|

विराटनगर : प्रदेश १ का उद्योगी व्यवसायीले दुई वर्षदेखि निर्माणको काम रोकिएको भारतको बथनाहादेखि मोरङको कटहरीसम्मको रेलमार्गको काम अघि बढाउन माग गरेका छन्। सीमावर्र्ती भारतीय बजार बथानाहादेखि कटहरीसम्मको रेलमार्ग निर्माणको काम पुनः सुरु गर्न रेल विभागका महानिर्देशकलाई पत्राचार समेत गरेका छन्।

मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा र उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेको संयुक्त हस्ताक्षरमा प्रेषित पत्रमा भारत सरकारसँग आवश्यक पहल गरेर यथाशीघ्र रेलमार्ग निर्माणको काम अघि बढाउन पहल गर्न भनेका छन्। साथै, रेलमार्ग निर्माणको कामलाई पुनः सुरु गर्ने वातावरण तयार गर्नका लागि पहल गरिदिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित अन्य विभागीय मन्त्रालयका मन्त्रीहरुसँग पनि आग्रह गरेका छन्।

उद्योगी व्यवसायीले रेलमार्ग निर्माणले आर्थिक गतिविधि बढ्ने, सर्वसाधारणलाई आवतजावतमा सहज हुने तथा कोलकाता र विशाखापट्टनम बन्दरगाहबाट तेस्रो मुलुकसित हुने आयात–निर्यात व्यापारको कार्गो सिधा आउन सहज हुने र व्यवसायीहरू डिटेन्सन र ड्यामरेज शुल्कबाट मुक्त हुने बताउँदै आएका छन्।

मोरङको बुधनगर–कटहरी अपुरो अवस्थामा रहेको रेलमार्गको निर्माण काम रोकिको दुई वर्ष भएको छ। जसका कारण रेलमार्गको निर्माण नै अनिश्चित बन्दै गएको छ। नेपालतर्फ जग्गाको मुआब्जा विवाद सुल्झिन नसक्दा बुधनगर–कटहरी रेलमार्गको निर्माण रोकिएको हो। ११ वर्षदेखि मुआब्जा विवाद सुल्झिन सकेको छैन।

भारत सरकारको सहयोगमा सन् २०११ मा बथनाहा–विराटनगर–कटहरी रेलमार्ग निर्माणको काम सुरु भएको थियो। जसमा भारत र नेपालको सीमा क्षेत्रको स्टेशनबाट कटहरीसम्म १० किलोमिटर जग्गामध्ये अहिले पनि तीन किलोमिटर क्षेत्रमा जग्गा विवादले कायम छ। कटहरी क्षेत्रको तीन किलोमिटर आसपास बस्दै आएका सर्वसाधारणले मुआब्जा उपलब्ध नगराएसम्म कटहरीमा स्टेशन निर्माणसँगै रेलमार्ग विस्तारको काम गर्न नदिने बताउँदै आएका छन्। जग्गा मुआब्जा विवाद सर्वेाच्च अदालतसम्म पुगेको छ।

२०६८ सालमा नै रेगमार्ग निर्माणका लागि स्थानीयलाई मुआब्जा दिई जग्गा अधिग्रहण गर्ने निर्णय भएको थियो। सरकारले अधिग्रहण गरेको ११९ बिघा जग्गाका ५६५ धनीमध्ये २६ जनाले मुआब्जा बुझ्न बाँकी छ। कटहरी क्षेत्रको जग्गा हस्तान्तरण नभएका कारण १ दशमलब ८ किलोमिटर क्षेत्रमा ट्रयाक खोल्ने काम बाँकी रहेको छ।

सन् २०११ बाट बथनाहा–विराटनगर–कटहरीसम्मको कुल १८ दशमलव ६ सय मिटर लामो रेलमार्ग विस्तारको काम सुरु भएको थियो। नेपालतर्फको रेलमार्ग निर्माणका लागि अझै आठ किलोमिटर क्षेत्रमा लिक बिछ्याउन बाँकी छ। भारतीय इरकोण इन्टरनेसनलले नेपालतर्फको भेडियारीबाट उत्तर पाँच किलो मिटर क्षेत्रसम्म मात्र लिक बिछ्याएको छ। त्यसैगरी भेडियारीमा कस्टम यार्ड निर्माणको काम पनि पूरा भइसकेको छ।

बथनाहाबाट विराटनगर कस्टम यार्डसम्म निर्माणाधीन रेल्वे लिकमा रेलको इन्जिन परीक्षण समेत गरिएको थियो। दुई वर्षअघि सञ्चालनमा आएको बथनाहादेखि बुधनगरसम्मको दूरी आठ किलोमिटरको रहेको छ। जसमा भारततर्फ पाँच र नेपालतर्फ तीन किलोमिटर दूरी छ।

सन् २०१९ डिसेम्बर १२ सम्म बथनाहादेखि बुधनगरसम्म रेल चलाउने योजनासहित निर्माण पक्षको काम गरेको थियो। भारतीय निर्माण कम्पनी इरकोण इन्टरनेसनलले नेपालतर्फको रेल लिक बिछ्याउन दुई अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ। निर्माण कम्पनीले बथनाहाबाट विराटनगरको भेडियारीसम्मको रेल मार्ग निर्माणका लागि कुल चार अर्ब ४८ करोडको खर्च भएको जनाएको छ। मुआब्जा विवाद नभएको भए एक वर्षअघि नै निर्माण काम पूरा भएर रेल मार्ग सञ्चालनमा आउनु पर्ने थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.