व्यवसायी भन्छन् : बरु कोरोना रहुन्जेल आउनै नदिऊँ

|

काठमाडौं : नेपाल घुम्‍न आउने विदेशी पर्यटकले सात दिनसम्म क्‍वारेन्टाइन बस्नुपर्ने शर्तसहित पदयात्रा र पर्वतारोहण खुला गर्ने सरकारले गरेको निर्णयमा पर्यटन व्यवसायीले आपत्ति जनाएका छन्। 

सरकारले कोरोना संक्रमणकाबीच विदेशी पर्यटकलाई नेपाल आउन विभिन्न शर्तसहित मापदण्ड तोकेपछि व्यवसायीहरुले आपत्ति जनाएका छन्। 

पर्यटन व्यवसायीहरुले विदेशी पर्यटकलाई नेपाल आउँदा अनिवार्य ७ दिन क्वारेन्टाईन बस्नुपर्ने भन्‍ने पर्यटन मन्त्रालयको मापदण्ड अव्यवहारिक भएको बताएका हुन्। 

ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टानका अध्यक्ष खुमबहादुर सुवेदीले सरकारले बनाएको मापदण्डले विदेशी पर्यटकहरूलाई नेपाल आउन समस्या हुने बताए। ​

उनले भने ‘विदेशीहरु १ देखि २ साताको समय लिएर नेपाल आउने गर्छन्। उनीहरु नेपाली जस्तो फुर्सदिला हुँदैनन्, यो कुरा बुझ्‍न जरुरी छ। हामीले उनीहरुको इच्छाअनुसार सेवा दिने हो’, उनले भने, एक साताको समय लिएर आएको होला, अनि त्यति क्वारेनटाइनमा बसायो भने कसरी सर्भिस गर्ने? अनि पर्यटक कसरी नेपाल आउलान्?’

‘एक सातासम्म क्वारेनटाइनमा राख्ने भन्नु त नर्कको सर्भिस दिनु बराबर हो’, उनले अगाडि थपे, ‘पीडा दिनु हो भन्‍ने बुझ्दा हुन्छ। यो भन्दा बरु डिसेम्बरसम्म पर्यटक नआउने वातावरण बनाऊँ।’ 

सरकारले आगामी कात्तिक १ गतेदेखि लामो समय बन्द रहेको पदयात्रा तथा पर्वतारोहण खुला गरेको छ। पर्यटन क्षेत्र खुला गरिएसँगै नेपाल आउने पर्यटकले अनिवार्य एक साता क्‍वारेन्टाइन बस्‍नुपर्ने गरि पर्यटन मन्त्रालयले मापदण्ड बनाएको छ। 

यस्तै पर्यटकका लागि सरकारले अनअराइभल भिसाको समेत सुविधा खुला गरेको छ। विदेशी पर्यटकहरुले सम्बन्धित मुलुकस्थित नेपाली दूतावासबाट पनि अनअराइभल भिसा लिएर नेपाल आउन सक्ने छन्। 

अनअराइभल भिसा भनिए पनि सरकारले घुमाउरो हिसाबले पर्यटकका लागि झन्झटिलो बनाएको टानका अध्यक्ष सुवेदीको भनाइ छ। नेपाल आउने सबै पर्यटकको बढीमा ७२ घण्टा अगाडिसम्मको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ हुनुपर्ने प्रावधान राखिएको छ। 

‘क्‍वारेन्टाइनमा बस्ने प्रतिवद्धता, पिसिआर रिपोर्ट जस्ता विषय चाहिँ स्वास्थ्य मापदण्डका बिषय हुन्। जहाज चढ्ने बेला पिसिआर रिपोर्ट देखाउनु पर्ने हो’, विभागका निर्देशक रमेश कुमार केसीले भने, ‘अध्यागमन विभागले पर्यटन मन्त्रालय र पर्यटन विभागले सिफारिस गरेको विदेशी पर्यटकलाई भिसा सहजीकरण र आगमन अनुमति दिने काम गर्छ।’ 

जहाजबाट आउन पाउने

सरकारले पर्यटन क्षेत्र खुला गर्ने निर्णय गरेपनि एउटा समूहमा कति जना पर्यटक आउन पाउने भन्‍ने संख्या निर्धारण गरेको छैन।  

तत्कालका लागि हवाई मार्ग भएर आउने पर्यटकलाई मात्रै यो अनुमति दिइएको हो। पर्यटन मन्त्रालयले बनाएको मापदण्डमा व्यवसायीले आपत्ति जनाएको बिषयमा मन्त्रालयका सूचना अधिकारी सुरेश आचार्य यो मापदण्डलाई अफ्ठ्यारो रुपमा लिन नहुने जिकिर गरे। 

‘पर्यटकहरुले समूहमा गतिविधि गर्ने हुनाले यस्तो मापदण्ड अपनाइएको हो। हो यस्तो भएको अवस्थामा धेरै पर्यटक आउँदैनन् भन्‍ने कुरा छ। अब सुरुवात गरेर हेरौँ न’, उनले भने, ‘मन्त्रिपरिषद् र सिसिएमसीले गरेको निर्णय हामीले काट्न सक्दैनौं। त्यसकारण व्यवसायीहरुको भनाइलाई मध्यनजर गरेर सहजीकरण गर्ने भनेको हौं। अहिलेका लागि ७ दिन क्‍वारेन्टाइन अनिवार्य हो।’ 

अहिलेको परिस्थितिमा विदेशी पर्यटकलाई क्‍वारेन्टाइनमा नराख्दा कोरोना संक्रमणको डर भएको छ। क्‍वारेन्टाइनमा राख्दा पर्यटक नआउलान् भन्‍ने चिन्ताले सरकारलाई पिरोलेको छ। पर्यटन नेपालको एक मुख्य आम्दानीको श्रोत हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.