प्रहरीले नागरिकलाई अनावश्यक दु:ख दिने गरेको जनप्रतिनिधिको गुनासो

|

बर्दिया : केही साताअघि पूर्वपश्चिम राजमार्गमा पर्ने बर्दियाको बाँसगढीको मान खोलामा विद्यायलयका बेन्चलगायतका फलामे सामग्री लिएर एउटा ट्रक ठाकुरद्वारा आउँदै थियो। 

बर्दियाका प्रहरी प्रमुखको आदेशमा मानखोलामै १८ घण्टासम्म ट्रक रोकियो। जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारीलगायतको आग्रहमा दुई दिनपछि ट्रक ठाकुरद्वारा आयो। 

त्यस्तै लकडाउनका कारण उपचारका लागि पास लिएर स्कारपियो जिपमा काठमाडौँ पुगी उपचार गराएर फर्किएको टोली आफ्नो जिल्ला प्रवेश गर्दै थियो। एसपी आदेश भन्दै झण्डै तीन घण्टा उक्त जिप मान खोलामा बर्दिया प्रहरीले रोकिदियो। बल्लतल्ल भनसुन गरेर उनीहरु घर फर्किए। 

भुरिगाउँबाट लकडाउन अवधिमा बुवाका लागि औषधि लिन मेडिकल कलेज कोहलपुर हिँडेका एक स्थानीयलाई प्रहरीसँग साोधेर नगएकाे र फर्किने बेलामा औषधि देखाउँदा पनि एसपीको आदेश भन्दै प्रहरीले पास खोजेको थियो। ती युवाले प्रमुख जिल्ला अधिकारीसमक्ष दुःख बिसाउँदा पनि प्रहरीले नमानेर अन्तत: उनी प्रहरीलाई जरिवाना तिरेर फर्किएका थिए।

तीन साताअघि गुलरिया र बढैयातालका दुई किसानले आफ्नो खेतमा हाल्ने एक बोरा मल साइकल र मोटरसाइकलमा ल्याउँदै थिए, साइकल र मोटरसाइकल सहितको मल प्रहरीले पक्राउ गर्‍यो, तीन दिनपछि तस्कर नभई किसान हुन् भन्ने भएपछि उनीहरु फर्किन पाएका थिए।

यी त बाहिर आएका प्रहरीका ज्यादतीका केही उदाहरण मात्रै हुन्। यस्तै दुःख बर्दियाबासीले प्रहरीबाट बेला बेला पाइरहेका छन्। 

छिमेकी देश भारतसँग जोडिएको मधुवन नगरपालिका-७ नम्बर वडाबाट दुइ दिनअघि एक किसानले गुलरिया नगरपालिका-७ नम्बर वडाका किसानलाई ८५ हजार मूल्यमा दुई वटा भैँसी बेचेका थिए। भैँसी लिएर घर जाँदै गर्दा प्रहरीले पक्राउ गर्‍यो, भारतीय भैँसी भन्दै भन्सारमा बुझाइयो, भैँसी लिलाम प्रक्रियाका लागि अघि बढ्न थालेको थियो। 

भैँसी किन्ने र बेच्ने किसान प्रहरी प्रशासनको गुहार माग्दै पुगे। कसैले सुनेनन्, उनीहरु दुबै नगरपालिकाका नगरप्रमुखसमक्ष पुगे, नगरप्रमुखहरुले प्रहरीसँग वास्तविकता बताउँदा पनि किसानले भैँसी पाएनन्। त्यही गुनासो जिल्लामा भएको बैठकमा उठ्यो। 

बैठकमा चर्काचर्की

जिल्ला प्रशासन कार्यालय बर्दियामा (कोभिड१९) कोरोना भाइरस संक्रमण रोकथाम तथा सतर्कता अपनाउनेसम्बन्धी पालिका प्रमुखबीच गत आइतबार दिउँसो बसेको बैठकमा प्रहरी प्रमुख र जनप्रतिनीधिबीच यही विषयमा चर्काचर्की नै भयो।

त्यस समयमा जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रमुख केदार रजौरेले भने, ‘तस्करी रोक्न जनप्रतिनिधिको सहयोग छैन, जनप्रतिनिधिले सहयोग गर्नुहुन्न, बर्दियामा पढेलेखेका कुशल अफिसर प्रमुख भएर आउन पनि चाहँदैनन्, अनि जनप्रतिनिधिलाई विश्वास गर्ने वातावरण पनि छैन, हाम्रो गुनासो कसले सुनिदिने ? उनले तस्करी नियन्त्रण गर्न जनप्रतिनीधिले नै सहयोग नगरेको आरोप लगाए। 

गुलरिया नगरप्रमुख मुक्तिनाथ यादव र मधुवन नगरपालिकाका नगरप्रमुख गणेश बहादुर क्षत्रीले भने अनावश्यक रुपमा किसानहरुलाई दुख नदिन आग्रह गरे। आफूहरुले सहीलाई सही र गलतलाई गलत भन्दै आएको उनीहरुको भनाइ छ। 

मधुवन नगरप्रमुख क्षत्रीले भने, ‘भनेपछि अब किसानले आफुले पालेका भेडा, बाख्रा, भैँसी बेच्दा पनि प्रहरीको रोहबरमा बेच्नुपर्ने भयो हैन ? साना किसानलाई दुःख दिने, ठूला तस्करलाई तपाईंहरुको मिलोमतोमा उम्कन दिने? वास्तवमा तस्करसँ प्रहरी मिलेकाले तस्करी बढेको छ, याद राख्नुस्। अनि जनप्रतिनिधीका कारण तस्कर बढ्यो कसरी भन्नुहुन्छ। पढेलेखेका अफिसर लेभलका प्रहरी बर्दिया आउन चाहन्नन् भने तपाईं नि? उनले उल्टै एसपी रजौरेलाई प्रतिप्रश्न तेर्‍स्याए।

पहिल्यैदेखि बर्दिया आएका प्रहरी प्रमुखहरुलाई तस्करी नियन्त्रण गर्न आफूहरुले सघाउँदै आएको उनले त्यस क्रममा बताएका थिए। जिल्ला प्रशासन कार्यालयको कार्यक्रममा सहभागी पालिका प्रमुख र उपप्रमुखसहित उपस्थित अधिकांशले किसानले पाएका दुःखप्रति आपत्ति जनाएका थिए। साथै एसपी रजौरेले बैठकमा त्यस्तो आरोप लगाएर बोल्न नहुने पनि उनीहरुको भनाइ थियो। 

तर यस विषयमा प्रहरी प्रमुख रजौरेसँग आइतबारको बैठकमा भएको चर्काचर्कीबारे टेलिफोनमा बुझ्दा आफूले त्यस्तो भन्न नखोजेको प्रतिक्रिया दिएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.