|

सोलुखुम्बु : करेन्ट लागेर मृत्यु भएका माप्यदुधकोशी गाउँपालिका–५ का वडा अध्यक्ष निमराज तामाङको परिवारलाई २५ लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने सोलुखुम्बुका सांसदहरुले माग गरेका छन्। प्रतिनिधिसभा र प्रदेशसभा सांसदसहितको टोलीले पीडित परिवारलाई तत्काल राहतको व्यवस्था गर्न माग गरेका हुन्।

नेकपा प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले क्षतिपूर्ति दिने सवालमा आनाकानी नगर्न कम्पनीसँग आग्रह गरेका छन्। कम्पनीले लाइनको व्यवस्थापनमा ध्यान नदिई आम्दानीतर्फ मात्रै ध्यान दिँदा दुर्घटना भएको सांसद राजभण्डारीको दाबी छ।

सल्लेरी च्याल्सा विद्युत् कम्पनीको हाइटेन्सन लाइनलाई व्यवस्थित बनाउन  सोलुखुम्बुका सांसदहरुले माग गरेका छन्। बिहीबार कम्पनीका प्रतिनिधि र सरोकारवालाबीच भएको छलफलमा जोखिम क्षेत्रको तारलाई  तत्काल व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य हेमकुमार राईले माग गरेका छन्।

अव्यवस्थित तारका कारण मानवीय क्षति भएको बताउँदै सांसद राईले यस्ता तारलाई तत्काल व्यवस्थापन गर्नुपर्नेमा जोड दिए। छलफलमा प्रतिनिधिसभा सदस्य हेमकुमार राई, प्रदेशसभा सदस्यद्वय बुद्धिकुमार राजभण्डारी, उत्तम कुमार बस्नेत र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको उपस्थिति थियो।

कसरी भयो तामाङको मृत्यु ?

मंगलबार बिहान खाजा खाएर भान्साघर व्यवस्थामा जुटेका वडा अध्यक्ष तामाङले १० एमएमको फलामे रड बोकेर घरको छत तर्फ लागेको परिवारका सदस्य बताउँछन्। उनका पत्नी सीता तामाङ घरको झ्यालमा बसेर हेरिरहेकी थिइन्। छोरी छतमा बुबाले दिएको रड तान्ने तरखर र ९ वर्षीय छोरा बुवाको पछि पछि हिँडिरेका थिए।

त्यही बेला मोबाइलमा घण्टी बजेपछि फोन झिकेर बोल्दै एउटा हातले रड उचाल्दा घरभन्दा होचो रहेको हाइटेन्सन लाइनमा छँुदा एक्कासी ढलेको उनको पत्नी सीताले बताइन्। यसपछि सीतासहितले तत्काल सोलु हेल्थ कियर लगेका थिए।

प्रत्यक्षदर्शी छिमेकी वीरउदास श्रेष्ठका अनुसार करिब २० मिनेटमा जिल्ला अस्पताल पुर्याए पनि डाक्टरले मृत घोषणा  गरेका थिए। सल्लेरी च्याल्सा विद्युत् कम्पनीले तानेको हाइटेन्सन लाइन घर नजिकै र अलि होचो हुँदा दुर्घटना भएको प्रत्यक्षदर्शी कुञ्जाङ शेर्पाले बताउँछन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.