|

लमजुङ : लमजुङ प्रशासनले अनधिकृत विक्रीमा राखिएका पेट्रोलियम पदार्थ बरामद गरेको छ। बजार अनुगमनका क्रममा जिल्लाको सुन्दरबजार र बेंसीशहरका विभिन्न पसलबाट अनाधिकृत विक्रीमा राखिएको पेट्रोल तथा डिजेल बरामद गरेको हो।  

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा गएको अनुगमन टोलीले बेंसीशहर र सुन्दर वजारबाट गरी एक सय ९० लिटर पेट्रोल र दुईसय १० लिटर डिजेल बरामद गरेको हो। 

प्रशासनका अनुसार बेंसीशहर नगरपालिका–१, उदिपुरस्थित गुरुङ भाँडा पसलबाट मात्रै एक सय ४७ लिटर पेट्रोल बरामद भएको हो। 

उक्त पसलबाट ३५ लिटरको चार ग्यालिन पेट्रोल, एक लिटरका सात बोतल गरी एक सय ४७ लिटर पेट्रोल बरामद गरेको प्रशासनले जनाएको छ।

यसैगरी सुन्दरबजार–६, क्याम्पस गेट नजिकै रहेको आदिबासी सप्लायर्सबाट  दुईसय १० लिटर डिजेल बरामद गरेको प्रशासनले जनाएको छ। 

त्यही पसलबाट एक लिटरका २३ बोतल, एक दशमलव ५ लिटरका आठ बोतल र दुई लिटरका चार बोतल गरी ४३ लिटर पेट्रोल बरामद भएको प्रशासनले जनाएको छ। 

अनुगमनका क्रममा डिजेल–पेट्रोल भर्न राखिएका पाँच वटा ड्रम, दुईवटा ग्यालिन र १० लिटरको टिनको जगसमेत बरामद भएको प्रशासनले जनाएको छ। 

अनुगमनको क्रममा अनाधिकृत रुपमा डिजेल र पेट्रोल बरामद गरी आवश्यक अनुसन्धान र छानविन भईरहेको पनि प्रशासनले जनाएको छ। 

अनाधिकृत डिजेल पेट्रोल विक्री वितरण गर्नेहरुलाई प्रचलित कानुन अनुसार कारवाही समेत गरिने लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्माले बताए  ।

केही समय अघि मात्रै प्रशासनले सरोकारवाला निकायको समन्वयमा बेंसीशहर, सुन्दरबजार लगायतका ठाउँहरुमा रहेका मेडिकल तथा औषधीजन्य पसलहरुको अनुगमन गरेको थियो। 

चाडपर्व नजिकिएसँगै लमजुङ प्रशासनले बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ। क्रमिक रुपमा खाद्यान्न तथा अन्य पसलहरुको पनि अनुगमन गरिने लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.