क्रान्ति गर्ने हुटहुटी चलिहाल्यो। 

उता, म २०२२ सालमै पहाडमा ताप्लेजुङदेखि ओखलढुङ्गासम्म जनचेतना र जनभावना बुझ्न सम्पर्क र संगठन गरेर हिँडिसकेको थिएँ। त्यसै अनुभवका आधारमा एउटा अवधारणापत्र तयार गरेको थिएँ। जसमा संगठनको रूप फौजी र संघर्षको रूप युद्ध हुनुपर्दछ। वर्गसंघर्षको माध्यमबाट दीर्घकालीन युद्ध लडेपछि जनवाद ल्याउन सकिन्छ भन्ने आदि थियो। 

चीनका मान्छे देखेपछि सबै माओ त्सेतुङ जस्तै क्रान्तिकारी हुन्छन् भन्ने लाग्थ्यो। लुकीछिपी जय नेपाल हल नजिक चिनिँया दूतावासमा जानेगर्थें र बेलुका सांस्कृतिक क्रान्तिका डकुमेण्ट हेर्थें। 

मैले लेखेको अवधारणापत्र त्यहाँ अलि फाइँफुइँ गर्नेलाई मैले देखाएर दोभासेमार्फत हामी पनि क्रान्ति गर्न चाहन्छौं भनेर सुनाएँ र त्यो पत्र पढ्न दिएँ। बिचरो क्रान्तिकारी भावनाले ओतप्रोत भएको मेरो भावना बुझेर केही गर्न नसक्ने वा नमिल्ने भएपनि मलाई देखाउन होला : उसले त्यो राख्यो र अर्को दिन 'ठीक छ, ठीक छ' भनेर फर्काइदियो। मेरो त्यो अवधारणापत्रमा टिप्पणी गर्दै वाचस्पतिजीले अहिले 'क्रान्ति हुनसक्दैन' भनेर विमति देखाउनुभयो। उहाँ निर्मल लामाबाट प्रभावित हुनुहुँदो रहेछ। तर रेडबुक चाहिँ खूब देखाउनुहुन्थ्यो। 

ऋषिराज लुम्साली, म र हेमराज कँडेल क्रान्तिको लागि हिँडिहाल्ने पक्षमा गयौं। अरुले समर्थन गरे। एक वर्षपछि धरानमा भेला भएर बैठक गर्ने सल्लाह गर्‍यौं।क्रान्तिको तयारीका लागि हामी पहिले खगेन्द्रजङ्ग गुरुङ्लाई भेट्ने भनेर ऋषि र म पैदलै लाग्यौ मनाङतर्फ। त्यसबेला खगेन्द्रजङ्गको नाम निकै चलेको थियो। खगेन्द्रजङ्ग माओलाई भेटेर आएका छन्, उनी पनि नेपालमा क्रान्ति चाहन्छन्। उनीसँग हतियार पनि छ भन्ने हामी सुनेको हुनाले र नै त्यता गएका थियौं। 

आरुघाट बजारमा पुगेपछि दुर्भाग्यवश: ऋषिजीलाई भुस्याहा कुकुरले टोकिदियो र हामी सुई लगाउनुपर्छ भनेर काठमाडौं फर्कियौं। आरुघाटमा पुलिसले पनि निकै सोधपुछ गरेको थियो। जान दिन्थ्यो/दिँदैनथ्यो भन्न सक्दिनँ। तर, काठमाडौ फिरेपछि त्यताको टन्टै हट्यो। काठमाडौं फिरेपछि पनि हाम्रो गाउँमा गएर गरीब किसानलाई जागृत तुल्याउने र क्रान्ति गर्ने माओको सन्देशको प्रभाव कम भएको थिएन। 

दशैं आउन लागेको थियो। सबै विद्यार्थी दशैँमा घर जाने, अनि फर्केर आएपछि परीक्षाको तयारी गर्ने मनस्थितिमा थिए। ऋषि, हेमराज कँडेलसहित हामी तीन जना चाहिँ माओको सन्देश बोकेर आफ्नै गाउँतिरका गरीब किसानलाई जगाउने, संगठित तुल्याउने र क्रान्ति गर्ने उद्देश्यले बुर्जुवा पढाइ नै छोडेर गाउँ जाने तयारीमा लाग्यौं। 

वास्तवमा मैले त एक वर्षअघि नै बुर्जुवा शिक्षा नलिने भनेर छोडिसकेको थिएँ। काठमाडौ बस्न आवश्यक परेकाले मात्रै २०२३ सालमा छात्रावासमा बसेर पहिलो वर्ष शास्त्री परीक्षा दिएको थिएँ। त्यो योग्यतालाई मैले क्रान्तिका लागि उपयोग गरेको सम्झेको थिएँ। हाम्रा यी गतिविधिप्रति सहयोग र सहानुभूति राख्ने पीताम्बर अधिकारी, शेषमणि आदिलाई हामीले गाउँमा आधार तयार भएपछि मात्रै संलग्न गराउने सोचेका थियौं। 

दशैं अगाडि नै हामीले छात्रावास परित्याग गर्‍यौं। काठमाडौंबाट हामी विहारको मुङ्गेर जिल्लामा पर्ने बरौनी गयौं। मैले पहिले नै तयार गरेको नक्सलवादीहरूको त्यो सम्पर्क केन्द्रमा ऋषिजीलाई पनि लिएर गएँ। केही दिन त्यहाँ बस्दा विस्फोटक आदिका केही प्रशिक्षण उहाँले लिनुभयो। 

त्यहाँ हामीलाई गर्मीले अस्तव्यस्त नै तुल्यायो। खासगरी ऋषिजीलाई असह्य भयो। अनि हामी कम चल्तीको बाटो हुँदै आफ्नो गाउँ फिर्‍यौं।  दशैँको बेला छ, काठमाडौं पढ्न गएका हामी गाउँका पण्डितका छोराहरू गाउँमा त पुग्यौं, तर घर गएनौं। 

हामीमा गृहत्याग गर्नुपर्छ, भूमिगत बसेर काम गर्नुपर्छ, नत्र गाउँमा हल्ला हुन्छ, प्रहरीले पक्राउ गर्छ र काममा सफल भइन्न भन्ने थियो। फेरि घरमा बा आमाले पनि बाधा पुर्‍याउँछन्‌ भन्ने मात्र होइन, सर्वहारा चरित्रको विकास गर्नुपर्छ भनेर पनि आफ्नै गाउँमा भूमिगत बस्यौँ। 

मेरो घरभन्दा करिब ३ सय मिटर तलतिर रहेको श्रीधन धौलाकोटी नामका सार्कीको घर थियो। गाउँ पुगेको दिन हामी रात परेपछि त्यही गयौँ। श्रीधन अर्थात् सिरधने। सार्की साक्षर थिए। उनी केही सचेत र परिवर्तन हुनुपर्छ भन्ने आग्रह राख्थे। 

उनी रामायण र कृष्ण चरित्रका श्लोक पढ्थे। यद्यपि गाउँमा गाईगोरु मर्दा छाला काडेर मादल, जुत्ता आदि बनाउँथे। मैले पहिले नै उनलाई जनताको जनवादी शासन (गरीबको राज) बारे धेरै कुरा सिकाएकै थिएँ। 

यसपटक क्रान्तिकै तयारी गर्न आएका भनेर राति ८ बजेतिर दुईजना उनको घरमा पुग्यौ|। हामीले भन्यौं, ‘झोला पनि साथै छ। अब हामी घर जाँदैनौ, हामीलाई भोक लागेको छ, खाना बनाउनुस्।' एक छिन पत्याएनन् , एकछिन अकमक्क परे। के भन्ने, के नभन्ने भयो उनलाई। 

दलितको पनि दलित थिइन् उनकी पत्नी। बिचरा लोग्नेले कुटेर थिलथिलो शरीर, मैला कपडा, ​जिङ्रिङ् परेको कपाल, कपाल कन्याउँदै उनले नाइनास्ति नगरी लोग्नेको आदेश बमोजिम गुन्द्रुक र ढिँडो तयार गरिन्। हामीले मजाले खायौँ, क्रान्तिका योजना सुनायौं, केही सल्लाह पायौं, केही आश्वासन! 

खाना खाइवरी रात छिप्पिएपछि झोला बोकेर घरतिर नगएर घरभन्दा तलको सालघारीमा तिलबारी भन्ने ठाउँको पाङ्ठालीको डिही खाली थियो, त्यहिँ गएर परालमा सुत्यौं। सुत्नेबेलामा मैले मनमा सोचें-म त पहिले पनि यसरी हिँडेकै हुँ। 

मभन्दा सम्पन्न, अध्यापक पण्डित गुरुका छोरा ऋषिजी पहिलोपटक यसरी गाउँमै आएर पनि घर छोडेर हिँड्नु भएको छ, यसमा म त सफल भएँ, तर उहाँलाई कति कष्ट होला ? उहाँसँग यो कुरा गरेको त उहाँ त झन् खुसी पो ! भोलि के के गर्ने कार्ययोजना बताउन थाल्नुभयो। यसरी त्यो २०२४ सालको दशैं हामी घर नगई गरीब जनताका घर घुमेर बिताएका थियौं। 

(अधिकारी पुराना पत्रकार हुन्।)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.