|

काठमाडौं : कप्तान केएल राहुलको कीर्तिमानी शतकमा किंग्स इलेभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरलाई ९७ रनले पराजित गरेको छ। 

टस हारेपछि ब्याटिङ निम्तो पाएको पन्जाबले दुबई अन्तर्राष्ट्रिय रंगशालामा राहुलको १ सय ३२ रनमा ३ विकेट गुमाई २ सय ६ रन बनायो। जवाफमा बेंग्लोर १७ ओभरमा १ सय ९ रनमा अलआउट भयो।​

आईपीएलमा राहुलको यो दोस्रो शतक हो । १७ र १८ औं ओभरमा दुवै पटक बेंग्लोरका कप्तान विराट कोहलीले क्याच छाडेको भरपुर फाइदा उठाउँदै राहुलले करुण नैरसँग अन्तिम २८ बलमा ७८ रन जोडेका थिए। त्यसमा नैरको योगदान ८ बलमा दुई चौकासहित अविजित १५ रन थियो। 

राहुलले १९ औं ओभरमा डेल स्टेयनलाई ३ छक्का र २ चौका गरी २६ रन प्रहार जोडे। राहुलले ६९ बलमा १४ चौका र ७ छक्का प्रहार गरे। उनले मायंक अग्रवालसँग पहिलो विकेटमा ७ ओभरमा ५७ रन जोडेका थिए। 

पञ्जाब पहिलो खेलमा दिल्लीसँग सुपर ओभरमा पराजित भएको थियो। बेङलोरले पहिलो खेलमा सनराइजर्स हैदराबादलाई पराजित गरेको थियो। प्रतियोगिता अन्तरगत आज चेन्नाई सुपरकिंग्स र दिल्ली क्यापिटलबीच खेल हुनेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.