|

उदयपुर : उदयपुरमा पछिल्लो समय लागुऔषध दुर्व्यसनी बढ्दो क्रममा रहेको छ। प्रहरी प्रशासनले लागुऔषध ओसारपसार र प्रयोग गर्नेमाथि कडाइ गर्न थालेपछि धमाधम पक्राउ पर्न थालेका छन्।

पक्राउ परेका अधिकांशसँग फेनारगन, डाइजिल्याब, नोफिन, लुपिजेसिक, नाइट्राजेपाम, नाइट्रोसन, कोरेक्स, नाइट्राभेट, स्पास्मो पेरिमोन, डाईजोपाम, गाँजालगायत बरामद हुँदै आएको छ। 

प्रहरीले आर्थिक वर्ष २०७६/७७ मा ६१ जनालाई लागूऔषधिसहित पक्राउ गरेको थियो। लकडाउन अवधिमा ४४ जनालाई पक्राउ गरी २२ जनामाथि लागूऔषध मुद्दा चलाइएको प्रहरीले बताएको छ। यस्तै, केही दिनअघि मात्रै प्रहरीले आठजना युवासहित ठूलो मात्रामा लागूऔषध नियन्त्रण गरेको थियो। पक्राउ पर्नेमा अधिकांश युवा तथा किशोर रहेका छन्।

प्रहरीले जिल्लामा ‘स्पेपसल युनिट’ गठन गरेर सक्रियता बढाएको र ठूलो मात्रामा लागूऔषधसहित ओसारपसार, तथा प्रयोग गर्ने व्यक्तिलाई पक्राउ सफल भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भीमबहादुर दाहालले बताए। ‘प्रहरीले मात्र लागूऔषध नियन्त्रण गर्न सक्दैन,’ उनले भने, ‘प्रहरीसँगै विद्यालय, कलेज, स्थानीय सरकार, समाज, लागूऔषधसम्बन्धी काम गर्ने सरोकारवाला निकाय र अविभावक लागि पर्नुपर्छ। अनि मात्र यसलाई नियन्त्रण गर्न सकिन्छ।’

नेपालमा प्रतिबन्धित लागूऔषध सीमावर्ती भारतका बजारहरूमा खुलमखुला रूपमा खरिद बिक्री हुनु र खुला सीमाका कारण यसको कारोबारमा नियन्त्रण गर्न कठिनाइ भएको प्रहरीले बताएको छ। विद्यालय, कलेज खुलेपछि अवैध लागूऔषध न्यूनीकरण, सेवनबाट हुने र यसको कारोबार नियन्त्रणका लागि उदयपुरका विद्यालयहरुमा पुगेर विद्यार्थीहरलाई कक्षा सञ्चालन गरी जनचेतना अभियान चलाउने तयारीमा रहेको एसपी दाहालले बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.