|

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–१० का सन्देश मल्ल स्थानीय डाइनामिक बोर्डिङ स्कुलमा कक्षा चार उत्तीर्ण गरी कक्षा ५ मा पढ्ने तयारी थियो। तर, कोरोना महामारीका कारण उनी  अहिलेसम्म स्कुल जान पाएका छैनन्।

अहिले स्कुलले विद्यार्थीको भर्नाका लागि अभिभावकलाई फोन गर्न थालेका छन्। सन्देशकी आमा मैनकला खत्री मल्लले स्कुलबाट फोन आएको बताइन्। ‘यही असोज १५ सम्म नाम लेखाउन स्कुलबाट फोन आएको छ,’ उनले भनिन्, ‘नगरपालिकामा विद्यार्थीहरुको डाटा बुझाउनु पर्छ भनेका छन्।’

कोरोना महामारीमा क्वारेन्टाइनको रुपमा प्रयोग हुँदै आएका   कर्णालीका विद्यालय अहिले त्रासका बीच खुल्न थालेका छन्। उच्च सतर्कताका  साथ विद्यालय खोल्न थालिएको हो। कर्णालीका कालीकोट दैलेख, सल्यान र सुर्खेतका केही विद्यालय खुलिसकेका छन्।

कालीकोटको पचालझरना गाउँपालिकाका सबै असोज १ देखि नै पठनपाठन सुरु भएको छ। पचालझरनामा आठवटा माध्यमिक विद्यालयसहित ३६ वटै विद्यालयमा पठनपाठन सुरु भएको गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालले जानकारी दिए।
 
‘शैक्षिक सत्र खेर जान नदिन औपचारिक रुपमै विद्यालयमा पठनपाठन सुरु गरेका हौं’, उनले भने, ‘गाउँमा संक्रमित छैनन्, कोरोना त्रासमा विद्यार्थीको भविष्यमाथि खेलवाड गर्न सकिँदैन।’ सामाजिक दूरी कायम गरेर पठनपाठन सुरु गरिएको उनले बताए। संक्रमित नभएका सबै ठाउँमा विद्यालय खोल्न सकिने सेजुवाको भनाइ छ।

‘सार्वजनिक यातायात तथा बजार निर्वाध रुपमा खुलेपछि विद्यालय बन्द गर्नुको कुनै अर्थ छैन,’ उनले भने, ‘विद्यालयमा मात्र कोरोना आउने होइन।’

गाउँपालिकामा आएका शिक्षकलाई १४ दिन क्वारेन्टाइनमा राखेर विद्यालयमा उपस्थित गराइएको अध्यक्ष सेजुवालले बताए। तराई घर भएका शिक्षकलाई पनि कोरोना परीक्षण गराएर, २१ दिनसम्म क्वारेन्टिमा राखेर अध्यापनमा खटाउने गाउँपालिकाले जनाएको छ। गाउँपालिकाको १२ वटा विद्यालयमा क्वारेन्टाइन बनाइएको थियो। ती विद्यालय दुई महिनाअघि खाली गरिएको थियो। गाउँपािलकाले अहिले क्वारेन्टाइनका लागि १२ कोठे भवन बनाएको छ।

दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका र भगवतीमाई गाउँपालिकाले पनि पठनपाठन सुरु गरेका छन्। थोरै विद्यार्थी भएको विद्यालयमा सामाजिक दूरी कायम गरेर तथा धेरै विद्यार्थी भएको विद्यालयमा आलोपालो गरेर पठनपाठन सुरु गरिएको चामुण्डा विन्द्रासैनी नगरपालिकाका शिक्षा शाखा प्रमुख नवीन शाहीले बताए।

त्यस्तै, भगवतीमाई गाउँपालिकाले शिक्षक शिक्षिकाको कोरोना परीक्षण गरेर विद्यालय सञ्चालन गरेको छ। शिक्षकको पिसिआर परीक्षण गरेको र विद्यार्थीको प्रत्येक साता स्वास्थ्य जाँच गराउने गरी विद्यालय सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले बताए।

यस्तै, सुर्खेतको नेवारेस्थित अमर ज्योति माध्यमिक विद्यालयले आवश्यक सुरक्षा सावधानी अपनाएर पठनपाठन सुरु गरेको छ। ‘प्रशासनको विद्यालय खोल्ने निर्णय नभए पनि यस्तो अवस्थामा पठनपाठनको अभ्यास गरेका हौं,’ प्रधानाध्यापक खगेन्द्र थापाले भने, ‘विद्यालय सञ्चालन गर्ने अनुमति दिए कक्षा ९ र १० का थोरै विद्यार्थी राखेर पठनपाठन सुरु गर्न सकिन्छ।’

उनले विद्यार्थी संख्या धेरै भएका कारण पठनपाठन गर्न कठिन भएको पनि बताए। अमर ज्योतिमा कक्षा १० मा मात्रै ४०० भन्दा बढी विद्यार्थी छन्। एउटा कक्षामा ३० जना विद्यार्थी राखे ठाउँ अपुग हुने प्रधानाध्यापक थापा बताउँछन्। शैक्षिक सत्र खेर जान नदिन बैकल्पिक माध्यमबाट भए पनि पठनपाठन नियमित गर्नुपर्ने उनको मत छ।

जुम्लाको चन्दननाथ नगरपालिकालाई भने गृह मन्त्रालय र जिल्ला प्रशास कार्यालयले विद्यालय सञ्चालनमा रोक लगाएको छ। असोज ४ देखि पहिलो चरणमा प्राथमिक तकका विद्यालयमा पठनपाठन सुरु गर्ने निर्णय भए पनि गृह मन्त्रालयले तत्काल विद्यालय सञ्चालन नगर्न आग्रह गरेको नगरप्रमुख कान्तिका सेजुवालले बताइन्। आधारभूत तहमा विद्यार्थी संख्या कम भएकाले सामाजिक दूरी कायम गरेर पठनपाठन गर्नुपर्ने उनले बताइन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.