उच्च सुरक्षाअधिकारीसहितको टोली छाङ्‍रुमा

|

दार्चुला : सशस्त्र प्रहरीको सीमा सुरक्षा गुल्म भवन शिलान्यास गर्न दार्चुलाको ब्याँस पुगेका गृहमन्त्री रामबहादुर थापा बादल एक रात अतिक्रमित भूमि कालापानी नजिकै बस्‍ने भएका छन्।

 गुल्म भवनको शिलान्यासका लागि ब्याँस पुगेका गृहमन्त्री थापासहितको टोली राति छाङ्‍रुमै बस्‍ने भएका हुन्।

शुक्रवार दिउँसो सशस्त्र प्रहरीको गुल्म भवन शिलान्यास गरेपछि मन्त्री थापासहितको टोली छाङ्‍रुमै बस्‍ने कार्यक्रम तय गरिएको सुरक्षा स्रोतले जानकारी दिएको छ।

सशस्त्र प्रहरीको भवन शिलान्यास गर्न गृहमन्त्री थापा शुक्रबार दिउँसो १२ बजे व्याँस गाउँपालिकाको वडा नम्बर-१ छाङ्‍रू पुगेका थिए।

छाङरुमा स्थापना गरिएको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्म भवनको आजै शिलान्यास हुँदैछ। छाङ्‍रुमा गृहमन्त्री थापा, सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्‍वर न्यौपाने र दार्चुलाका संसद गणेश सिह ठगुन्‍ना पुगेका छन्। यसअघि छाङ्‍रु पुगेर फर्किएका गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई पनि टोलीमा छन्। 

ब्याँस गाउँपालिकाको छाङ्‍रु नेपालको अतिक्रमित क्षेत्र कालापानीभन्दा झण्डै १२ किलोमिटर दक्षिणमा पर्दछ। गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णय अनुसार छाङ्‍रुमा  सशस्त्र प्रहरीको गुल्म स्थापना गरिँदैछ। 

भारतबाट अतिक्रमित भूमि नजिकको व्यासको छाङ्‍रुमा स्थापना गरिएको सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका लागि  ठेक्का प्रक्रियाबाट भवन निर्माण गरिन लागेको छ।

त्रिदेशीय सीमाक्षेत्रको सुरक्षाका लागि छाङ्‍रुमा वैशाख ३१ गते बिओपी स्थापना गरिएको थियो। असार २८ गतेको मन्त्री परिषद्ले त्यहाँ गुल्म राख्‍ने निर्णय गरेको थियो।

नेपाली सेनाको हेलिकोप्टरमार्फत छाङ्‍रु पुगेका गृहमन्त्रीले शुक्रवार नै भवन निर्माणको शिलान्यास गर्दैछन्। शुक्रवार शिलान्यास गरेर शनिवार गृहमन्त्रीको टोली व्यासबाट सदरमुकाम फर्किने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए।

१० करोड बजेट

सशस्त्र प्रहरीको भवन निर्माणका लागि करिब १० करोड विनियोजन गरिएको छ। ललितपुर उपमहानगरपालिका वडा नम्बर ४ इमाडोलको सिएबी ग्वाल्लेक नाति जेभी निर्माण कम्पनीले भवन निर्माणको जिम्मा पाएको छ।

भ्याटबाहेक ८ करोड ८६ लाख २४ हजार ३ सय ४ रुपैयाँ १४ पैसाको लागत भवन निर्माणको ठेक्का सम्झौता गरिएको छ।

उक्त निर्माण कार्य एक वर्षभित्र सक्नु पर्नेछ। जेठ ८ गते भवन निर्माणको टेण्डर निकालिएकामा भदौ अन्तिम साता मात्रै ठेक्का सम्झौता गरिएको थियो। भदौ १६ गते ठेक्का स्वीकृत गर्ने आशयको सूचना निकालेर सशस्त्र प्रहरीको हेडक्वार्टरले सम्झौता गरेको थियो।

त्यस क्षेत्रमा तीन तलाको व्यारेक भवन, शौचालय, ब्यारेक, कार्यालय भवन र प्रवेशद्वार पनि बनाइनेछ।

 

हिउँदको सिजनमा सशस्त्र प्रहरीको टोली राख्‍न केही कोठा तयार गरिने सशस्त्र प्रहरीको योजना छ। सशस्त्र प्रहरीको प्राविधिक टोली समेत निर्माणस्थलमा खटिने छ।

सशस्त्र प्रहरीको हेडक्वार्टरबाट प्राविधिक तर्फका डिएसपी मिलन राज मास्के र सई चन्द्रबहादुर रोकाया फिल्डमा खटिने छन्। छाङरुस्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मको नेतृत्व डिएसपी धीरेन्द्र शाहले गरिरहेका छन्। यसअघि बिओपीको संरचनामा सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दको कमाण्ड थियो।

को को छन् टोलीमा

दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश सिंह ठगुन्‍ना, गृहसचिव महेश्वर न्यौपाने र सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र थापा व्यासको छाङरु पुगेका छन्।

गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेल, नेपाली सेनाका सहायक रथी पवनराज घिमिरे, वैकल्पिक ऊर्जा प्रवद्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारी पनि टोलीमा सहभागी छन्।

पत्रकारहरुको आपत्ति

गृहमन्त्रीको भ्रमणको कार्य तालिकाबारे दार्चुलाका पत्रकारहरुलाई जानकारी नगराइएको भन्दै पत्रकारहरुले बिरोध गरेका छन्। जिल्लास्थित सरकारी अधिकारीहरुले जहिले पनि मिडियालाई हेप्ने गरेको पत्रकार भोजराज जोशीले बताए।

गृहमन्त्रीसहित उच्च तहबाट दार्चुला जिल्लाको भ्रमण हुँदा नागरिक स्तरको चासो र सरोकार हुनु स्वभाविक छ।

नागरिककै चासो र सरोकारको विषयलाई जोड्न जिम्मेवारी बोकेको मिडियालाई  जिल्लास्थित स्थानीय प्रशासन र सशस्त्र प्रहरी गणका प्रमुखबाट गरिएको व्यवहार खेदजनक रहेको भन्दै नेपाल पत्रकार महासंघ दार्चुला शाखाले विज्ञप्ति नै निकालेको छ।

'गृहमन्त्री जस्तो उच्चस्तरको भ्रमण हुँदा प्रमुख जिल्ला अधिकारी र गणपति नै जानकारीविहीन हुने अवस्था हो भने योभन्दा गैरजिम्मेवार र दयनीय अवस्था के हुन् सक्छ ?', विज्ञप्तिमा भनिएको छ, 'नियतवश सञ्चारकर्मीलाई जानकारी उपलब्ध नगराइएको हो भने  यी गलत र खेदजनक प्रवृत्ति हुन्,' शाखा अध्यक्ष शंकर सिंह धामीले उल्लेख गरेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.