|

काठमाडौं : त्रिभुवन विश्‍वविद्यालय क्याम्पसमा अनिश्‍चितकालका लागि स्ववियु निर्वाचन स्थगित भएको छ। क्याम्पस प्रशासनले आज सूचना जारी गर्दै तोकिएको मितिमा निर्वाचन गर्न नसक्ने जनाएको छ।

'त्रिभुवन विश्वविद्यालयले घोषणा गरेको स्ववियु निर्वाचन तालिका अनुसार मिति २०७३\११\ १८ का मितिमा निर्वाचन प्रकिया पुरा गर्न कठिनाई देखिएकोले पूर्व घोषित निर्वाचन प्रक्रिया अघि बढाउन नसकिने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ,' विश्वविद्यालय क्याम्पस किर्तिपुरका प्रिन्सिपल प्राध्यापक कृष्णप्रसाद आचार्यको हस्ताक्षर रहेको सूचनामा भनिएको छ।  

यसअघि सोमबार बिहानमात्रै थाहाखबरसँगको कुराकानीमा यस क्याम्पसका निर्वाचन अधिकृत प्राडा लालुप्रसाद पौडेलले विद्यार्थी संगठनहरुसँग निर्वाचनका विषयमा छलफल भैरहेको बताएका थिए। 'विद्यार्थी संगठन, विश्वविद्यालय क्याम्पसको निर्वाचन आयोग र विश्वविश्वविद्यालय क्याम्पसका पदाधिकारीबीच समाधान निकाल्नका लागि छलफल भैरहेको छ। तर कुनै सहमति निस्किएको छैन्,' उनले भनेका थिए।

निर्वाचन हुन २ दिनमात्रै बाँकी छदाँ समेत क्याम्पस प्रशासनले विद्यार्थी संगठनहरुले ताला लगाएको ताला खोल्न सकेको छैन्। अधिकांश विद्यार्थी संगठनले तोकिएको मितिमा मनोनयन दर्ता नगरेका कारण निर्वाचन कार्यतालिका हेरफेर गरी आज बिहान १० बजेर ३० मिनेट जाँदासम्म मनोनयन दर्ता गर्न सकिने व्यवस्था मिलाइएको थियो। तर थप गरिएको समयमा पनि थुप्रै क्याम्पसमा विद्यार्थी संगठनहरुले मनोनयन दर्ता गरेनन्। संभावित झडपको खतरालाई मध्यनजर गर्दै केही दिनदेखि विश्वविद्यालय क्याम्पसमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।

उपत्यका तथा देशभरका थुप्रै क्याम्पसको अवस्था उस्तै छ। स्ववियु निर्वाचनकै विषयलाई लिएर विद्यार्थी संगठनहरुबीच विभिन्‍न क्याम्पसमा झडप भएको थियो। विद्यार्थी संगठनहरुबीचको झडपमा थुप्रै घाइते भए भने स्ववियु निर्वाचनकै विषयलाई लिएर शिक्षकमाथि कालोमोसो दल्नेदेखि उमेद्‍‍वारलाई अपहरण गर्नेसम्मका कार्य भए। 

काठमाडौं बाहिरका केही क्याम्पसहरुमा निर्वाचन भैसकेको छ। केही क्याम्पसमा सर्वसम्मतिका आधारमा अध्यक्ष तथा पदाधिकारीहरु चुनिएका छन् भने केही क्याम्पसमा निर्वाचनबाटै स्ववियुको नयाँ कार्यसमिति चयन भएको छ। तर अधिकांश क्याम्पसमा निर्वाचन हुने अवस्था छैन।

काठमाडौं र काठमाडौं बाहिरका गरी  त्रिभुवन विश्वविद्यालयका आंगिक ६० क्याम्पसमध्ये २५ वटा क्याम्पसमा मात्रै चुनावी प्रक्रिया अघि बढेको छ। ती क्याम्पसहरुमा पनि चुनाव हुने निश्चित छैन। बाँकी ३५ क्याम्पसमा तालाबन्दी, झडप, विवाद लगायतका कारणले निर्वाचन नहुने निश्‍चित भैसकेको छ। यसबाहेक त्रिविबाट सम्बन्धनप्राप्त १ हजारभन्दा बढी क्याम्पसमध्ये केही क्याम्पसमा मात्रै निर्वाचन भएको छ। केही क्याम्पसमा प्रक्रिया अघि बढेको भएपनि अधिकांशमा विद्यार्थी संगठनबीचको द्वन्द्वका कारण चुनाव नहुने भएको छ। ८ वर्षपछि हुन लागेको चुनाव २ पटक मिति सार्दा पनि सफल हुन सकेन।

स्ववियु निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका संयोजक प्राडा सुधा त्रिपाठीले निर्वाचन प्रक्रिया अघि नबढेका कलेजमा १८ गतेबाट पठन-पाठन सुरु हुने बताएकी छिन्। उनले निर्वाचन प्रक्रिया अघि बढेका कलेजमा मात्रै १८ गते चुनाव हुने बताइन्। स्ववियु निर्वाचनका लागि निर्वाचन समितिले अथक प्रयास गरेपनि विद्यार्थी संगठनहरु नै निर्वाचनमा जान नमानेको उनले बताएकी छिन्। 

यो पनि पढ्नुहोस् : 

स्ववियुको कार्यतालिका फेरि अवरुद्ध : नेविसंघ बाधक बनेको आरोप 
कपिलवस्तुमा स्ववियु उम्मेदवार 'अपहरण' को १८ घण्टापछि मुक्त 
नेविसंघमाथि अनेरास्ववियुको आक्रमण: १० विद्यार्थी घाइते, २ को अवस्था गम्भीर

आगजनीपछि इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित 
पाँचथर बहुमुखी क्याम्पसमा ताला, क्याम्पस प्रमुख सहित ५ जना थुनिए 

वानेश्वर क्याम्पसमा तालाबन्दी, क्याम्पस प्रमुख थुनिए 
स्ववियु चुनाव विथोल्न प्रमुख विद्यार्थी संगठन नै अघि सरे, भएन उम्मेदवारी दर्ता 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.