तराईबाट आउने पनि उत्तिकै, उपत्यकाका थोरै

|
फाइल फोटो

काठमाडौं : उपत्यकामा निषेधाज्ञा सकिएसँगै मानिसहरु उपत्यका आउने क्रम बढ्दै गएको छ। जसले गर्दै उपत्यकामा कोरोना भाइरस ( कोभिड-१९) को संक्रमण पनि बढ्दै गएको छ। उपत्यकामा मानिस भित्रिने क्रम बढेसँगै पिसिआर परिक्षण गर्न अस्पताल धाउनेको संख्या पनि बढ्दै छ।

पछिल्लो समय उपत्यका भित्रिने धेरै भारतीय नागरिक छन्। तराईका जिल्लाबाट पनि उत्तिकै नेपाली नागरिक आइरहेका छन्। सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा आरटी पिसिआर परीक्षण गराउने ८० प्रतिशत भारतीय नागरिक छन्।

एकातिर उपत्यकामा निषेधाज्ञा पूरै खुला भएको छ भने अर्कातिर तराईका जिल्लामा पिसिआर परीक्षणका लागि स्वाब संकलन न्यून मात्रामा हुने गरेको छ। त्यहीकारण टेकु अस्पतालमा भीड बढेको हो। टेकुमा पिसिआर निशुल्क परीक्षण हुने गरेको छ। 

अस्पतालका प्रशासन प्रमुख रुपनारायण खतिवडाले पिसिआर परीक्षण गराउन आउनेमा ८० प्रतिशत भारतीय नागरिक रहेको बताए। उनका अनुसार त्यसमा केही संख्या तराई जिल्लाका नेपाली नागरिकको छ। सयौँको संख्यामा अस्पताल पुगेका मानिसहरु १६ घण्टासम्म लाइनमा बसेर पिसिआर परीक्षणका लागि नमुना दिने गर्छन् ।

नेपालबाट भारत रोजगारीका लागि ठूलो संख्यामा नेपालीहरु गइरहेका बेला भारतबाट पनि रोजगारीका लागि ठूलो संख्यामा भारतीय नागरिक नेपाल प्रवेश गर्न थालेका छन्।

खतिवडाका अनुसार विगत पाँच-६ दिनदेखि अस्पतालमा पिसिआर परीक्षण गराउन आउने भारतीय र तराईका नागरिकको अव्यवस्थित भीड लाग्न थालेको हो। 'पिसिआर परीक्षण गर्न आउने संख्या बढेसँगै हामीले दैनिक तीन सयको क्षमताबाट बढाएर ६ सय पुर्‍याएका छौँ', उनले भने। 

टेकु अस्पतालमा मात्रै ९०० देखि १२ सय जनाले पिसिआर परीक्षणका लागि टिकट लिएका थिए । उनीहरुमध्ये करिब ५०० भारतीय नागरिक थिए। बाँकी तराईका जिल्लाका तथा न्यून मात्रा उपत्यकावासी छन्। 

टेकु अस्पतालले हालसम्म २४ घण्टा भित्र पिसिआर परिक्षणको रिपोर्ट दिँदै आएको छ। अन्य प्रयोगशालाभन्दा धेरै छिटो रिपोर्ट दिने कारण टेकुमा मात्रै बढी भीड देखिएको हो ।

टेकु अस्पतालले दैनिक ३ सय ५० जनाको स्वाब संकलन गर्ने गरेको थियो। तर अहिले परीक्षणको दायरा बढाएर ६ सय बनाइएको छ। जचाउन जानेमध्ये लक्षण भएका र ज्वरो आएकाको मात्रै परीक्षण गर्ने गरिएको छ। तर, भारत र तराईबाट आएका अधिकांशको स्वाब लिनुपर्ने अवस्था छ।

अहिले तराईका जिल्लामा पिसिआर परीक्षण घटाइएको छ। टेकु अस्पतालले मंगलबार पनि ७१८ वटा नमुना संकलन गरेको छ। नमुना संकलन घटेपछि उक्त क्षेत्रका मानिसहरु पिसिआर गराउन काठमाडौं आएका हुन्।

टेकु अस्पतालमा पिसिआर गराउन पुगेकाहरूमा अधिकांश मजदुर छन्। जसमध्ये भारतबाट रोजगारीको सिलसिलामा नेपाल आएका धेरै छन्। भारतमा पिसिआर परीक्षणको रिपोर्ट नलिएर नेपाल आएका उनीहरुलाई घर धनी र ठेकेदारले पिसिआर रिपोर्ट ल्याउन भनेपछि टेकु पुगेका हुन्।

टेकु अस्पतालका अनुसार केही दिन अघिसम्म कुल स्वाब संकलन भएकामध्ये ३५ प्रतिशत पोजेटिभ नतिजा आएको थियो। पछिल्लो दिनमा स्वाब संकलन गरेकामध्ये १० प्रतिशतलाई कोभिड पुष्टि हुँदै आएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.