भक्तपुर : लगातारका वर्षाले भक्तपुरमा पाक्ने बेला भएको धान ढलेको छ। भक्तपुर तचपालका किसान विष्णु लवजूको चाँगुनारायण नगरपालिका–९ ताथलीस्थित खेतको धान सुकुल ओछ्याएजस्तै गरी ढलेको छ।
उनको परिवारका सदस्य लागेर ढलेको धान उठाएका छन्। ‘ठूलो पानी पर्यो, बोटले ठाम्नै सकेन, अझ हावा पनि बेस्कन चल्यो, धान ढल्यो’ किसान लवजूले भने, ‘नउठाइ सुखै छैन। नउठाए पानी जमेको खेतम लत्रेको धानै टुसाउँछ।’
किसान लवजूको मात्र होइन, भक्तपुरका अधिकांश किसानको धान ढलेको छ। केही दिन यता परेको अविरल वर्षासँगै चलेको हावाहुरीका कारण सयौं रोपनीमा लगाइएको धानबालीढलेर क्षति पुगेको छ। पाक्ने बेलाको धान ढलेर सोत्तर भएपछि किसानहरु चिन्तित बनेका छन्। पाक्ने बेलामा धान ढलेपछि गेडा पुष्टिन नपाउने हुँदा उत्पादनमा समेत गिरावट आउने भएपछि किसान चिन्तित बनेका हुन्।
‘जेठ, असारमा लगाएको धान अहिले पाक्ने तरखरमा थियो, केही दिनमै काट्न समेत तयारी थियो,’ चाँगुनारायण नगरपालिका–९, फैढोकास्थित खेतमा धान ढलेको बाँध्दै गरेका किसान आशमति कोजूले भनिन्, ‘तर अत्याधिक परेको पानीले धान ढलेको छ, हाम्रो मिहिनेत खर जाने भयो।’ कतै पँहेलपुर भइसकेको, कतै भने पुष्ट हुने बेलाको धान ढलेको छ। कोजूले भनिन्, ‘सुकुल ओछ्याएको जस्तै गरी धान लडेको छ, सोत्तरै भयो।’
धान ढलेपछि यो वर्षको मिहेनत खेर जाने सम्भावना बढेको अर्का किसान केशव खड्काले बताउँछन्। ‘असारमा मानो रोपेर मुरी फलाउने किसानहरुको सपना खत्तम भएको छ,’ उनले भने, ‘भएको धान पनि अब भुस होला कि भन्ने लागेको छ।’
पानीसहितको हावाहुरीले लहलह झुलेको धानमा असर पुगेको कृषि सेवा केन्द्र झौखेलका प्रमुख मणिराम दवाडीले बताए। उनका अनुसार क्षतिको विस्तृत विवरण भने आइसकेको छैन। धेरै किसानले लगाएको धानबालीमा क्षति पुगेको र धान ढलेको जानकारी दिँदै सोही कारणले यो वर्षको धान उत्पादनमा असर पर्न सक्ने उनले बताए।
यो वर्ष लगाएको स्थानीय ताइचुन, मन्सुली, खुमल जातका धानमात्र नभएर हाइब्रिड धान पनि लडेको किसानहरुले जानकारी दिएको दवाडीले बताए। वर्षाले मात्र नभई किसानहरुले बढी उत्पादन गर्ने लोभमा अत्याधिक मात्रामा रासायनिक मलको प्रयोग गर्नु, धान बाक्लो गरी रोप्नु, बिउको उपचारै नगरी रोप्नाले पनि धान ढल्ने सम्भावना रहने दवाडीले बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।