|

लमजुङ : अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ सडक तीन दिनदेखि अवरुद्ध भएको छ। लमजुङ र मनाङ जोड्ने बेँसीशहर–चामे सडकखण्ड अन्तर्गत बेँसीशहर नगरपालिका र मर्स्याङ्दी गाउँपालिका अन्तर्गतका विभिन्न खण्डमा पहिरोले सडक अवरुद्ध भएको हो।

लमजुङको बेँसीशहर नगरपालिका–६ पुवाखोलादेखि नै सडक अवरुद्ध भएको छ। यस्तै, बेसीशहरकै खरखरे भीरमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ। निरन्तर वर्षा भइरहेकाले सडक सञ्चालन गर्न नसकिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ।

मर्स्याङदी गाउँपालिका–४ घोप्टे खोलामा बेलीब्रिज राख्ने काम पनि रोकिएको छ। खोलामा बाढी र पहिरोले बेलीव्रिज निर्माण कार्य रोकिएको हो।

वर्षाका कारण विभिन्न स्थानमा झरेका पहिरोले स्थानीय ग्रामीण सडकहरु पनि अवरुद्ध बनेका छन्। पहिरोले दोर्दी गाउँपालिकामा केही घरहरु पनि जोखिममा परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख प्रहरी नायब उपरिक्षक गंगाबहादुर थापाका अनुसार दोर्दी–८, बन्सारका गोरे दमैको घर उच्च जोखिममा परेको छ। घरभन्दा तल पहिरो गएसँगै घरको पिढी र आगन चर्किन थालेपछि उनिहरुलाई नजिकै आफन्तको घरमा स्थानान्तरण गरिएको छ।

यसैगरी दोर्दी–५, पाचोकमा पनि पहिरोका कारण केही घरहरु जोखिममा परेका छन्। पाचोकको छैलुङ गाउँमा करिब २० घर सँगै गोठ तथा धन्सारहरु पाहिरोको जोखिममा परेको स्थानीयले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.