|

बैतडी : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाका झुलाघाट बन्द हुँदा समस्यामा परेका भारतीय व्यापारी आन्दोलित भएका छन्। 

नेपाली ग्राहकले चलेको भारतको झुलाघाट बजार हाल सुनसान छ। 

५ महिनादेखि  व्यापार व्यवसाय बन्द भएपछि सीमानाका खोल्नुपर्ने र ब्याज मिनाहा गर्नुपर्ने उनीहरुको माग गरेका भारतीय पत्रकार प्रमोद भट्टले जानकारी दिए। उनीहरुले स्थानीय प्रहरी प्रशासनमार्फत प्रधानमन्त्री नरेन्द्र मोदी र उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंह रावतलाई ज्ञापनपत्र पठाएका छन्। 

भारतले देशभर लकडाउन खुला गरेको भए पनि सीमापुल नखुल्दै आफ्नो रोजीरोटी खोसिएको व्यापारीहरुको भनाइ छ। उनीहरुले सरकारविरुद्ध नाराबाजीसमेत गरेका छन्। ऋण  निकालेर व्यापार गरिरहेकाहरुलाई झुलाघाट नाका बन्द हुँदा निकै समस्या भएको झुलाघाट व्यापार संघका अध्यक्ष जगदीशचन्द्र जोशीले बताए। 

दिनमा कमाएर साँझ खाने गुजारा चलाएका व्यापारी संकटमा परेका भन्दै लकडाउन अवधिको भाडा छुट गर्न पनि उनीहरुले माग गरेका छन्। नाका नखुलेन्जलसम्मका लागि  ऋण  निकालेर व्यापार गरिरहेकाहरुको ब्याज मिनाहा गर्नुपर्ने प्रधानमन्त्री मोदीलाई पठाएको ज्ञापन पत्रमा उल्लेख गरिएको  छ। 

झुलाघाटका व्यापारीले  आफ्ना मागप्रति सरकारले चासो नदिए अनशन बस्नेसमेत चेतावनी दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.