|

ओखलढुंगा : कोरोना संक्रमण बढेसँगै बन्द भएको ओखलढुंगाका बजार आज (आइतबार) देखि खुलेको छ।

गत भदौ २१ गते जिल्ला समन्वय समिति प्रमुखलगायत नौ जनामा संक्रमण भएपछि सदरमुकाममा लाग्ने शनिबारे तथा बुधबारे हटिया तथा बजार बन्द गरिएको थियो। 

बजार बन्द भएपछि सागसब्जी बेचेर जिविका धान्ने यहाँका किसानहरूलाई समस्या परेको थियो। बजार आंशिक खुलेपछि उनीहरू खुसी भएका छन्।

करेसाबारीमा फलेको सागसब्जी हटियामा बेचेर घर खर्च धान्ने आफूजस्तालाई बजार बन्द हुँदा समस्या भएको र आजदेखि खुलेपछि खुसी लागेको सिद्धिचरण नगरपालिका-१ बाट सामान बेच्न आएकी जानुका ओझाले बताइन्।  हाटबजार खुलेपछि उपभोक्ता तथा किसानहरूलाई सहज भएको तरकारी व्यवसायी सानु दयालले बताए। 

करेसाबारीमा उब्जाएको सागसब्जी बेचेर परिवार धान्ने सर्वसाधरणलाई परेको समस्यालाई मध्यनजर गर्दै हटिया खुलाएको र नगरपालिकाले व्यवस्थित गर्ने भएको छ। सबैले स्वास्थ्यको ख्याल गरी मापदण्डमा पालना गरेरमात्र बजार प्रवेश गर्न शुक्रबारका दिन नगरपालिकाले सूचना  जारी गरेका थियो। सोही बमोजिम आजबाट बजार खुलाएको सिद्धिचरण नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष विनोद कुमार श्रेष्ठले बताए।

जिल्लामा भदौ २१ गते नेपाली कांग्रेसका जिल्ला सभापति प्रदीपकुमार सुनुवार, जिल्ला समन्वय समिति प्रमुख जयबहादुर श्रेष्ठ तथा भदौ २६ गते कांग्रेसकै जिल्ला उपसभापति तेजेन्द्र खनाल र प्रेस युनियन ओखलढुंगा जिल्ला शाखा सचिव नवराज कार्की लगायत २७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

समुदायस्तरमै संक्रमण फैलिएपछि ओखलढुंगा सदरमुकाममा भेला हुन, कुनै राजनीतिक दलका कार्यक्रम गर्न तथा साप्ताहिक रुपमा लाग्ने हाट बजार सञ्‍चालनमा समेत रोक लगाइएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.