काठमाडौं : पछिल्लो समय काठमाडौं उपत्यकालगायत मुलुकभरका कोभिड अस्पतालमा उपचारार्थ आएका कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। निको भएर जानेको पनि संख्या उल्लेख्य छ। कोरोना निदान गर्ने औषधि पत्ता नलागेको समयमा रेमडिसिभर र प्लाज्मा थेरापीबाट संक्रमितको उपचार गरिएको छ। तर यो नै कोरोनाको अचुक औषधि भने होइन। महामारी नियन्त्रणका लागि लगाइएको लकडाउन र निषेधाज्ञा पनि यतिखेर खुकुलो पारिँदैछ। दशैं र तिहारजस्ता मानवीय गतिवधि र जमघट धेरै हुने प्रमुख चाडपर्वहरू पनि आउँदैछन्। यी चाडपर्वमा मानिसहरू रमाउँदै गर्दा संक्रमण हुने जोखिम उत्तिकै छ। अबका दिनमा संक्रमण रोकथाम, उपचारको व्यवस्था र सजगता कसरी अपनाउने त ? बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालका प्रवक्ता डा. प्रविण नेपालसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानीको सम्पादित अंश :
केही जिल्लामा कोरोना संक्रमितको संख्या बिस्तारै घटिरहँदा काठमाडौं उपत्यकामा संक्रमण दर बढिरहेको छ, यो स्थितिलाई तपाईंले कसरी विश्लेषण गर्नुभएको छ?
अन्य ठाउँको तुलनामा काठमाडौं उपत्यकामा जनघनत्व पनि बढी छ। परीक्षणको दायरा पनि मुलुकभरमा सबैभन्दा बढी यहीँ उपत्यकामा भइरहेको छ। संक्रमित बढ्नुको मूख्य कारण दीर्घरोगीहरू उपचार गर्नका लागि यहाँ बस्ने गरेका छन्।
पछिल्लोपटक सबैतिर खुला भएकोले पनि मानिसको चाप बढ्न थालेको छ। अन्यत्रबाट आएका मानिसको कारण संक्रमण बढ्न थालेको छ। धेरै समयपछि खुला भएकोले मानिसहरूबीच सम्पर्क बढ्दा पनि उपत्यकामा संक्रमण ह्वात्तै बढ्दै गएको हो।
तपाईं कार्यरत अस्पताललाई संक्रमितको उपचार गर्ने कोभिड उपचार केन्द्र बनाइएको छ, अहिले उपत्यकामा संक्रमितको संख्या बढिरहेको बेला उपचार केन्द्रले धान्छ त?
केही दिनदेखि यता संक्रमितको संख्या बढ्दै गएको हो। संक्रमित बढेसँगै उपचार केन्द्र पनि थपिँदै गएका छन्। तर, उपत्यकालगायत मुलुकभर भएका उपचार केन्द्रले मात्र संक्रमितको उपचार गर्नलाई धान्न नसक्ने अवस्था छ।
अस्पताल आउने संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ। तत्काल समस्या समाधान गर्नका लागि कोभिड उपचार केन्द्र थप्नुपर्छ। अहिले भएका नन कोभिड अस्पताललाई नै अस्थायी कोभिड उपचार केन्द्र बनाउन सकिन्छ।
नेपालमा कोरोना फैलावट चरम बिन्दुमा पुगिसकेका छैन। हालससम्म जसोतसो अहिलेको व्यवस्थापनले पुगिरहेको छ। जुन दिन पिक अवस्थामा पुग्छ, संक्रमितको उपचार गर्नका लागि गाह्रो हुन्छ। अहिले अस्पतालमा संक्रमित मात्र आएका छैनन्, अन्य रोगका बिरामी पनि संक्रमित भएर आइरहेका छन्। त्यसले गर्दा बिरामीको अस्पताल बसाइको दिन लम्बिँदै गएको छ।
अस्पतालको जिम्मा सम्हालेर बस्नु भएको छ, उपचार व्यवस्थापन कसरी मिलाइरहनुभएको छ?
उपचार केन्द्रमा खटिएका सबै स्वास्थ्यकर्मी लगायत अन्य कर्मचारीलाई तालिम दिने गरिएको छ। दैनिक कसरी आफू सुरक्षित भएर काम गर्न सकिन्छ, त्यसलाई मूख्य ध्यान दिन आग्रह गरिएको छ।
अस्पतालमा काम गर्न स्वास्थ्यकर्मीदेखि इलेक्ट्रोनिक्स, पलम्बर र सफाई कर्मचारीसम्म आउँछन्। तिनलाई क्वारेन्टाइनमा राखिएको र परीक्षण गरी काम भइरहेको छ। अस्पताल परिसरमा किटाणु जन्य भाइरस नफैलियोस् भनेर दैनिक सरसफाई गरिने गरिएको छ।
यहाँ कार्यरत ३ सय भन्दा बढी कर्मचारीलाई तालिम दिइएको छ। अस्पतालले पहिलो प्राथमिकतामा राखेको बिरामीलाई सुरक्षित र आफैँपनि सुरक्षित हुनुपर्ने प्रतिबद्धतासहित काम गरिरहेको छ। १४-१४ दिनको रोटेसन मिलाएर स्वास्थ्यकर्मीहरू उपचारमा खटिइरहनुभएको छ।
सरकारले लक्षण भएका संक्रमितलाई मात्र उपचार गर्ने भनेको छ, अस्पताल आइपुग्दा उनीहरूको अवस्था कस्तो पाउनुभएको छ?
अस्पतालमा लक्षण भएका संक्रमित नै उपचार गराउन आउने हुन्। शुरूका दिनमा भन्दा अहिले अहिले उपचार गराउन आउनेको संख्या बढ्दै गएको छ। अधिकांश लक्षण भएका बिरामीहरू अस्पतालमा भर्ना भएका छन्।
अन्य अस्पतालबाट रिफर भइआएका बिरामीलाई आइसियुमा पनि राखिएको छ। धेरै संक्रमितहरूलाई बढी खोकी लाग्ने समस्या पनि देखिएको छ।
केही दिनयता निको भएर जाने पूर्वसंक्रमितको संख्या ह्वात्तै बढेको छ। सरकारले १० देखि १४ दिनभन्दा बढी नराख्ने नीति अनुसार काम गरेको हो कि के हो ? वा कोभिड उपचार केन्द्रबाट कसरी जान दिइँदैछ?
संक्रमित निको हुने दर बढेको हो। उपचार केन्द्रमा बस्दा-बस्दै संक्रमितमा परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएमा अस्पतालबाट पठाउने गरिएको छ।
पोजेटिभ देखिएको १० दिनमा पुनः परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएमा अस्पतालबाट घर पठाउने गरिएको छ। लक्षण भएका संक्रमितलाई घर पठाउने गरिएको छैन।
केही-केही संक्रमितलाई महिना दिनभन्दा बढी राखिएको छ। दीर्घरोगीहरू बढी समयसम्म अस्पताल बस्ने गरेका छन्।
सबैभन्दा बढी कुन उमेर समूहका मानिसहरूमा कोरोना देखिएर उपचार गराउन आइरहेका छन् ?
६० वर्षदेखि माथिका मानिसहरू बढी संक्रमित भएर उपचार गर्न आएका छन्। महिलाको तुलनामा बढी पुरुष रहेका छन्।
ट्राभल हिस्ट्री नभएका संक्रमित छन्। परिवारका सदस्यहरू बाहिर गएर आएका हुन्छन्, तिनीहरूबाट सरेको हो कि भन्ने छ। किनभने वृद्धहरूमा रोग प्रतिरोधात्मक क्षमता पनि कम भएकोले त्यस्तो भएको हुन सक्छ। परिवारका अन्य सदस्यको कोरोना परीक्षण गर्दा नेगेटिभ आउने गरेको छ।
वृद्ब-वृद्धामा बढी लक्षण देखिएको छ वहाँहरूको ट्राभल हिस्ट्री पनि छैन। काठमाडौंमा रहेका मानिसलाई देख्यो भने ट्राभल हिस्ट्री बुझ्न जरुरी छैनऽ किनभने यहाँ सबैभन्दा बढी मात्रामा संक्रमित छन्।
उपचारको क्रममा रहेका स्वास्थ्यकर्मीहरूको मनोबल कस्तो पाउनु भएको छ?
अस्पतालमा शुरूदेखि संक्रमितको उपचार गरिएको छ। शुरूवाती चरणमा केही त्रास जस्तो छ वातावरण देखिएको थियो। सधैंभरी त्रासमा बसेर उपचार गर्न पनि सकिँदैन। ८० जना चिकित्सकको समूहमा रहेर संक्रमितको उपचार गरिएको छ। दैनिक जस्तो स्वास्थ्यकर्मीलाई आवश्यक सल्लाह सुझाव दिने गरिएको छ। संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मी दैनिक खटिएका हुन्छन्।
संकटमा स्वास्थ्यकर्मी भाग्दा त कसरी संक्रमितको उपचार गर्ने? अहिलेसम्म उत्साह र उच्च मनोबलको साथ काममा खटिनुभएको छ। उहाँहरूको सक्रियता र योगदानले धेरै जना कोरोना संक्रमण मुक्त भएर घर गइसक्नु भएको छ।
रेमडिसिभर कस्ता-कस्ता बिरामीलाई दिइरहनु भएको छ? रेमडिसिभरले संक्रमितलाई साँच्चिकै लाभ गरेको छ त ?
रेमडिसिभर प्रयोग गरिएका धेरै संक्रमित निको भएका छन्। निको पार्नलाई सहयोग गरेको छ।
यति भन्न सकिन्छ : संक्रमितको अवस्था हेरेर गम्भीर अवस्थामा पुगेकालाई रेमडिसिभर चलाउने गरिएको छ। विश्वासको साथ भन्न सक्छु : रेमडिसिभर प्रयोग गरिएका संक्रमित ठीक भएर घर गएका छन्।
प्लाज्मा थेरापी र रेमडिसिभरमध्ये कुनबाट संक्रमित बढी निको भएका छन् ?
अस्पतालमा १९ जनालाई प्लाज्मा थेरापीबाट उपचार गरिएको छ। धेरै सफल भएर निको भएका छन् त थोरै मात्रामा प्लाज्मा थेरापी गरिएकाको मृत्यु भएको छ।
तर, दुवै विधिबाट गरिएका उपचार प्रभावकारी देखिएको छ। प्लाज्मा थेरापी गरिँदा पनि रेमडिसिभर चलाइएको हुन्छ। दुवै विधि सँगसँगै अपनाइएको हुन्छ। यी दुवै विधि गम्भीर अवस्थाकालाई प्रयोगमा ल्याइन्छ। बढी मात्रामा संक्रमितको उपचारका लागि रेमडिसिभर चलाउने गरिएको छ।
सरकारले भेन्टिलेटरको संख्या बढाउने भनिरहेको बेला संक्रमितको उपचारमा भेन्टिलेटर प्रभावकारी कि अक्सिजन थेरापी?
अहिलेको समयमा दुवै विधिको उत्तिकै महत्त्व छ। हरेक अस्पतालमा भेन्टिलेटरको जरुरी हुन्छ। सबै ठाउँमा चलाउन सकिँदैन। तर,कोरोना संक्रमितको लागि अक्सिजन थेरापी सबैभन्दा महत्त्वपूर्ण छ।
अक्सिजन थेरापी धेरैलाई दिन सकिन्छ। प्रत्येक अस्पतालमा अक्सिजन थेरापीले संक्रमितको उपचारमा काम गर्छ। किनभने कोरोना संक्रमितलाई अक्सिजनको अभाव हुन्छ। हरेक अस्पतालमा वा आइसोलेसन सेन्टरमा अक्सिजन थेरापी सेन्टर राख्न सकिन्छ। कोरोना संक्रमितमा साधारण अवस्थामा पनि अक्सिजनको अभाव देखिन्छ।
चिकित्सक, स्वास्थ्यकर्मी र तपाईंले कसरी परिवारसँगको सम्बन्धलाई व्यवस्थापन गरिरहनुभएको छ?
धेरैजसो स्वास्थ्यकर्मीहरू अस्पतालमा बस्नुहुन्छ। १४ दिनको ड्युटी सकिएपछि ७ दिन क्वारेन्टाइन बसेर कोरोना परीक्षण गरी नेगेटिभ आएमा घर जाने गर्नुभएको छ।
परिवारको स्वास्थ्यलाई ख्याल गरेर गइरहेका छौं। डियुटीमा रहँदा कामको बोझ नहोस् भनेर पनि हामीले परिवारलाई समय व्यवस्थापन गर्न भनेको छौँ।
तपाईं आफै घर पुग्दा समाज र छिमेकीको प्रतिक्रिया कस्तो पाउनुभएको छ ?
मेरो हकमा भन्नुपर्दा समाजको प्रतिक्रिया राम्रो छ। महामारीका बेलामा राम्रो सहयोग गर्नुभएको भनेर सकरात्मक सल्लाह सुझाव दिएका छन्। कतिपयले हामीलाई केही भयो भने तपाईंकोमा जान पाए हुन्थ्यो वा सहजै उपचार पाउने थिएँ भनेर प्रतिक्रिया दिने गरेका छन्।
बहालमा बसेकालाई केही समस्या भएको र घर जाने-आउने गर्दा मानिसले फरक प्रतिक्रिया दिन्छन् भन्ने सुनेको छु। समस्या हुनेहरू यतै अस्पतालमा बस्ने गरेका छन्।
अन्त्यमा; कोभिड संक्रमित, समुदाय र चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई के सन्देश दिन चाहनुहुन्छ?
महामारीको समयमा सबैजना एकजुट भएर लड्नुपर्छ। आ-आफ्नो कर्तव्यबाट कोही टाढा नभागौँ। रोग हो, सबैलाई लाग्नसक्छ। स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउनुपर्छ। आत्तिएर बस्ने होइन, सुरक्षित हुने उपाय सोच्नुपर्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।