|

हेटौंडा  ः लामो समयदेखि आफू र अन्य एसिड पीडितको न्यायका लागि देशभर अभियान चलाएकी हेटौंडाकी विन्दावासिनी कंसाकार यतिखेर केही खुशी देखिएकी छिन्‌। कारण हो : सरकारले मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गर्नु। यो अध्यादेश पास भएपछि एसिड आक्रमण गर्ने अपराधीले थप कडा सजाय भोग्नुपर्नेछ। 

मिडियामा पहिलो चोटी सार्वजनिक भएको नेपालमा एसिड आक्रमण घटनाकी पहिलो पीडित कंसाकारले गत कात्तिकमा साढे ६ वर्षपछि न्यायको अनुभूत गरेकी थिइन्। आफूमाथि एसिड प्रहार गर्नेलाई प्रहरीले समातेपछि रिस थाम्न नसकेपछि पत्रकार र प्रहरीकै सामू आक्रमणकारी माथि झम्टिन पुगेकी थिइन्‌। 

प्रहरीकै अगाडि रुँदै झम्टिन पुगेपछि उनलाई समातेर शान्त बनाइएको थियो।

कडा कानून ल्याउन आग्रह

भारत महाराजगन्ज अमर पसर्वन–६ का दिलीप राज केशरी २०७० साल वैशाख ९ गते विन्दावासिनीलाई तेजाब प्रहार गरी विभिन्न स्थानमा लुक्दै-भाग्दै पुगेका थिए। 

बारा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक सागर शम्सेर जबराको नेतृत्वमा खटिएको विशेष टोली र मकवानपुर प्रहरीको टोलीले निजलाई पक्राउ गरी २०७६ कात्तिक १५ सार्वजनिक गरेको थियो।

सो दिन प्रहरी र पत्रकारको अगाडी केशरीलाई फाँसीको सजाय दिन विन्दावासिनीले भावुक हुँदै पुकार गरेकी थिइन्‌। तेजाब प्रहार गरेर भाग्नेलाई फाँसी दिन नसके जन्मकैदको सजाय दिनुपर्ने भन्दै गर्दा उनी निकै भावुक देखिइन्थिन्‌।

अन्ततः उनको माग पूरा भएको छ। नेपाल सरकारले एसिड (तेजाब) आक्रमण गर्नेहरूलाई कडा सजाय हुने गरी अध्यादेश ल्याएको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो। राष्ट्रपतिबाट यो अध्यादेश प्रमाणीकरण भएपछि कानूनका रूपमा कार्यान्वयनमा आउनेछ। 

एसिड आक्रमणबाट मृत्यु भएमा आक्रमण गर्नेलाई जन्मकैदको सजाय हुने व्यवस्था हालकै मुलुकी अपराध संहितामा छ। अध्यादेशले मुलुकी अपराध संहितामा एसिडसम्बन्धी अन्य कारबाहीलाई परिमार्जन गरी दोषीलाई थप सजाय हुने व्यवस्था गरेको छ। आँखा, कान, नाक, मुख, अनुहार, महिला भए स्तन र यौनाङ्गमा भएको क्षतिअनुसार १० देखि २० वा २० वर्षको कैद सजाय तोकिएको छ भने एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा ‘तेजाब आक्रमण गरी अंगभंग गर्ने उद्योग’मा मुद्दा चलाइनेछ। ती व्यक्तिहरूविरुद्ध कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुनसक्छ।

'कानून आउँदा एकदमै खुशी लाग्यो, कार्यान्वयन प्रभावकारी होस्‌' 

अध्यादेशमार्फत सरकारले ल्याएको कानून सबै एसिड पीडितको लागि खुशी मात्रै नभएर एसिड छ्याप्नेजस्तो अपराध गर्न तम्सिनेहरूमा कारबाहीको डर समेत बढाउने विन्दावासिनी बताउँछिन्‌।

​उनले खुशी हुँदै भनिन्, 'प्रधानमन्त्रीज्युसँग छलफल पछि हामीले एउटा आशा गरेका थियौं, त्यो आशा कानूनको रूपमा कार्यान्वयन हुँदैछ, एकदमै खुशी लागेको छ।'  उनले नेपालमा धेरै कानूनहरू बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको अवस्था रहेकाले यो काूनको प्रभावकारी कार्यान्वयन भए अपराधीहरू डराउने बताइन्‌।

एसिड पीडितहरूको लागि स्वास्थ्य अवस्था नेपालमा नाजुक भएको भन्दै उनले थपिन्‌, '“थुप्रै सर्जरीहरू विदेशमा गर्नुपर्ने हुन्छ। ती सर्जरीहरू नेपालमा हुन सके एसिड पीडितहरूको लागि झन न्याय हुन्थ्यो।' सरकारले गरिदिने भनेको उपचारका लागि पनि लामो र झन्झटिलो प्रक्रिया नभए राम्रो भन्दै उनले एसिड पीडितहरूको प्लाष्टिक सर्जरी र कस्मेटिक सर्जरीमा सरकारले ध्यान दिनुपर्ने थपिन्।

मनोबल उच्च पारे समाजको हेर्ने नजर बदलिन्छ 

कंसाकारले धेरै वर्ष रोएर घरमै बस्नुपर्‍यो। सुन्दररूपभएकी कंसाकारको जीवन एसिड आक्रमण भएको ३–४ वर्ष अन्धकारमा बिताउनुर्‍यो।

त्यसपछि उनी आफ्नो मात्रै नभई अरुको पनि न्यायको लागि अभियन्ताको रूपमा निस्किन थालिन्‌। समाजले के भन्छ भनेर घरमै बस्दा मनोबल घट्दै जाने, तर उच्च मनोबलको साथ अनावश्यक कुराको वेवास्ता गरेर अगाडी बढ्दा समाजले हेर्ने नजर बदलिएको उनको अनुभव छ।

उनले नेपालमा भएका एसिड आक्रमणमा परेकाहरूसँग नियमित भेटघाट गर्ने, सम्पर्क गर्ने  र हौसला बढाउने काम समेत गरिन्। बारम्बार  मिडिया, सामाजिक संस्था र विभिन्न माध्यमबाट एसिड छ्याप्नेलाई कडा कानूनको माग गर्दै आएकी कंसाकार बल्ल भने नेपालको कानूनप्रति खुशी देखिएकी छिन्‌।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.