|

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले फागुन २१ गतेदेखि १५ दिनसम्म मेची-महाकाली अभियान शुरु गर्दैछ। अभियान मार्फत एमालेले मधेसमा आफू विरुद्ध फैलाइएको भ्रम निवारण गर्ने दावी गरेको छ।

सोमबार एमालेले अभियानमा परिचालन हुने केन्द्रीय टोलीका स्वयंसेवकहरुका लागि आयोजना गरेको प्रशिक्षण कार्यक्रममा ओली अलि भावुक रुपमा प्रस्तुत भए। स्वयंसेवका नेताहरुलाई अभियानका लागि बनाइएका ज्याकेट र टोपी हस्तान्तरण गर्दै ओलीले आफूले समेत ज्याकेट र टोपी पहिरिए।

अभियानबारे जानकारी दिँदै एमाले सचिव प्रदिप ज्ञवालीले अध्यक्ष ओलीको स्वास्थ्यमा केही समस्या आएको सङ्केत दिएका थिए। ओलीले पनि अभियान तयारीकै क्रममा स्वास्थ्यमा समस्या आएको बताए। केही दिन पहिले भएको घटना सुनाउँदै ओलीले आफू ढलिहालेँ भने पनि मर्छ कि भन्‍ने पीर नगर्न कार्यकर्तालाई आग्रह गरे। 

'अस्ती एउटा कार्यक्रममा यसै गरी बोल्दै थिएँ। बोल्न शुरु गरेको थिएँ चक्कर लाग्यो। लडुला-लडुला जस्तो लाग्यो। भनन्‍न भयो। मान्छे देख्‍न छोडे। अनि मैले भने, मलाई चक्कर लाग्यो' ओलीले घटना सुनाए 'एकछिन बोल्न नसक्ने भए। अनि मैले साथीहरुलाई भने म ढलिहालेँ भने मर्छ कि भन्‍ने पीर नगर्नुहोला एकैछिनमा उठिहाल्छु। फेरि बोलिहाल्छु।'

उपचार गरेपछि आफूलाई ठीक भएको ओलीले सुनाए। 'म ढलिन। सायद सुगर डाउन भएको थियो क्यार। अलिकति यसो दबाई गरिदिएपछि ठीक भइहाल्यो। कहिलेकहिले त्यस्तो हुनेरहेछ। पहिले मैले थाहा पाएको थिइनँ त्यस्तो' उनले भने 'भनन्‍न रिंगाटा लाग्‍ने, ढल्ने जस्तो कुरा थाहा थिएन। तर कहिले कहिले हुँदोरहेछ त्यस्तो। अस्ती मैलाई हुन खोज्यो त्यहाँ।'

अभियानमा लागेका स्वयं सेवकमध्ये कोही बिरामी भएमा तत्काल उपचारका लागि लैजान समेत उनले आग्रह गरे। 'कोही नेता बिरामी भयो भने कमाण्डर साप उपचारका लागि लैजाउँ कि नलैजाउँ भन्‍ने होइन। पहिले उपचार गराउनुस्' ओलीले भने, 'तपाईले सुरक्षा सम्बन्धी आकस्मिक कुनै थ्रेट देख्‍नुभयो भने त्यसमा सोधिरहनु पर्दैन। त्यसलाई म्यानेज गरिहाल्नुपर्छ।'

महा धुलोयात्रा हुनेछ

ओलीले अभियानमा महाधुलो यात्रा हुने समेत बताए। अभियानमा धुलो धेरै उड्ने बताउदै उनले थोरै धुलोले पनि अहिले असर गरिरहेकाले महाधुलोमा टिक्न सक्छु कि सक्दिन भन्‍ने अवस्था रहेको सङ्केत गरे। 'अभियानमा धुलो धेरै उड्छ। अलिअलि धुलोले मलाई यस्तो गरिराख्या छ यहाँ भने यो यात्रामा, सभाहरुमा त धुलो धेरै उड्छ' ओली भन्छन्, 'को-को टिक्छ, को-को टिक्दैन ? म टिकुला जस्तो पनि लागिराख्या छैन अहिले। यतिकै धुलोले अघिपछि नै यस्तो गर्‍या छ भने, त्यो त अब महा धुलोयात्रा नै हुनेवाला छ।' 

अभियान कसैले रोक्न सक्दैन

एमाले अध्यक्ष ओलीले एमालेको अभियानलाई तराईमा अवरोध हुन्छ, डिष्टर्व हुन्छ भन्‍ने कुरा वहियात भएको बताए। उनले भने 'एउटा हल्ला यस्तो गर्छ, उस्तो गर्छ, के हुन्छ, डिष्टर्व गर्छ,रोक्छ यी सबै वहियात कुरा हुन्। कसैले कोठामा बसेर डेमोक्रेसीमा त्यति भन्‍न पनि नपाउने कुरा हुन्छ?'

यस अभियानबाट सबै उत्कृष्ट हुने भएपनि स्वास्थ्यका दृष्टिले भने आफ्नो नराम्रो भएको बताए। उनी भन्छन् 'यस अभियानमा हुन खोजेको नराम्रो अलिकति मेरो घाँटी मात्रै हो। अरु सब ठीक छ।'

जनतासँग ढंगको व्यवहार गर

स्वयं सेवकलाई ओलीले जनतासँग ढंगको व्यवहार गर्न निर्देशन गरेका छन्। आम जनताको पहुँच सबै नेताहरुसँग नहुने भन्दै उनले त्यसका लागि जनतासँग संयमतापूर्वक व्यवहार गर्न निर्देश गरे। 'तपाईहरुको बोली, ब्यवहार, मुस्कान, आत्मीयताले जनताले बुझ्छ' उनले भने, 'त्यो ढंगको बोली, बचन, ब्यवहार आत्मीय बनाउनुस्। कुनै पनि काम गर्दा नराम्रो रफ भाषा, तरिकामा होइन। नबुझेर कसैले स्वाट्टै आउन खोज्छ शिष्टतापूर्वक रोक्नुस् उसलाई।'

स्याटेलाइटबाट भिडियो

ओलीको विचारमा अभियान यति भव्य हुनेछ कि कुनै घरमा चढेर होइन ड्रोनले समेत अभियानको फोटो खिच्न सम्भव नभएर स्याटेलाइटबाट खिच्नुपर्ने हुन्छ। राजमार्ग, बाटाघाटा, चउर, मैदानहरु ढाकेर गरिने अभियानमा खराब चिताउनेहरु छक्क पर्नेगरी मानवसागर उर्लिने बताए।

'मैले अस्तिनै भनेको छु। कुनै घरमाथि बसेर, कतै अग्ला ठाउँमा बसेर खिच्‍न सकिने फोटो आउने त्यस्तो कार्यक्रम होइन यो। यो कार्यक्रमको मुभी खिच्‍ने हो भने हेलिकप्टरबाट खिचे होला नत्र भने ड्रोनस्रोनले पनि गाह्रो होला' ओली भन्छन् 'कहाँदेखि कहाँसम्म खिच्‍ने? त्यसकारण मैले भनेको यो स्याटेलाइटबाट खिच्‍नुपर्छ। यसैपनि नखिच भनेपनि स्याटेलाइटले खिचिहाल्छ।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • कमरेड के पी ओली जी अबको सम्बृद नेपालको कमाण्डर हुनुहुन्छ, तेसैले हामी वहाको स्वास्थ्यलाभ को कामना गर्दछौ|