|

भद्रपुर : धादिङ गजुरी केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्त वित्तीय संस्थाले उपशाखा कार्यालयबाटै कमजोरी भएको स्वीकार गरेको छ। 

संस्था उपशाखा बिर्तामोडका कर्मचारीले विभिन्न महिला सदस्यको नाममा किर्ते कागज बनाई २३ लाख ६२ हजार ६ सय ९१ रुपैयाँ हिनामिना गरेको केन्द्रीय कार्यालयले स्वीकार गरेको छ। 

'नाडेप लघुवित्तको ठगी धन्दा समूह सदस्यको हस्ताक्षर किर्ते गरी लाखौँ ऋण देखायो' भन्ने समाचार थाहाखबरमा प्रकाशन भएपछि कार्यालयका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र बहादुर कार्कीले ध्यानाकर्षण पत्रमार्फत बिर्तामोड उपशाखाका कर्मचारीले गल्ती गरेको स्वीकार गरेका हुन्। 

 


 

झापामा ६ वटा कार्यालय रहेको र उपशाखा बिर्तामोडबाट प्रमुखको जिम्मेवारीमा रहेका डम्बर बहादुर राजवंशीले संस्थाको नीति नियमविपरीत कम ब्याज असुली देखाई गैरकानुनी रुपमा एक लाख ७ हजार ७ सय ६७ रुपैयाँ हिनामिना गरेको, आन्तरिक लेखा परीक्षण कार्यमा अवरोध गरेको एवम्, आन्तरिक लेखापरीक्षकलाई समेत कुटपिट गर्ने कार्यमा समेत संलग्न भएकाले उनलाई गत २०७६ साल कात्तिक १४ गते बाट बर्खास्त गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ। 

पत्रमा भनिएको छ– संस्थाले असुलीको क्रममा सदस्यहरूसँग भेटघाट तथा छलफल गर्ने क्रममा डम्बर राजवंशीले बिर्तामोड उपशाखामा कार्यरत रहेको अवस्थामा विभिन्न महिला सदस्यहरूको नाममा किर्ते कागज बनाई २३ लाख ६२ हजार ६ सय ९१ रुपैयाँ हिनामिना गरेको देखिएको र सदस्यहरूलाई कार्यालयमा भेला गराई छलफल पश्चात् सदस्यहरूको लिखित उजुरी प्राप्त भएको आधारमा राजवंशीलाई नियन्त्रणमा लिई बैंकिङ कसुरअन्तर्गत कारबाही गर्न असोज ८ गते जिल्ला प्रहरी कार्यालय झापामा जाहेरी दरखास्त पेस गरिएको छ। 

जिल्लाको बाह्रदशी गाउँपालिका – ६ का महिलाहरूलाई संस्थाका कर्मचारीले किर्ते कागजात बनाई ऋण लिएको भन्दै असुलीका लागि ताकेता गरेपछि संस्थाले ठगी गरेको घटना बाहिर आएको थियो। 

संस्थाको केन्द्र नम्बर ९३ मा आबद्ध रहेका सदस्य र संस्थामा आबद्ध नै नभएका महिलाका नाममा संस्थाले ऋण लगानी गरेको घटना सार्वजनिक भएसँगै संस्थाविरुद्ध महिलाहरूले बिर्तामोडस्थित उपशाखा कार्यालय घेराउ गरी पाउनुपर्ने बचत रकम फिर्ताको माग राखेका छन्।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.