|

सिन्धुली : सिन्धुलीको कमलामाई नगरपालिकाका ९० प्रतिशत भूभागमा विद्युतीकरण भएको छ। शनिबार कमलामाई नगरपालिका-८ मा विद्युत पुर्‍याएसँगै नगरक्षेत्रको ९० प्रतिशत भुभागमा विद्युतीकरणको काम सकिएको नगरप्रमुख खड्ग बहादुर खत्रीले जानकारी दिए। 

वडा नं. ८ को तीनतले, पाथिपरान, माई खोला, सिद्धडाँडा, ज्यामिरे, बाघछेडा, ठूल्डाँडा हुँदै लाङ्दिमा विद्युत विस्तार गरिएको छ।  साढे दुई करोड रुपैयाँ बढी लागतमा विस्तार गरिएको विद्युतबाट वडा नं. ८ का दुई सयभन्दा बढी घर परिवार लाभान्वित भएका छन्। 

माई खोला क्षेत्रमा ११ किलोमिटर मूख्य लाइन, १५ किलोमिटर शाखा लाइन, दुईवटा ट्रान्सफर्मर तथा पातिपरान क्षेत्रमा १५ किलोमिटर मुख्य लाइन, ३० किलोमिटर शाखा लाइन र १ वटा ट्रान्स्फर्मर जडान गरी वडा नं. ८ को सबै बस्तीमा विद्युतीकरण गरिएको नगरप्रमुख खत्रीले बताए। 

हालसम्म कमलामाई नगरपालिकाको १४ वडा मध्ये वडा नं. १ को केही भाग र वडा नं. ४ को केही भाग बाहेक नगरको सबै भुभागमा विद्युतीकरण भएको नगरप्रमुख खत्रीले जानकारी दिए। 

आर्थिक वर्ष २०७६/०७७ मा विद्युतीकरणका लागि विनियोजन गरिएको ६ करोड रुपैयाँले विद्युत पुग्न बाँकी वडा नं.७,८ र १० का सबै भुभागमा विद्युत सेवा विस्तार गरिएको नगरपालिकाले जानकारी दिएको छ।

‘मैले चुनावमा नगरवासिको चाहना-उज्यालो नगरपालिका हाम्रो कामनाभन्ने अभियानअन्तर्गत आफ्नो पाँचवर्षे कार्यकालमा नगरपालिकाको सबै बस्ती-बस्तीमा विद्युत पुर्‍याउँछु भनेर जनतामाझ घोषणापत्रमार्फत प्रतिबद्धता जनाएको थिएँ। यो प्रतिबद्धता म यसै साल पूरा गर्दैछु। अहिलेसम्म नगरको ९० प्रतिशत भुभागमा विद्युत पुगिसकेको छ, अब ५ प्रतिशत काम आगामी मंसिरसम्म पूरा हुन्छ। बाँकी ५ प्रतिशत आगामी असार मसान्तसम्ममा सकिन्छ,’ नगरप्रमुख खत्रीले भने। 

विद्युत पुग्न बाँकी वडा नंं १ र वडा नं. ४ का केही भुभागमा आर्थिक वर्ष २०७६/०७७ मा विद्युतीकरणका लागि विनियोजन गरिएको ६ करोड रुपैयाँबाटै विद्युत विस्तार हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.