गृहमन्त्रीले भने : सरकारले सबै जिम्मेवारी लिन्छ, ढुक्क हुनू

|

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा 'बादल' शुक्रबार सरकारका उच्च अधिकारी तथा सुरक्षा टोलीसहित भारतीय अतिक्रमणमा परेको कालापानी क्षेत्रस्थित छाङ्‍रु पुगे। दार्चुला सदरमुकाम खलंगा हुँदै पुगेका उनले व्यास गाउँपालिका-१ छङ्‌रुमा सशस्त्र प्रहरी बल नेपाल नं ५० गुल्मको व्यारेक भवन शिलान्यास गरे।

भारतले अतिक्रमण गरेर सेना राखेको कालापानी क्षेत्रभन्दा करिब १२ किलोमिटर दक्षिणस्थित रणनीतिक महत्वको उक्त ठाउँमा बाह्रै महिना सशस्त्र प्रहरी तैनाथ गर्ने गरी भवन  शिलान्यास गरिएको हो। 

भवन शिलान्याससँगै गृहमन्त्री थापाले शुक्रबार र शनिबार छाङ्‍रु र तिंकरबासीसँग प्रत्यक्ष संवाद गरे। अनौपचारिकरुपमा भएको उक्त संवादमा छाङ्‍रु र तिंकरबासीले पहिलो पटक नेपाल सरकार गाउँमै आइपुगेको प्रतिक्रिया दिए। 

गृहमन्त्री थापासँगको अन्तरक्रियामा दार्चुलाको छाङ्‍रुबासीले बाटो र सडक, स्वास्थ्यचौकी, शिक्षा र रोजगारी माग गरेका छन्। उनीहरुले भारतको अतिक्रमणकाबीच आफूहरु सीमाक्षेत्रमा बसिरहेको बताउँदै पहिलो पटक सरकार गाउँमै आएकाले यही ठाउँमा बसिरहने वातावरण बनाइदिन आग्रह गरे।

व्यास गाउँपालिकाको छाङरुस्थित गागामा सशस्त्र प्रहरीको गुल्म शिलन्यासपछि गृहमन्त्रीले कालापानीको हवाई निरीक्षण गरे। त्यससँगै उनी स्थानीयबासीसँग छलफलमा जुटेका थिए। छलफलका क्रममा गाउँलेले पहिलो पटक नेपाल सरकारको उपस्थिति भएकाले आफूहरुको संरक्षण गरिदिन आग्रह गरे।

'पहिलो पटक सरकार हाम्रो आँगनमा सरकार आएको छ। व्यासबासीलाई सरकार भएको आभाष दिलाइदिनुस्', एक स्थानीयले गृहमन्त्रीसँग भने, 'यहाँका धेरै युवा पढेलेखेका छन् तर रोजागरी छैन। महिलाहरु पनि खाली छन्। गाउँमै रोजगारीको व्यवस्था गरिदिनुपर्‍यो।'

दुर्गम र भारतीय अतिक्रमणमा परेको भूमिको क्षेत्र भएकाले स्थानीयबासीले आफूहरुका लागि आरक्षण कोटाको व्यवस्था गर्न पनि गृहमन्त्रीसँग आग्रह गरेका छन्। 'यहाँ विद्यालय छैन, नानीबाबुहरुले पढ्न लेख्‍न पाएका छैनन्। नानीबाबुहरुलाई पढाउने व्यवस्था सरकारले गरिदिनुपर्यो', एकजना महिलाले गुनासो गरिन्, 'पढेकाले पनि रोजगारी पाएनन्, त्यसैले नेपाल सरकारले यहाँ आफ्नो उपस्थिति देखाएर हाम्रो अभिभावक बनिदिनुपर्‍यो।'

छाङ्‍रु र तिङ्‍करबासीले आधारभूत आवश्यकताबाट बञ्चित जनतालाई खुला प्रतिस्पर्धाभन्दा आरक्षण कोटाको व्यवस्था गरिदिन पटक पटक आग्रह गरे। भारत माइती भएकी एकजना महिलाले नेपाल सरकारको अब बाह्रै महिना उपस्थिति चाहिएको बताइन्। 'अहिलेसम्म जति भोग्यौँ, पहिलो चोटी सरहरु आया छ, अब हामीलाई सरकारको विश्‍वास छ', ती महिलाले भनिन्, 'हामी माइती (भारत) जाँदा नेपाल सरकारले यति गरेको छ भन्‍न पाइयोस्। बाटोघाटो दिनुस्, रोजगारी दिनुस्, स्वास्थ्य शिक्षा दिनुस्, हाम्रो पनि देश छ भन्‍न पाइयोस्।'

स्थानीयसँगको छलफलका क्रममा गृहमन्त्री थापाले सरकारले बाटो निर्माण गरिरहेको बताउँदै गाउँमै उपचार हुने गरि स्वास्थ्य चौकी बनाउने बताए। उनले सुत्केरीका लागि हेलिकोप्टरमार्फत अस्पताल लैजाने व्यवस्था भइसकेको भन्दै आवश्यकता परे यहाँका जेष्ठ नागरिकलाई पनि हेलिकोप्टरबाट उद्धार गरिने जानकारी दिए। 

उनले यहाँका बालबालिकालाई पढाउनका लागि सरकारले छात्रवृत्ति दिने बताउँदै उनीहरुलाई सदरमुकाम या काठमाडौंसम्म पढ्ने वातावरण बनाउने बचन दिए। 'रोजगारीका लागि हामी विकल्प खोज्‍न सक्छौं। यहाँका युवालाई सेना-प्रहरीमा भर्ती गर्न हामी पहल गर्छौं', उनले भने, 'गाउँका महिलाहरुलाई यहीँ घरेलु उद्योगहरु खोलेर आत्मनिर्भर बनाउने विकल्प पनि खोज्छौँ, अहिलेलाई खाद्य संकट टार्न हामीले हेलिकोप्टरबाट ढुवानी गरिरहेका छौं। यहाँका बासिन्दालाई बाह्रै महिना यहीँ बस्‍ने गरी सरकारले काम गर्नेछ।'

थापाले सरकारले भारतीय अतिक्रमणमा परेको क्षेत्रमा सुरक्षाकर्मी राखिसकेको बताउँदै अब विकासका कामलाई अगाडि बढाउने उल्लेख गरे। अब यस क्षेत्रमा उद्योग व्यवसाय बढाएर बाह्रै महिना बस्‍ने बनाउने बचन उनले दिए। 

‘पढेलेखेका युवाले जागिर खान सक्छन्। व्यवसाय गर्न चाहनेलाई सहुलियत दरमा ऋण र अनुदान दिन सकिन्छ,’ उनले भने, 'हामी सकेसम्म सबै विकल्प खोज्छौँ। हाम्रा नेपाली दाजुभाइ दिदीबहिनीका लागि नेपाल सरकार छ, यहाँ पूरापूर उपस्थित हुनेछ।'

थापा शुक्रवार राति गागास्थित सशस्त्र प्रहरीको क्याम्पमै बसेका थिए। उनले शनिवार बिहान महाकाली नदी क्षेत्रको पनि अवलोकन गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.