|
संक्रमितहरू निको भएपछि फूलमाला लगाएर बिदाई गरिँदै ।

सिन्धुली : कोरोना महामारी नियन्त्रण गर्न भन्दै सिन्धुलीका स्थानीय सरकारहरूले नौ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेका छन्‌। 

कमलामाई नगरपालिकाले मात्रै कोरोना रोकथाम तथा नियन्त्रणका लागि सवा दुई करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ। महामारी शुरू भएदेखि गत भदौ ११ गतेसम्ममा नगरपालिकाले २ करोड १४ लाख ४१ हजार ३ सय ३५ रुपैयाँ ३५ पैसा खर्च गरेको कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिएका छन्‌।

जिल्लामा दुई नगरपालिका र सात गाउँपालिका गरी नौ स्थानीय तह छन्‌। यी स्थानीय तहमा कोरोना नियन्त्रणका लागि भन्दै ८ करोड ८२ लाख ८० हजार ८ सय १७ रुपैयाँ ४१ पैसा खर्च गरेको पाइएको छ।

महामारी शुरू भएदेखि आरडिटी तथा पीसीआर टेष्ट, उपचार, क्वारेन्टाइन तथा आइसोलेसन निर्माण तथा व्यवस्थापन, राहत वितरण, स्वास्थ्य सुरक्षा सामग्री तथा औषधि खरिद, जोखिम भत्तालगायत विभिन्न शीर्षकमा उक्त रकम खर्च भएको जिल्लाका स्थानीय तहहरुले जानकारी दिएका छन्।

जिल्लाको दुधौली नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि एक करोड ६७ लाख १ हजार ४ सय ६७ रुपैंयाँ खर्च गरेको छ। मरिण गाउँपालिकाले पनि गत असार मसान्तसम्ममा ९६ लाख ५० हजार ८ सय ६६ रुपैयाँ खर्च भएको जनाएको छ।

तिनपाटन गाउँपालिकाले १ करोड २३ लाख ३२ हजार ९ सय ७९ रुपैंया खर्च गरेको गाउँपालिका अध्यक्ष कर्णबहादुर थापामगरले जानकारी दिए। फिक्कल गाउँपालिकाले कोरोना रोकथाम शीर्षकमा ६८ लाख ७५ हजार रुपैयाँ खर्च गरेको छ।

घ्याङलेख गाउँपालिकामा गत असार मसान्तसम्ममा ५९ लाख ६३ हजार ९ सय ९२ रुपैंयाँ खर्चगरिएको प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले जानकारी दिए।

हरिहरपुरगढी गाउँपालिकाले ६१ लाख ६९ हजार ६७९ रुपैयाँ, सुनकोसी गाउँपालिकाले १३ लाख ४१ हजार ५४ र गोलन्जोर गाउँपालिकाले ७६ लाख ९४ हजार ६९ रुपैयाँ खर्च गरेको जनाएका छन्। हरिहरपुरगढी र गोलन्जोर गाउँपालिकाले राहत र स्वास्थ्य सुरक्षा भत्तामा सबैभन्दा बढी रकम खर्च गरेका हुन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.