हटाउने मन्त्रीबारेमा दुई अध्यक्षबीच मिलेन कुरो

|
फाइल फोटो

काठमाडौं : मन्त्रिपरिषद् पुनर्गठनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ। केही दिनयता निरन्तर संवादमा रहेका दुई नेताबीच बालुवाटारमा संवाद भएको हो। 

बिहीबारबाट निरन्तर रुपमा छलफलमा जुटे पनि अझै सहमतिको विन्दु भेटिन सकेको छैन। आज पनि ओली-प्रचण्ड छलफल सुरु भएको छ। अन्तिम गृहकार्यका  रुपमा ओली-दाहाल छलफलमा जुटेको बालुवाटार स्रोतले बतायो।

सरकारमा क-कसलाई ल्याउने र कसलाई हटाउने भन्‍ने बिषयमा ओली दाहालबीच सहमति सकेको छैन। प्रधानमन्त्री ओली प्रधानमन्त्री ओली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय,  ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहकारी तथा गरिबी निवारण मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा  यातायात मन्त्रालय यी बाहेक केही मन्त्रालय टुक्राएर मन्त्री थप्ने पक्षमा छन्।

भौतिक पूर्वाधारलाई टुक्‌र्याएर रेल र पानीजहाज मन्त्रालय थप्ने पक्षमा छन्। तर, अध्यक्ष दाहाल दुई वर्ष पूरा गरिसकेका सबै मन्त्री हटाएर नयाँ अनुहार सरकारमा पठाउने पक्षमा छन्। तर, ओली उपप्रधान सहित रक्षा मन्त्रालय सम्हालिरहेका इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतलाई निरन्तरता दिने पक्षमा देखिएका छन्। 

यस्तै, नयाँ अनुहारलाई दिने मन्त्रालयमा पनि सहमति बन्‍न सकेको छैन। संविधानमा व्यवस्थाअनुसार २५ भन्दा बढी मन्त्रालय बनाउन मिल्ने प्रावधान छैन। अहिले १९ वटा पूर्ण र ३ वटा राज्यमन्त्री छन्। प्रधानमन्त्री ओलीले अहिले एक मन्त्रालय थप गरेर २५ वटै पुर्‍याउने र केहीलाई बिदा गर्ने पक्षमा रहेको स्रोतको दाबी छ। 

सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्रालय र शहरी विकास मन्त्रालय खाली रहेका छन्। दुई मन्त्रालय प्रधानमन्त्री ओली आफैंले लिएका छन् भने शहरी विकास मन्त्रालयको जिम्मेवारी यातायात मन्त्री वसन्त नेम्वाङले सम्हालेका छन्। ओलीले युवराज खतिवडालाई आर्थिक सल्लाहकारको रुपमा मन्त्रीको सरह सुविधासहित नियुक्ति गरिसकेका छन्।

ओली -दाहाल सहमति जुटेपछि तत्कालै मन्त्रिपरिषद् हेरफेर हुने नेताहरुले दाबी गर्दै आएको छन्। भदौ २६  गतेको स्थायी कमिटी बैठकले निश्चित मापदण्डको आधारमा मन्त्रिपरिषद् पुनर्गठन गर्नुपर्ने निर्णय गरेको थियो। तर, अहिले ओली दाहालबीच भागभण्डा नमिलेकै कारणले सहमति बन्‍न सकेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.