|

भक्तपुर : कोरोना भाइरसको रोकथाम र नियन्त्रणका साथै संक्रमितको उपचारको अग्रमोर्चामा कार्यरत छन् स्वास्थ्यकर्मीहरु। तीमध्ये पनि संक्रतिमहरुसँग प्रत्यक्षरुपमा बढी सम्पर्कमा रहने स्वास्थ्यकर्मी हुन् नर्स। समाजले स्वास्थ्यकर्मीहरुलाई भेदभाव गरेको समाचार आइरहँदा नर्सहरु भने परिवारबाटै भेदभावमा परेको पाइएको छ।

यस्तै, एक नर्स हुन् हेमा (नाम परिवर्तन)। भक्तपुर नगरपालिकाकी हेमा टेकु अस्पतालमा कार्यरत छन्। कोरोना संक्रमितको सेवा गर्ने क्रममा नै उनी पनि संक्रमित भइन्। एक साता अस्पतालको आइसोलेसनमा बसिन्। यसपछि घर फर्किइन्। तर, घरमा उनलाई अछुतजस्तै व्यवहार भयो।

‘एक साता अस्पतालै भर्ना भएर घर फर्किएँ,’ हेमाले भनिन्, ‘फर्किएको दिनबाटै घरमा मलाई अछुतजस्तो व्यवहार भयो।’ परिवारले एउटा सानो कोठामा खाने बस्ने सुत्न लगाए। अढाई वर्षको बच्चालाई मुख समेत हेर्न नकिएको उनको गुनासो छ। उनले भनिन्, ‘यतिसम्म गरे, परिवारका मान्छेले आफ्नो बच्चालाई समेत एकपटक देखाएनन्।’

हेमा रिपोर्ट नेगेटिभ आएपछि घर फर्किएकी थिइन्। तर परिवारका सदस्यले अस्पतालमा काम गर्नेलाई जुनसुकै बेला कोरोना संक्रमण हुन सक्छ भनेर महिना दिनसम्म छुट्याएर राखेको उनले बताइन्। घरपरिवारको व्यवहार नै नकारात्मक भएपछि छरछिमेकीले समेत बोल्न हिचकिचाएको उनको अनुभव छ।

‘घरपरिवारले यस्तो व्यवहार गरेपछि छरछिमेकले समेत बोल्न हिचकिचाए,’ उनले भनिन्, ‘पसल गए अलि टाढा बस्नु भन्थे, पसल आउँदा स्यानिटाइजर लिएर आउनु भन्थे।’ उनले अस्पताललाई आफ्नै घर र बिरामीलाई आफ्नै परिवार सम्झेर दिनरात नभनी सेवा प्रदान गरे बापतमा कोरोनाका कारण परिवारबाटै अपमानित भएर बाँच्नु परेको गुनासो गरिन्।

भक्तपुरकै अर्की स्टाफ नर्सको व्यथा पनि उस्तै छ। उनलाई दुई महिनाअघि कोरोना संक्रमण भएको थियो। तर, कुनै लक्षण देखिएको थिएन। चार महिनाको गर्भवती समेत रहेकी उनलाई अस्पतालका चिकित्सकले होम आइसोलेसन बस्न सुझाव दिए। सोहीअनुसार उनी होम आइसोलेसन बस्न तयार भइन्। तर, परिवारले राख्न मानेन। अन्तमा माइतीमा गएर बसेको उनले सुनाइन्।

‘परिवारले बृद्ध हजुरबुबाको बाहना बनाएर आफू कार्यरत अस्पतालमै बस्न जानु भने,’ ती नर्सले भनिन्, ‘परिवारका अन्य सदस्य त के मेरो आफ्नै जीवनसाथीले समेत मलाई घर बस्न अनुमति दिनुभएन। यस्तो समयमा मेरो जीवन साथीले समेत साथ दिएनन्। एकछिन मरुँ कि बाँचु जस्तो लाग्यो। अन्तमा माइतीको सहारा लिएर बसें।’

सूर्यविनायक नगरपालिकाकी एक स्वास्थ्यकर्मीको व्यथा पनि कम छैन। उनी उपत्यकाको एक नाम चलेकै अस्पतालमा प्रसूति वार्डमा कार्यरत स्वास्थ्यकर्मी हुन्। कोरोना महामारीकाबीच उनले धेरैको प्रसूति सेवा दिइन्। उनको सेवाप्रतिको लगाव देखेर अस्पतालका चिकित्सक र अन्य स्वास्थ्यकर्मीहरुले ‘आमाहरुको ऊर्जा शक्ति बन्ने भयो’ भनी हौसला दिन्थे।

तर, केही समयपछि उनलाई कोरोना संक्रमण देखियो। त्यसबेला त्यही अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले समेत नराम्रो व्यवहार गरेको उनले बताइन्। उनले भनिन्, ‘कोरोनाबाट पीडित हुँदा त्यही अस्पतालका केही स्वास्थ्यकर्मीले समेत नराम्रो व्यवहार गर्दा धेरै चित्त दुःख्यो।’

लक्षण नदेखिएका कारण दुई साता होम आइसोलेसन बसेकी उनलार्ई घरका परिवारले पनि सद्भावपूर्ण व्यवहार गरेनन्। ‘घरबस्दा पनि परिवारका केही सदस्यले गर्दा धेरै मन दुःखाएँ,’ उनले भनिन्, ‘अहिले निको भएर आफ्नै काममा व्यस्त छु। तर पनि समाजमा अलि हेर्ने दृष्टिकोण पहिला भन्दा फरक पाएको महसुस गरेकी छु।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.