|

भद्रपुर : बाढीले मेची नदीको धार परिवर्तन गर्दा कचनकवल गाउँपालिका ५ पाठामारीस्थित सीमा क्षेत्रका बासिन्दा उच्च जोखिममा परेका छन्। तीन दिनअघि परेको अविरल वर्षासँगै मेची नदीमा आएको बाढीले नेपाली भूमि कटान गर्दै बस्ती छेउबाटै पानी बग्न थालेको छ।  

बाढीले नेपाली भूमि कटान गर्दै सीमा पिलर ११२ नजिक आइपुगेको छ। सो क्षेत्र पाठामारी र भारतको ठाकुरगञ्ज बजार जोडने मुख्य नाका हो। त्यहाँ झोलुङ्गे पुल पनि निर्माणाधीन अवस्थामा छ। अहिले नदीको धार हेर्दा सीमा पिलर र झोलुङ्गे पुलको पिलरसम्म आइपुगेको स्थानीय रत्नकुमार बुढाथोकीले जानकारी दिए। 

यसपालि पाठामारी बजारदेखि उत्तरको भागमा नदीले प्रहार गरेको स्थानीय मोहम्मद नुर आलमले बताए। उनका अनुसार पाठामारी बजार नदीबाट जोगाउन सङ्घीय तथा प्रदेश सरकारले सो स्थानदेखि माथिसम्म ढुुंगाको तटबन्ध लगाएको छ। 

केही दिनअघि नदीमा आएको बाढीको पानी तटबन्धमा ठोक्किदा बीच भागबाट पूर्वतर्फ गएको र निर्माणाधीन झोलुंगे पुलभन्दा तल्लो भागमा तटबन्ध नभएकोले नदीले पुरानो ठाउँबाट झन्डै २० मिटरभित्र सम्म कटान गरेको बताए।

‘नदीको पानी बस्ती छेउबाटै बग्न थालेको छ, फेरि पनि यस्तै बाढी आए बस्ती नै बगाउने खतरा बढेको छ,’ उनले भने, ‘बस्ती जोगाउन सीमा पिलरसम्म तटबन्ध गर्नुपर्ने अवस्था आयो।’ 

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सो नाकामा बनाइएको अस्थायी सशस्त्र प्रहरी पोस्ट पनि जोखिममा रहेको सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्टका प्रहरी निरीक्षक भक्तबहादुर थापाले बताए।

पहिला गाउँपालिकाको पाठामारीसहित अधिकांश स्थान डुबानमा पर्थ्यो, गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले भने, ‘गाउँपालिकाले ठाउँ ठाउँमा तटबन्ध लगाएकोले यस वर्ष काहीँ पनि डुबान भएन। तर पाठामारीको केही भाग मेची नदीले कटानचाहिँ गर्‍यो। पाठामारीको माथिल्लो भागमा तटबन्ध लगाउँदा नदीले धार परिवर्तन गर्दै बस्ती नजिकै आइपुगेको हो।’

बस्ती जोगाउन गाउँपालिकाले चालु आर्थिक वर्षमा तटबन्ध निर्माणका लागि बजेट छुट्याइसकेको उनले बताए। सो नाकामा वर्षाको बेला डुंगा चढेर आवतजावत गर्दै आइरहेका थिए।

तर यसपालि सीमा नाका सिल भएकोले डुंगा चलेका छैनन्। नदीमा निर्माणाधीन झोलुंगे पुल बन्नेसमेत अनिश्चित देखिएको छ। करिब ४ वर्ष बित्न लाग्दासमेत ठेकेदार कम्पनी दुई वटा अधुरो पिलर खडा गरेर बेपत्ता भएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.