बचत रकम लिन कार्यालय घेराउ

|

झापा (भद्रपुर) : के तपाईं व्यवसाय तथा घरायसी प्रयोजनका लागि वित्तीय संस्थाको समूहमार्फत ऋण लिँदै हुनुहुन्छ? ऋण लिएको रकम पनि तपाईंले समयमै चुक्ता गरिसक्नुभएको छ ?

छ भने : एक पटक वित्तीय संस्थामा पुगेर तपाईंको खाता बन्द भएको छ वा छैन, आवश्यक कागजात राम्ररी केलाएर हेर्नुहोला है ! अन्यथा तपाईंले बुझाएको ऋणको रकम कर्मचारीले गोजीमै राखेर तपाईंलाई ऋणी कायमै राखेको हुनसक्छ।

हो, झापामा यस्तै घटना घटेको छ। नाडेप लघुवित्त वित्तीय संस्थाबाट ऋण लिएर पनि चुक्ता गरिसकेका समूह सदस्यहरूलाई अहिले नलिएको ऋणले पिरोलेको छ।

नेपाल राष्ट्र बैङ्कले ‘घ’ वर्गको इजाजतपत्र दिएको नाडेप लघुवित्तको केन्द्रीय कार्यालय धादिङको गजुरीमा छ। कारोबार विस्तार गर्दै झापासम्म पुगेको यो लघुवित्त वित्तीय संस्थाका कर्मचारीहरूले झापाका सदस्यहरूकै किर्ते हस्ताक्षर गरी आर्थिक अनियमितता गरेका हुन्‌। 

बाह्रदशी गाउँपालिका–६ काँक्रामारी निवासी देवका सङ्ग्रौलाले करिब ८ वर्षअघि नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड उपशाखा बिर्तामोडबाट ५० हजार रुपैयाँ ऋण लिएकी थिइन। 

तत्कालीन डाँगीवारि गाविसको काँक्रामारीमा नाडेपले महिला समूह गठन गर्दै ऋण तथा बचतको कार्यक्रम सञ्चालन गरेपछि सङ्ग्रौला पनि समूहमा आवद्ध भएकी थिइन्‌। समूहमा आवद्ध भएपछि उनले बचत तथा ऋणको कारोबार गर्न थालिन्‌।

सङ्ग्रौलाले आठ वर्षअघि संस्थाको केन्द्र नम्बर ९३ मा सदस्य बन्दै ५० हजार रुपैयाँ ऋण लिएको र पाँच वर्षअघि नै आफूले लिएको ऋण चुक्ता गरिसकेको बताएकी छिन्‌। 'तर, संस्थाले मेरो नाममा अहिले आएर एक लाख ७५ हजार रुपैयाँ ऋण देखाएको छ,' ऋण चुक्ता गरेर अमेरिका आफू अहिले अमेरिकामा रहेको बताउँदै उनले भनिन्‌, ‘दुई छोरा अमेरिकामा छन्, एउटा छोरा काठमाडौँ बस्छन्, मैले लिएको ऋण त्यति बेला तिरेर छोरा कहाँ गएको हुँ, बचत रकम खातामै रकम जम्मा थियो।’ १५ वर्षमा धेरै पैसा जम्मा हुने कर्मचारी बताएपछि आफूले बचत रकम नझिकेको बताउँदै उनले थपिन्‌, ‘अहिले आएर हेर्दा बचत २२ हजार रुपैयाँ पुगेछ, त्यो रकम मैले पाउनुपर्‍यो, मेरो नाममा कुनै ऋण छैन।’ 

आफूले लिँदै नलिएको ऋण संस्थाले तिर्न भन्दै पटक-पटक ताकेता गरेपछि संस्थाका कर्मचारीले गर्दै आएको कर्तुत बाहिरिएको दमककी राधा उप्रेतीले बताइन्। ११ वर्षअघि समूहमा बसेर ऋण र बचत दुवै गरेको सुनाउँदै उनले भनिन्, ‘पाँच वर्षदेखि संस्थासँग मेरो कुनै आर्थिक कारोबार भएको छैन, अहिले आएर मेरो नाममा १ लाख ३६ हजार रुपैयाँ ऋण देखाउँदा छक्क परेको छु, ५० जनाको समूह थियो, त्यस बेला दुई जना बाहेक सबैको यस्तै समस्या रहेको अहिले थाहा भएको छ।’ 

बाह्रदशी ६ बस्ने डिल्लीराम कँडेलको पनि समस्या उस्तै छ। कँडेलकी श्रीमती कल्पनाले पनि समूहमा आबद्ध भएर बचत तथा ऋणको कारोबार गरेकी थिइन्।

कारोबार गर्ने क्रममा समूहबाट लिएको सबै ऋण चुक्ता गरेर चार वर्षअघि नै उक्त समूहबाट बाहिरिएपनि श्रीमतीको नाममा संस्थामा अझै ऋण रहेको उनका श्रीमान् डिल्लीरामले बताए।

समूह सदस्यले कार्यालय घेरे

संग्रौला, उप्रेती र कँडेल संस्थामा आबद्ध प्रतिनिधि मात्रै हुन्। उनीहरू जस्ता समूहमा आबद्ध धेरैले अहिले यही समस्या झेलिरहेका छन्।

संस्थाको समूह नम्बर ९३ मा रहेका सबैजसो सदस्यका नाममा लिँदै नदिएको ऋण देखाएपछि सो समूहका सदस्य र सर्वसाधारणले संस्थाको उपशाखा कार्यालय बिर्तामोड घेराउ गर्दै आफूहरूले बचत गरेको रकम फिर्ता गर्न माग गरेका छन्। 

नाडेप वित्तीय संस्थाका उपशाखा बिर्तामोडका प्रमुख राजेन्द्र खतिवडाले यसअघि रहेका कार्यालय प्रमुखको बदमासीका कारण संस्थामा यस्तो समस्या आएको स्वीकारे।

समूहमा आवद्धमध्ये तिलककुमारी राई, प्रेमकुमारी पौडेल, लीला सङ्ग्रौला, मीना पौडेल, लीला कट्टेल, धनमाया लिम्बूलगायत दर्जन बढीको नाममा किर्ते हस्ताक्षर गर्दै संस्थाले २० लाख रुपैयाँ भन्दा बढी ऋण लगानी गरेको र उनीहरूले ऋण लिएको देखाइएको छ। तर, समूहमा आबद्ध सदस्यहरूले संस्थाबाट ऋण नलिएको र लिएको ऋण समेत चुक्ता गरेको बताउँदै आएका छन्। 

डिप्रोक्सको नामबाट यसअघि संस्थाले गाउँ-गाउँमा समूह गठन गर्दै बचत तथा ऋणका कार्यक्रम सञ्चालन गरेका थिए। तर, संस्थाको नाम परिवर्तनपछि नाडेप लघुवित्त वित्तीय संस्थाका नामबाट अहिले कारोबार भइरहेको छ।

संस्थाका कर्मचारीले समूहमा आबद्ध सदस्यको किर्ते हस्ताक्षर गर्दै रकम कुम्ल्याएपछि समूहमा आबद्ध अधिकांश सदस्यको उठीबास लागेको छ। यता नाडेप वित्तीय संस्थाका उपशाखा बिर्तामोडका प्रमुख राजेन्द्र खतिवडाले यसअघि रहेका कार्यालय प्रमुखको बदमासीका कारण संस्थामा यस्तो समस्या आएको स्वीकारे। संस्थामा आबद्ध ती कर्मचारीलाई निलम्बन गरिसकेको र सो विषयमा आवश्यक छानबिन समेत भइरहेको उनले बताएका छन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.